हल्लाकापछि नलागौं, इन्धन आपुर्ति रोकिएको छैन: आवश्यकताभन्दा बढी सिलिण्डर होल्ड हुँदा खाना पकाउने ग्याँसको अभाव 

ओम शाही

सुर्खेत, १ चैत।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, का टिकाराम सारु शनिबार खाना पकाउने ग्याँस लिन नजिकको विक्रेता कहाँ गए । खाना पकाउँदा पकाउँदै ग्याँस सकिएपछि सिलिण्डर साट्न उनी पसलमा पुगेका थिए । तर उनले सिलिण्डर साट्न पाएनन् । नियिमित सिलिण्डर साटिने पसलबाट ग्याँस नपाएपछि उनी भेरी ग्याँसको डिलरमा पुगे र दिनभर लाईन लागेर बेलुका मात्रै ग्याँस ल्याएर घर फर्केको उनले बताए ।

उनी मात्रै होनन्, केही दिनयता वीरेन्द्रनगरमा आधिकारिक ग्याँस विक्रेता डिलरमा उपभोक्ताको बाक्लो भीड लागिरहेको छ । कारण हो, मध्यपूर्वी देशमा चर्किएको युद्ध । अमेरिका र इजरायलले सुरु गरेको इरानविरुद्धको युद्धको चर्को मूल्य अमेरिका र इजरायलसँगै सिंगो पश्चिम एसिया र विश्वले चुकाउनु परिरहेको छ । आपूर्ति शृंखलामा अवरोध उत्पन्न भएसँगै नेपालमा यतिबेला आधा सिलिन्डर ग्याँस बिक्री सुरु भएको छ ।

विश्वको २० प्रतिशत इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले निरन्तर निसाना बनाइरहँदा तेलको आपूर्ति शंखृला बिग्रिएको छ । तर नेपालमा तत्काल इन्धन आपूर्तिमा भने समस्या आइसकेको छैन । सरकारले युद्धकै कारण तेल आपूर्तिमा समस्या हुनसक्ने भन्दै वितरणमा नयाँ प्रणाली लागु गरेको थियो ।

जसका कारण वीरेन्द्रनगरमा इन्धन अभाव हुने भन्दै आवश्यकताभन्दा बढी ग्याँस सिलिण्डर भण्डार गर्ने उपभोक्ताका कारण कृतिम अभाव सिर्जना भएको हो । वीरेन्द्रनगरमा दैनिक एक हजार दुई सयको पेरीफेरीमा खाना पकाउने ग्याँस खपत हुँदै आएको छ । तर नेपाल आयल निगमले आधा सिलिण्डर ग्याँस दिन सुरु गरेपछि शुक्रबार मात्रै दुई हजार ६७ वटा सिलिण्डर उपभोक्ताले लिएका छन् ।

स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित संख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ । नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दिपक घिमिरेले बजारमा खाना पकाउने ग्याँसको अभाव भन्दै फैलाइएको हल्ला निराधार रहेको बताउँछ ।

नेपालमा पेट्रोलियमजन्य इन्धन आपूर्ति गर्दै आएको इन्डियन आयल कर्पोरेशनले हालसम्म सहज आपूर्ति गरिरहेकाले हल्लाका पछि नलाग्न उनले अनुरोध गरे । उनका अनुसार कर्णालीमा मनकामना, राप्ती, भेरी, रेडियन्ट र नेपाल ग्याँस कर्णालीले नियमित खाना पकाउने ग्याँस आपूर्ति गर्दै आएका छन् । भेरी ग्याँसका उपभोक्ता अन्य कम्पनीको तुलनामा बढी छन् ।

इन्धन अभाव हुने हल्लाका बीच उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर होल्ड गरेपछि विपन्न र विद्यार्थीहरु समस्यामा परेको उनको भनाई छ । ‘इरान युद्धका कारण इन्धन आपूर्तिमा समस्या आउन सक्ने थाहा पाएपछि सम्पन्न व्यक्ति तथा व्यवसायिक घरना (होटल) ले एकभन्दा बढी सिलिण्डर खरिद गरेकाले अभाव देखिएको छ । यसको मारमा विपन्न र विद्यार्थी परेका छन्,’ उनले भने ।

आइतबारदेखि वीरेन्द्रनगरमा आधा सिलिण्डर ग्याँस दिन सुरु गरिने भएकाले यो समस्या समाधान हुने उनले बताए । उनले केही गरी खाना पकाउने ग्याँसको अभाव भइहाले विद्युतिय चुल्हो प्रयोगमा जोड दिनुपर्ने बताए । उनी भन्छन्, ‘एलपि ग्याँसको आयात र विक्री वितरणको अवस्था नियमित भईरहेको र आगामी दिनमा पनि निरन्तर हुँदै जानेछ । तर मध्यपूर्वको तनावले विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत नहुने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्र इन्धन तथा ग्याँस खरिद गरौं । अनावश्यक भण्डारण (नगरौं । ग्याँसको सट्टा विजुलीको खपत बढाऔं ।’

त्यस्तै, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले नियमित रुपमै आयात भइरहेकाले इन्धनको अभाव नरहेको बताउँछन । उनले भने, ‘भारतमा आयात सन्तुलन बिग्रेको खण्डमा समस्या हुने हो । इन्धन अभाव हुने हल्लाका बीच ग्राहकले बढी ग्याँस भण्डार गर्न खोजेकाले अभाव देखिएको हुनसक्छ । अमेरिकाले रुसबाट एक महिनाका लागि इन्धन खरिद गर्न अनुमती दिएकाले भारतमा तत्काल आयातको चक्र बिग्रने नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन ।’

कारवाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्याँस तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारवाही गर्ने चेतावनी दिएको छ । मध्यपूर्वी देश इरान र इजराय युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिण्डर विक्रि गर्न सुरु गरेको थियो । ब्यापारीहरुले यही मौकाको फाइदा उठाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ग्याँसको कालोबजारी गर्न खोजेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो ।

‘यस जिल्लाका विभिन्न उपभोक्ताहरुद्वारा बजारमा खाना पकाउने ग्याँस (एलपि ग्याँस) तथा इन्धनको सहज प्राप्तिमा कठिनाई भएको भन्ने गुनासो आएकोले कोही कसैले पनि अनावश्यक रुपमा इन्धन तथा ग्याँस सिलिण्डर होल्डिङ्ग नगरी ग्याँस तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ शुक्रबार सूचना जारी गर्दै प्रशासनले भनेको छ ।

साथै, अनावश्यक रुपमा ग्याँस सिलिण्डर होल्डिङ्ग गरेको पाइएमा, बढि मूल्य लिई ग्याँस तथा पेट्रोलियम पदार्थ विक्रि गरेमा र नयाँ सिलिन्डरको बजारिकरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

हल्लाकापछि नलागौं, इन्धन आपुर्ति रोकिएको छैन:  आवश्यकताभन्दा बढी सिलिण्डर होल्ड  हुँदा खाना पकाउने ग्याँसको अभाव 

क्यान्सर उपचारमा अनुभव आदान–प्रदान 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds