कर्णाली नदीमा सत्तीघाट पुल निर्माण अन्तिम चरणमा, ८६ प्रतिशत काम सम्पन्न

बर्दिया,२९ फाल्गुन ।

बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ। निर्माण पक्षका अनुसार हालसम्म पुल निर्माणको करिब ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ, जसले निर्धारित समयभित्रै परियोजना सम्पन्न हुने आशा जगाएको छ।
२०७९ पुस १७ गते सम्झौता भई सुरु गरिएको उक्त पुल निर्माण कार्य २०८३ असोज १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल ७५२ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल निर्माणका लागि एक अर्ब १८ करोड चार लाख ८२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।
निर्माण कार्य अन्तर्गत पुलका लागि आवश्यक १३ वटा पिल्लर निर्माण सम्पन्न भइसकेका छन्। त्यस्तै, पुलमा निर्माण गरिनुपर्ने ११ वटा स्ल्याबमध्ये नौ वटाको काम सकिएको छ भने बाँकी दुई स्ल्याब र अन्य संरचनागत काम तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।
पुल सेक्टर कार्यालय बाँकेकी योजना प्रमुख साविना रानाभाटका अनुसार निर्माण कार्य सन्तोषजनक गतिमा अघि बढिरहेको छ। “बजेट अभाव नआएमा सम्झौताअनुसार तोकिएकै समयभित्र पुल निर्माण सम्पन्न हुने विश्वास गरेका छौँ,” उहाँले बताउनुभयो।
कर्णाली नदीमा हालसम्म पक्की पुल नहुँदा गेरुवा गाउँपालिकाका स्थानीयलाई कैलालीको टीकापुरसम्म पुग्न निकै सास्ती खेप्नुपर्ने अवस्था थियो। आवतजावतका लागि स्थानीयले डुङ्गाको भर पर्नुपर्ने बाध्यता थियो। धेरैजसो स्थानीय भने लामो दूरी पार गर्दै बर्दियाको राजापुरस्थित सत्तीघाट हुँदै आवतजावत गर्ने गर्थे।
पुल निर्माण सम्पन्न भएपछि गेरुवा र टीकापुरबीचको दूरी छोटिने मात्र होइन, स्थानीय बासिन्दाको दैनिक जीवनयापन पनि सहज हुने अपेक्षा गरिएको छ। यसले व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा तथा आवागमनलाई थप सहज बनाउने विश्वास गरिएको छ।
गेरुवा गाउँपालिकाका स्थानीय पुष्कर काफ्लेले पुल निर्माण भएपछि टीकापुर आवतजावत निकै सहज हुने बताउनुभयो। “अहिलेसम्म नदी पार गर्न डुङ्गाको भर पर्नुपर्थ्यो, कहिलेकाहीँ जोखिम पनि मोल्नुपर्थ्यो। पुल बनेपछि यात्रा सुरक्षित र छिटो हुनेछ,” उहाँले भन्नुभयो।
स्थानीयका अनुसार सत्तीघाटमा पुल निर्माणले बर्दिया र कैलालीबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, कर्णाली नदीपारिका बस्तीका लागि यो पुल विकास र समृद्धितर्फको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

कर्णाली नदीमा सत्तीघाट पुल निर्माण अन्तिम चरणमा, ८६ प्रतिशत काम सम्पन्न

घुयँत्राे:“जनताले झापड हान्दा जितेको सत्ता, अब घमण्डले

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds