सिंजाको सांस्कृतिक धरोहर जोगाउन कनकासुन्दरीमा ‘कसंम कला घर’काे शिलान्यास

गोल्डेन बुढा 

जुम्ला ,३० फाल्गुन ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कर्णालीको मौलिक कला, संस्कृति र खस सभ्यताको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘कसंम कला घर’ निर्माणको अभियान औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिका–५ गोठीजिउलामा शुक्रबार आयोजित कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री टेकराज पछाईले शिलान्यास गरेसँगै कर्णालीको सांस्कृतिक पहिचानलाई संस्थागत रूपमा जोगाउने प्रयासले ठोस आकार लिन थालेको हो।स्थानीय कला र सांस्कृतिक गतिविधिका लागि दीर्घकालीन संरचना निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनामा करिब ७० लाख रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

कनकासुन्दरीमा निर्माण थालिएको कसंम कला घरलाई पूर्णता दिन स्थानीय समुदाय, जनप्रतिनिधि र कलाकारहरू सामूहिक रूपमा जुटेका छन्।कला घर निर्माण सम्पन्न भएपछि यहाँ स्थानीय युवाहरूले गाउने, नाच्ने, दमाहा बजाउने तथा विभिन्न सांगीतिक र रंगकला सम्बन्धी अभ्यास गर्ने अवसर पाउनेछन्। यससँगै कनकासुन्दरी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने योजना समेत बनाइएको छ। यसले कर्णालीको मौलिक सांस्कृतिक धरोहरलाई केवल संरक्षण मात्र होइन, सार्वजनिक प्रदर्शन र अध्ययनको माध्यमबाट जीवित राख्ने अपेक्षा गरिएको छ।शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पछाईले कसंम कला घरलाई पूर्णता दिन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार विभिन्न तहबाट आर्थिक सहयोग जुट्दै गए पनि अझै स्रोत अपुग भएकाले सबै पक्षको सहकार्य आवश्यक छ। “यो केवल एउटा भवन निर्माणको काम मात्र होइन, कर्णालीको सांस्कृतिक अस्तित्व जोगाउने अभियान हो,” उनले भने।कला घर निर्माणका लागि सामाजिक विकास कार्यालयले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ,भने कनकासुन्दरी गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको छ। बाँकी रकम जुटाउन स्थानीय युवाहरूले सहयोग संकलन अभियान सुरु गरेका छन्। सीमित स्रोतसाधनका बीच स्थानीय समुदायको सामूहिक पहलले यो परियोजनालाई अघि बढाइरहेको छ।खस भाषा, साहित्य, सभ्यता र संस्कृतिको जगेर्ना गर्ने दीर्घकालीन लक्ष्यका साथ सुरु गरिएको कसंम कला घर बजेट अभावका कारण अलपत्र नपरोस् भन्ने चिन्तासहित कनकासुन्दरीका जनप्रतिनिधिदेखि स्थानीय युवासम्म सक्रिय रूपमा लागिपरेका छन्। यसै क्रममा कनकासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बढुवालले आफ्नो एक महिनाको तलब कला घर निर्माणका लागि सहयोग गर्ने घोषणा गरेकी छन्। त्यस्तै गाउँपालिका–१ का अध्यक्ष भीमबहादुर भण्डारीले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।कला घर निर्माणका लागि आवश्यक ६ सय वर्गमिटर क्षेत्रफलको जग्गा स्थानीय जग्गाधनीहरूले कुनै आर्थिक लाभ नलिई निःशुल्क उपलब्ध गराएका हुन्। निर्माण सम्पन्न भएपछि यहाँ करिब ३ सय दर्शक अट्ने क्षमताको रंगमञ्च निर्माण हुनेछ। साथै कलाकारहरूको अभ्यासका लागि छुट्टै अभ्यास कक्ष, सांस्कृतिक सामग्रीको अभिलेख राख्ने कक्ष र सांस्कृतिक संवादका लागि विशेष संरचना निर्माण गरिने योजना छ।कसंमका संस्थापक तथा सचिव दीपेन्द्र उपाध्यायका अनुसार कला घर निर्माणको योजना पहिलेदेखि नै रहेको भए पनि जग्गा व्यवस्थापनमा समस्या उत्पन्न हुँदा निर्माण कार्य सुरु हुन सकेको थिएन।

“यो कुनै एउटा संस्थाको मात्र भवन होइन, कर्णालीको साझा सांस्कृतिक घर हो। त्यसैले सबैले साथ दिनुपर्छ भन्ने आग्रह गरेका छौं,” उनले भने।स्थानीय बासिन्दाका अनुसार कला घर निर्माण भएपछि गाउँ समाजमा लुकेर रहेका प्रतिभा उजागर हुनेछन्। नयाँ पुस्ताले आफ्नो मौलिक सांस्कृतिक कला सिक्ने अवसर पाउनेछन् भने गाउँमा सांस्कृतिक गतिविधि पनि थप सक्रिय हुने अपेक्षा गरिएको छ। यसले कनकासुन्दरी गाउँपालिकामा पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।कर्णाली संस्कृति संरक्षण मञ्च (कसंम)को नेतृत्वमा सुरु भएको यो अभियानलाई कलाकारहरूले आफ्नो सभ्यता जोगाउने सांस्कृतिक प्रतिरोधको रूपमा व्याख्या गरेका छन्। प्राचीन सिंजा उपत्यका कुनै समय खस राज्यको राजधानी रहिसकेको ऐतिहासिक पृष्ठभूमिमा, यहाँको सांस्कृतिक परम्परा लामो समयदेखि मौखिक अभ्यास र स्थानीय पहलमै टिकेको थियो।सीमित स्रोत, कमजोर संरचना र आर्थिक अभावका बाबजुद कसंमसँग आबद्ध कलाकारहरूले सडक नाटक, स्टेज नाटक र कचहरी नाटकमार्फत विभिन्न सामाजिक मुद्दा उठाउँदै आएका छन्। अहिले कलाघरमा १८ जना कलाकार सक्रिय छन्, जसले कर्णालीका ३६ स्थानमा पुगेर मतदाता शिक्षासम्बन्धी नाटक प्रस्तुत गरिसकेका छन्।

कसंमले २०६७ सालमा काठमाडौंमा ‘सुइना कर्णालीका’ नाटक मञ्चन गर्दै पहिलोपटक राजधानीमा कर्णालीको कथा सुनाएको थियो। त्यसपछि २०७६ सालमा सुर्खेतमा ‘फड्को’ र २०७८ सालमा ‘कुटिरो’ नाटक मञ्चन गर्दै श्रम, पलायन र अस्तित्वका ज्वलन्त प्रश्नलाई रंगमञ्चमार्फत उठाइएको थियो।कर्णालीका कलाकारहरूको यही निरन्तर अभ्यास, प्रतिबद्धता र सांस्कृतिक आत्मविश्वासले आज राष्ट्रिय स्तरका रंगकर्मीको ध्यान समेत तान्न थालेको छ। कसंम कला घर निर्माणको पहललाई उनीहरूले केवल संरचना निर्माणको परियोजना होइन, कर्णालीको सांस्कृतिक पहिचान जोगाउने दीर्घकालीन आधारको रूपमा हेरेका छन्।

सिंजाको सांस्कृतिक धरोहर जोगाउन कनकासुन्दरीमा ‘कसंम कला घर’काे शिलान्यास

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

सिंजाको सांस्कृतिक धरोहर जोगाउन कनकासुन्दरीमा ‘कसंम कला घर’काे शिलान्यास

ग्यास अभावले जुम्लामा पहिलोपटक लाइन, ट्रकबाटै वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds