यसवर्ष एसईईमा कर्णालीबाट ३८ हजार बढी विद्यार्थी सहभागी हुदै
गाेल्डेन बुढा
जुम्ला,६ चैत ।
कर्णाली प्रदेशका दश जिल्लाका १ सय ६१ परीक्षा केन्द्रबाट यही चैत १९ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कुल ३८ हजार ३ सय ७९ विद्यार्थी सहभागी हुने भएका छन्।नियमिततर्फ ३२ हजार २ सय ५५ र ग्रेड वृद्धितर्फ ६ हजार १ सय २४ गरी कुल जम्मा ३८ हजार ३ सय ७९ विद्यार्थीहरु परीक्षामा सहभागी हुन थालेका छन्। गतवर्षको तुलनामा ४ सय ६१ जना बढेका छन्।शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिनुहुँदै भने, “परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका ९ हजार ७ सय ७९ संलग्न हुनेछन्। सबैभन्दा कम डोल्पाबाट ६ सय ७४ विद्यार्थी सहभागी हुनेछन्, जहाँ परीक्षा केन्द्र मात्र चार छन्।”उनका अनुसार दैलेखबाट ६ हजार २ सय ५३, जाजरकोटबाट चार हजार ८ सय १३, सल्यानबाट चार हजार १ सय ४२, रुकुमपश्चिमबाट तीन हजार ९ सय २२ र कालीकोटबाट तीन हजार ७ सय १७ विद्यार्थी परीक्षा दिनेछन्।
जुम्लाबाट दुई हजार २ सय ५५, मुगुबाट एक हजार ५ सय २४ र हुम्लाबाट एक हजार ३ सय विद्यार्थी परीक्षामा भाग लिनेछन्।परीक्षा केन्द्रहरूको विवरण अनुसार सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेका छन्।गतवर्ष कर्णाली प्रदेशबाट ३७ हजार ९ सय ११ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। जसमा नियमिततर्फ ३१ हजार ८ सय ४ जना, ग्रेड वृद्धितर्फ ६ हजार १ सय ७ र प्राविधिकतर्फ १ हजार ३ सय ४२ विद्यार्थी सहभागी थिए।अघिल्लो वर्ष कर्णालीबाट ३५ हजार ८ सय ८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। अघिल्लो वर्षको तुलनामा ३ हजार १ सय ६२ जना घटेका थिए।उक्त २०७९ सालमा ३८ हजार ९ सय ७० जना विद्यार्थीले एसईई दिएका थिए।





