जुम्लामा नेकपाको भरोसा नरेश भण्डारीमा

गाेल्डेन बुढा
जुम्ला,३ माघ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जुम्लाका नरेश भण्डारीलाई उम्मेदवार तोकिएका छन्।शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्ज समेत रहेका भण्डारीलाई टिकट दिएका हुन्।भण्डारीले सामाजिक सञ्जालमा आफुलाई पार्टीले उम्मेदवार चयन गरेको जनाएका छन्।
सुरुमा सुर्खेत र काठमाडौंमा उपलब्ध प्रदेश र केन्द्रीय समिति सदस्यहरुको बैठकले पाँच जनाको नाम सिफारिस गरेको थियो । तर नेकपा केन्द्रीय सर्कुलर अनुसार बनेको कार्यदलले भण्डारीलाई जुम्लाबाट एकल सिफारिस गरेको थियो । ‘आगामी निर्वाचनका लागि पार्टीले मलाई उम्मेदवारका रुपमा चयन गरेको छ,’ भण्डारीले भने ।भण्डारी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ मा जुम्ला १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए। त्यसपछि कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका भण्डारी नीति निर्माण र प्रशासनिक सुधारका काममा सक्रिय देखिएका थिए।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाको परिकल्पना र स्थापना प्रक्रियामा उनको महत्वपूर्ण भूमिका छ।जुम्लामा लामो समयदेखि प्रतिनिधिसभामा प्रभावकारी प्रतिनिधित्वको अपेक्षा गरिँदै आएको सन्दर्भमा भण्डारीको सिफारिसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।






