संसद प्रवेश गर्यो इनिशा विक मृत्यु प्रकरण
ओम शाही
सुर्खेत, ६ चैत ।
गएको २३ फागुनमा वीरेन्द्रनगर नगरपालिका–१, की १६ वर्षीया इनिशा विकको रहस्मय तवरबाट मृत्य भएको विषय संसदमा प्रवेश गरेको छ । घरबाट विद्यालय जान्छु भन्दै निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट इनिशाको बलात्कारपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको थियो । घटनास्थलबाट प्रहरीले १६ वर्षीय एक किशोरलाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले यस प्रकरणमा अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
घटनाका मुख्य अभियूक्त प्रक्राउ परिसकेको अवस्थामा पनि प्रहरीले अनुसन्धानको वास्तविक तथ्य बाहिर ल्याउन सकेको छैन ।
बिहिबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रणसिं परियारले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाए । घटना घटेको १३ दिनसम्म पनि वास्तविक तथ्य बाहिर नआएको भन्दै सांसद परियारले बलत्कारपछि हत्या भएको घटनामा निष्पक्ष छानविन हुनुपर्ने माग गरे ।
उनले विद्यालय हिँडेकी बालिकाको बलत्कारपछि विभत्स हत्या भएको लामो समयसम्म पनि वास्तविक तथ्य बाहिर आउन नसकेकोमा असन्तुष्टि जनाए । उनले भने, ‘अन्तराष्ट्रिय नारी दिवशको अघिल्लो दिन प्रदेशको मुकाम वीरेन्द्रनगर जहाँ सुरक्षा र न्यायको व्यवस्था बलियो छ, न्याय र सुरक्षा खोज्न टाढा जानु पर्दैन ।
त्यही पालिकाकोे मुटुमा एउटा होनाहार १६ वर्षीया दलित बालिकाको बलत्कारपछि विभत्स हत्या हुन्छ । घटना घटेको १३ दिन हुँदासम्म पनि अनुसन्धानलाई पूर्णता दिन किन सकिएको छैन ? के कुराले अड्काएको छ ?, बलत्कारपछि विभत्स हत्या भएको घटनामा न्याय नहराओस् ।’ उनले दलित र दलित महिलामाथि यस प्रकारका घटनाहरु थुप्रै घटेको उल्लेख गर्दै मानव भएर बाच्न पाउने अधिकारको प्रत्याभुति गर्न राज्य गम्भीर बन्नुपर्ने माग गरे ।
उनलेभ भने, ‘इनिशा हत्या प्रकरणमा न्याय निरुपणमा ढिलाई नगरियोस, छिटो र पादर्शीरुपमा अनुसन्धान होस् । पहुँचको भरमा अनुसन्धानलाई प्रभावित नगरियोस्, पीडित परिवारले न्यायको अनुभुति गर्न पाउन् ।’ घटनालाई विषयान्तर गर्न खोजे संसदबाट कडा प्रतिवाद गर्ने उनले बताए । यस्तै, नेकपाकै सांसद उर्मिला विश्वकर्माले घटनाका दोषिलाई कानुनको कठघरामा उभ्याउन राज्यका निकाय गम्भीर बन्नुपर्ने माग गरिन ।
उनले समाजमा छोरीहरुले सुरक्षित र सम्मानजनक रुपमा बाच्न पाउने अधिकारको प्रत्याभुति गर्न नियामक निकायको ध्यानाकषर्ण गराइन । त्यस्तै, नेकपाकै सांसद कृष्णबहादुर जिसीले परिवारले न्यायको अनुभुति गर्नेगरी छिटोभन्दा छिटो अनुसन्धान टुङ्गोमा पुर्याउनुपर्ने माग गरे । त्यो दिन स्कुल जान भनेर हिडेकी छोरीलाई कुरेकी आमा तिला अब क्रुर ढंगले मारिएकी छोरीका लागि न्याय कुरिरहेकी छन् ।
पीडित परिवारले घटनाको अनुसन्धान निर्मला पन्तको जस्तो अधुरो रहने आशंका व्यक्त गरिरहेका छन् । पीडित बालिकाका आफन्तहरूले चारै जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै इनिशाको शव बुझ्न मानिरहेका छैनन् । उनको शव १३ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ ।
परिवालाई दवाव नदिएको मुख्यमन्त्रीको प्रष्टोक्ति
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा विकको मृत्यु प्रकरणमा परिवारलाई दवाव दिएको भन्दै सामाजिक सञ्जालमा केही युटुबरले फैलाएको भ्रमका विषयमा संसदबाट आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
बिहिबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको पाँचौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकार प्रमुखका हैसियतले परिवारलाई सान्त्वना र न्यायको अनुभुति दिलाउन गएको विषयलाई केही व्यक्तिले विषयान्तर गरेर भ्रम फैलाउन खोजेको बताए ।
उनले भने, ‘कही दिनअघि दुखद् घटन घट्यो । इनिशाको मृत्युप्रति दुख व्यक्त गर्दै आफ्नो कर्तव्य सम्झेर पीडित परिवारलाई भेट्न गएको थिएँ, मलाई लाग्छ उक्त घटनमा संलग्नहरुलाई तथ्य प्रमाणका आधारबाट कानुनी कारवाही हुन्छ नै । यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक पहलकदमी र सहजिकरण गर्ने विषय मैले मृतकको आमासँग व्यक्त गरेको अवस्था थियो । तर त्यसलाई कतिपय सार्वजनिक माध्यममा परिवारलाई दवाव दियो भन्दै भ्रम सिर्जना गरियो ।’
इनिशाको रहस्मय तवरबाट मृत्यु भएको घटनामा मुख्यमन्त्री कँडेल परिवारलाई भेट्न गएका थिए । तर, मुख्यमन्त्री कँडेलले परिवारका सदस्यलाई शव उठाउन दवाव दिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विवाद सिर्जना गराएका थिए । केही युटबरलाई लक्षित गर्दै उनले आफै फैसला र आफै अनुसन्धान गर्ने मनोवज्ञिानले समाजमा पर्ने असरका बारेमा सोच्न आग्रह गरे ।
भ्रम फैलाइएका विषय परिवारका सामु भन्नुपर्ने विषय नभएको उल्लेख गर्दै एउटा सरकार प्रमुखको चासोलाई मिथ्या सूचनाको रुपमा फैलाइने गतल सन्देशले समाजलाई विभाजनको बाटोमा लैजाने उनले बताए । घटनाका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले समेत अनुसन्धान जारी राखेकाले इनिशालाई न्याय दिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको समेत उनले बताए ।





