जनताको पक्षमा दृढ भएर उभिनु आवश्यक: मुख्यमन्त्री आचार्य
बुटवल ,३० फाल्गुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्ता पंक्तिमा आग्रह गर्नुभएको छ । नेकपा एमाले अर्घाखाँची-रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहाँले संगठनलाई सक्रिय रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभएको हाे ।
मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे गहिरो समीक्षा र मूल्यांकन आवश्यक रहेको उल्लेख गर्दै सूक्ष्म रूपमा विश्लेषण गरी आगामी दिनका लागि ठोस योजना बनाउनुपर्ने बताउनु भयाे ।`यो परिस्थिति यसै आएको होइन । हामी सबैले यसलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ,´उहाँले भन्नुभयो-`भदौ २३ र २४ मा भएका आन्दोलन स्वस्फूर्त रूपमा भएका थिएनन् । त्यसबारे स्पष्ट रूपमा बुझ्न आवश्यक छ ।`
उहाँले राजनीतिक रूपमा कार्यकर्तालाई प्रशिक्षित र संगठित गर्ने कामलाई निरन्तर गरिरहनुपर्ने, संगठनलाई अझ सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । साथै विकास र समृद्धिको आकांक्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले महत्वपूर्ण काम गरेको उहाँको भनाइ थियो ।
`विकास निर्माणका धेरै काम एमाले नेतृत्वकै सरकारले गरेको छ । घरघरमा सडक र यातायातको पहुँच विस्तार गर्ने काम पनि एमालेकै नेतृत्वमा भएको हो । यो यथार्थलाई कसैले नकार्न सक्दैन,´उहाँले भन्नुभयो-`यदि एमालेले काम नगर्ने हो भने अर्घाखाँचीको विकास सम्भव हुन्छ ? हिजो कसैले गरेको थियो र ? अब अरू शक्तिले गर्न सक्छन् र ?´
मुख्यमन्त्री आचार्यले सिंचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयाे ।
सम्पर्क मञ्चका अध्यक्ष डबल बिसीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाललगायतको सहभागिता रहेको थियो ।





