गिडिखोला जलविद्युत बन्यो: गाउँको आम्दानी स्रोत

गाेल्डेन बुढा 

जुम्ला ,१ चैत।
जुम्लाको तातोपानी गाउँपालिका–४ नियापानेका भद्रवीर सार्कीका लागि अहिले गाउँको रात अचम्मको अनुभव बनेको छ। वर्षौँसम्म सल्लाको दियालोको धुमिल उज्यालोमा जीवन बिताएका उनले अहिले चौबिसै घण्टा बलिरहेको बिजुली देख्दा अझै पनि छक्क पर्छन्।“पहिले हुनेखानेले सोलार किनेर बत्ती बाल्थे। कसैले मैनबत्ती, कसैले लालटिन बाल्थे,” उनले विगत सम्झँदै भने, “हामीजस्ता आर्थिक अवस्था कमजोर भएका मानिसले भने सल्लाको दियालोमै गुजारा चलायौं।”दियालोको धुवाँले भरिने घर, कालो भित्ताहरू र अँध्यारोमा हराउने गाउँ अहिले झलमल्ल देखिन्छ। रात पर्दासाथ सुनसान हुने बस्तीमा अहिले बिजुलीको उज्यालोले जीवनको लय बदलिएको छ।तातोपानी–४ कै कमला नेपाली भन्छिन्, बिजुलीले गाउँको उज्यालो मात्रै बढाएको छैन, स्वास्थ्य र सरसफाइमा समेत परिवर्तन ल्याएको छ।“सल्लाको दियालोले घरभरि धुवाँ हुन्थ्यो। भित्ताहरू कालो हुन्थे, स्वास्थ्यमा पनि असर पर्थ्यो,” उनले भनिन्, “अहिले बिजुली आएपछि उज्यालो मात्र होइन, घरभित्रको वातावरण नै बदलिएको छ।”गाउँमा इन्टरनेट सेवा समेत पुगेपछि प्रविधिसँगको दूरी पनि घटेको छ। कमलाका अनुसार अहिले गाउँका धेरै परिवारले इन्टरनेट प्रयोग गर्न थालेका छन्। “आफन्तहरूसँग भिडियोमा कुरा गरेर सुखदुःख साट्ने अवस्था आएको छ,” उनले भनिन्।भद्रवीर र कमलाजस्तै झण्डै तीन हजार घरधुरी अहिले गिडिखोला जलविद्युत आयोजनाको बिजुलीले उज्यालिएका छन्। अँध्यारोमा रात बिताउन बाध्य बस्तीहरूमा अहिले चौबिसै घण्टा विद्युत सेवा उपलब्ध छ।२ सय १४ किलोवाट क्षमताको गिडिखोला जलविद्युत आयोजना तातोपानी गाउँपालिकाका आठ वडामध्ये छ वडामा विस्तार भएको छ। जुम्लाको एक मात्र नगरपालिकाका रूपमा रहेको चन्दननाथ नगरपालिकाका तीन वडासम्म पनि यसको सेवा पुगेको छ।जालपादेवी विद्युत सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार गाउँमा बिजुली पुगेपछि उज्यालो मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि प्रभाव देखिन थालेको छ।“गाउँ झिलिमिली भएको मात्रै होइन, उत्पादन भएको बिजुली बजारमा पनि बेचिरहेका छौं,” उनले भने।झण्डै १० करोड रुपैयाँ लागतमा निर्माण भएको यो आयोजना २०६१ सालदेखि सुरु भएको थियो।

लामो समयको प्रयासपछि २०७४ सालदेखि विद्युत उत्पादन सुरु गरेर गाउँबस्तीमा वितरण गरिएको हो।अध्यक्ष पाण्डेका अनुसार प्रारम्भिक लागत अनुमान १६ करोड रुपैयाँ थियो। पछि १२ करोडमा टेन्डर आह्वान गरिएपछि १० करोड रुपैयाँमै आयोजना निर्माण सम्पन्न भएको थियो।आयोजनामा स्थानीय समुदायको पनि उल्लेख्य लगानी छ। करिब १ करोड ५० लाख रुपैयाँ स्थानीयले लगानी गरेका छन् भने १ करोड ६३ लाख रुपैयाँ बैंक ऋणमार्फत जुटाइएको छ। वैकल्पिक ऊर्जा कार्यक्रममार्फत एशियाली विकास बैंक (एडिबी) ले ५ करोड ७० लाख रुपैयाँ अनुदान दिने भनिए पनि अन्ततः ४ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो।गिडिखोलाको पानीलाई करिब ३७ सय मिटर टाढासम्म नहरमार्फत ल्याएर उत्पादन गरिएको विद्युत अहिले तातोपानी गाउँपालिकाका जर्मी लाछु, डाँगीबाडा, बाबिरा, रावतबाडा, खड्कबाडा, धौलापानी, हियाँखोला, गौतमबाडा, जैतपुर, हाँकु, नियापानी, गिडिखोला, पत्थेनी, ऐरेनी र लाम्रालगायतका गाउँमा चौबिसै घण्टा वितरण भइरहेको छ।चन्दननाथ नगरपालिका–८, ९ र १० का बोहोरागाउँबाहेक अधिकांश बस्तीमा यही आयोजनाको विद्युत पुगेको छ।बिजुली आएपछि गाउँमा साना उद्योगधन्दा पनि विस्तार हुन थालेका छन्। “फर्निचर उद्योगदेखि कुटानी–पिसानी मिलसम्म सञ्चालन भएका छन्। बालबालिकालाई पढ्न पनि सहज भएको छ,” अध्यक्ष पाण्डेले भने।विपन्न परिवारलाई लक्षित गर्दै विद्युत लाइन निःशुल्क जडान गरिएको छ भने उपभोक्ताका लागि न्यूनतम मासिक महशुल १ सय रुपैयाँ तोकिएको छ।हाल आयोजनाबाट हिउँदमा मासिक करिब २ लाख २० हजार रुपैयाँ र बर्खायाममा करिब १ लाख २५ हजार रुपैयाँसम्म आम्दानी भइरहेको सहकारीले जनाएको छ।३७ सय मिटर टाढाबाट नहरमार्फत ल्याइएको गिडिखोलाको पानीबाट उत्पादन हुने बिजुली अहिले अँध्यारोमा बाँचेका गाउँका लागि केवल उज्यालो मात्र होइन, सम्भावनाको नयाँ ढोका पनि बनेको छ।

गिडिखोला जलविद्युत बन्यो: गाउँको आम्दानी स्रोत

गिडिखोला जलविद्युत बन्यो: गाउँको आम्दानी स्रोत

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds