वामपन्थीमा तीव्र धु्रविकरणको प्रभाव: कर्णालीमा खल्बलियो  कम्युनिष्टहरुको सांगठनिक शक्ति

ओम शाही

सुर्खेत, २७ फागुन ।

२१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लामा दलहरुले पाएको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १२ निर्वाचन क्षेत्र मध्य प्रत्यक्षमा पाँच सिट जितेर पहिलो दल बनेको थियो ।

कांग्रेसले समानुपातिक अर्थात सांगठनिक भोटतर्फ प्रदेशभर एक लाख ४१ हजार दुई सय ३३ मत प्राप्त गरेको छ । समानुपातिक भोटमा कांग्रेस पहिलो दल बन्दा आफुलाई सांठनिकरुपमा बलिया ठान्ने वामपन्थीहरु कर्णालीमा २०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा कमजोर बन्न पुगेका छन् । कुनै समय कम्युनिष्ट आन्दोलनको गढ मानिने कर्णाली वामपन्थिमा आएको तीव्र धु्रविकरणले एमाले र नेकपाको प्रभाव कमजोर बन्दै गएको यी दलले चुनावमा पाएको जनसमर्थनले देखाउँछ ।

यस पटक प्रत्यक्षतर्फ चार सिट जितेर दोस्रो दल बनेको नेकपा सांगठनिक भोटमा भने चौथों बरियतामा पुगेको छ । रास्वपाले एक लाख ३३ हजार सात सय ४९ मत समानुपातिकतर्फ पाएर दोस्रो दल बन्दा नेकपा एमालेले एक लाख २० हजार आठ सय ३३ मत प्राप्त गरेर तेस्रोमा खुम्चिएको छ ।

यसअघिका निर्वाचनमा एमालेले कर्णालीबाट लोकप्रिय मतका साथ पहिलो स्थानमा रहदै आएको थियो । त्यस्तै, कर्णालीलाई आफ्‌नो आधार इलाका मान्ने नेकपाको संगठन पनि यस पटक खस्किएको छ । उसले एक लाख ७१ हजार एक मत समानुपातिकतर्फ पाएको छ । त्यस्तै, राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ हजार सात सय ५५ र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आठ हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) माओवादीले पाँच हजार नौ सय ३६, नेपाल मजदुर किसान पार्टीले पाँच हजार एक सय ३० मत पाएका छन् । केही समयअघि धरानका निवर्तमान मेयर हर्कराज राईले स्थापना गरेका श्रम संस्कृति पार्टीले समेत कर्णालीमा समानुपातिकतर्फ आश्चर्यजनक भोट पाएको छ ।

श्रम संस्कृतिले चार हजार ६ सय ५७ मत प्राप्त गरेको छ । प्रदेशभर यो मत अन्य साना दलको हाराहारीमा छ । २०७९ मा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो र तत्कालिन माओवादी हालको नेकपा तेस्रो स्थानमा थिए । तर यो पटक भने नतिजा फेरिएर पहिलो कांग्रेस, दोस्रो रास्वपा, तेस्रो एमाले बन्दा नेकपा चौथो बरियतामा धकेलिएको छ ।

९० उम्मेदवारको जमानत जफत

प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ । प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए।

जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको संख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।

यस्तो छ दलहरुले जिल्लागत पाएको मत 

कर्णाली प्रदेशका १० जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मत परिणामले परम्परागत राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदलको संकेत गर्छ । सार्वजनिक मत परिणामअनुसार चार निर्वाचन क्षेत्रमा कांग्रेस पहिलो दल बनेको छ ।

त्यस्तै, गएको निर्वाचनबाट उदाएको रास्वपाले तीन निर्वाचन क्षेत्रको समानुपातिक मत आफ्‌नो पक्षमा पारेको छ । नेकपाले तीन जिल्लाको मत परिणाम आफ्‌नो पक्षमा पार्दा एमालेले दुई क्षेत्रमा प्रभुत्व जमाएको छ ।

जिल्लागत मतपरिणाम अनुसार सुर्खेत–१ मा नेपाली कांग्रेसले २३ हजार चार २३ मत प्राप्त गरी पहिलो दल बन्दा रास्वपाले २० हजार पाँच सय २७ मतका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एमालेले १६ हजार आठ सय ५२ मत प्राप्त गर्दा नेकपाले दुई हजार सात मत प्राप्त गरेको छ ।

त्यस्तै, सुर्खेत–२ मा रास्वपा पहिलो दल बनेको छ । ३३ हजार ६ सय ९९ मत प्राप्त गर्दा कांग्रेसले १४ हजार तीन सय २० मत प्राप्त गरी दोस्रो दल बनेको छ । एमालेले १२ हजार ६२ र नेकपाले चार हजार दुई सय ८९ मत प्राप्त गरेको छ । यस्तै, दैलेख–१ मा रास्वपा ११ हजार चार सय ८१ मत प्राप्त गरी पहिलो दल बनेको छ । यो निर्वाचन क्षेत्रमा एमालेले १० हजार आठ सय ५९ मत प्राप्त गरेर दोस्रो बनेको छ भने कांग्रेसले १० हजार सात सय १८ मत पाएर तेस्रो बनेको छ ।

नेकपाले तीन हजार चार ८९ मत पाएको छ । दैलेख–२ मा एमाले १२ हजार आठ सय ७८ मत प्राप्त गरी पहिलो दल बनेको छ । कांग्रेसले नौ हजार तीन सय नौ मत प्राप्त गर्दा रास्वपाले नौ हजार एक सय १० मत प्राप्त गरेको छ भने नेकपाले दुई हजार आठ सय ४० मत प्राप्त गरेको छ । जाजरकोटमा कांग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ ।

कांग्रेसले १७ हजार तीन सय १८ मत प्राप्त गरी पहिलो दल बन्दा एमालेले १६ हजार चार सय ५९ मतका साथ दोस्रो स्थानमा छ । तेस्रो बनेको नेकपाले १६ हजार तीन सय २२ मत प्राप्त गर्दा रास्वपाले पाँच हजार सात सय ५२ मत प्राप्त गरेको छ ।

त्यस्तै, रुकुम पश्चिममा २० हजार ३६ मतका साथ नेकपा पहिलो दल बनेको छ । दोस्रो बनेको कांग्रेसले १५ हजार एक सय ८१ मत प्राप्त गर्दा रास्वपाले १० हजार एक सय ४९ मतका साथ तेस्रो शक्ति बनेको छ । प्रलोपाले सात हजार दुई सय सात मत प्राप्त गर्दा एमालेले पाँच हजार आठ सय ४७ मत प्राप्त गरेको छ ।

सल्यानमा पनि रास्वपा पहिलो दल बनेको छ । यहाँ रास्वपाले प्रत्यक्षतर्फ जित्न सकेन तर समानुपातिकमा भने २५ हजार ६ सय ६५ मत प्राप्त गरेर पहिलो दल बनेको छ । त्यस्तै, नेकपाले २० हजार तीन सय ३९, कांग्रेसले १६ हजार ६९ र एमालेले १४ हजार ९२ मत प्राप्त गरेको छ । जुम्लामा नेकपा पहिलो दल बनेको छ । राजावादी दल राप्रपासँग प्रत्यक्षमा कडा प्रतिस्पर्धा गरेको नेकपा जुम्लामा १० हजार दुई सय दुई मत प्राप्त गरेर पहिलो दल बन्यो । तर प्रत्यक्षमा भने पराजित हुन पुग्यो ।

जुम्लामा दोस्रो बनेको कांग्रेसले नौ हजार तीन सय ६० मत प्राप्त गर्दा राप्रपाले एमालेलाई पछि पारेर तेस्रो स्थान हासिल गर्न सफल भयो । राप्रपाले ६ हजार पाँच सय ५२ मत प्राप्त गर्दा एमालेले ६ हजार २९ मत प्राप्त गरेको छ । रास्वपाले जुम्लामा पाँच हजार एक सय १८ मत प्राप्त गरेको छ । कालीकोटमा ११ हजार एक सय ८९ मतका साथ नेकपा पहिलो दल बनेको छ ।

नेकपाले नौ हजार पाँच सय २० मत प्राप्त गर्दा कांग्रेसले सात हजार सात सय ५४ र रास्वपाले पाँच हजार एक मत प्राप्त गरेको छ । विप्लव नेतृत्वको माओवादीले कालीकोटमा तीन हजार तीन सय ५८ मत प्राप्त गरेको छ । मुगुमा सात हजार दुई सय ७१ मत प्राप्त गरेर कांग्रेस पहिलो दल बनेको छ ।

दोस्रो बनेको एमालेले मुगुबाट ६ हजार ४१ मत प्राप्त गर्दा नेकपाले चार हजार ६ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई हजार एक सय १० मत प्राप्त गरेको छ । सात हजार नौ सय १५ मत प्राप्त गरी कांग्रेस हुम्लामा पहिलो दल बनेको छ । ६ हजार दुई सय ३१ मतका साथ नेकपा दोस्रो र एमाले तेस्रो दल बनेको छ । एमालेले हुम्लाबाट पाँच हजार दुई सय ८० मत प्राप्त गर्दा रास्वपाले दुई हजार ३५ मत प्राप्त गरेको छ ।

त्यस्तै, डोल्पामा प्रत्यक्षतर्फ हार व्यहोरेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । उसले चार हजार नौ सय ४४ मत प्राप्त गर्दा नेकपाले चार हजार सात सय सात मत प्राप्त गर्‍यो । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार विजयी भएका छन् । यस्तै, डोल्पामा रास्वपाले कांग्रेसलाई पछि पारेको छ । रास्वपाले तीन हजार एक सय दुई मत प्राप्त गर्दा कांग्रेसले दुई हजार पाँच सय ९५ मत पाएको छ ।

कर्णालीको जिल्लागत मत परिणामलाई हेर्दा मतदाताले पुराना दलहरूको विकल्प खोजेको स्पष्ट देखिन्छ । विशेषगरी सुर्खेत, सल्यान र दैलेखमा रास्वपाको उदयले अबको राजनीतिमा नयाँ शक्तिलाई बेवास्ता गर्न नसकिने सन्देश दिएको छ । यद्यपि, हिमाली जिल्लाहरूमा भने अझै पनि नेपाली कांग्रेस र एमालेकै पकड कायम देखिन्छ । नेकपा (माओवादी) को प्रभाव क्षेत्र मानिने ठाउँहरूमा नेकपाले आफ्नो साख जोगाउने प्रयास गरेको छ ।

वामपन्थीमा तीव्र धु्रविकरणको प्रभाव:  कर्णालीमा खल्बलियो   कम्युनिष्टहरुको सांगठनिक शक्ति

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

वामपन्थीमा तीव्र धु्रविकरणको प्रभाव:  कर्णालीमा खल्बलियो   कम्युनिष्टहरुको सांगठनिक शक्ति

सुर्खेतमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या: दोषीलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds