एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग 

लन्डन, २१ माघ (रासस/एएफपी) ।

बेलायतका पूर्वराजकुमार एन्ड्र्युले आफ्नो विलासी विन्डसरस्थित आवास छोडेर पूर्वी इङ्ग्‌ल्यान्डको शाही एस्टेटमा बसाइँ सर्नुभएको छ । बिबिसीले मङ्गलबार यसबारे जानकारी दिएको हो । यौन अपराधी जेफ्री एपस्टीनसँगको सम्बन्धलाई लिएर उहाँले नयाँ छानविनको सामना गरिरहनुभएको समयमा बसोबास परिवर्तन गर्नुभएको हो ।

अहिले एन्ड्र्यु माउन्टब्याटन–विन्डसर भनेर चिनिनुहुने पूर्व शाही सदस्य अमेरिकी न्याय मन्त्रालय (डिओजे) ले एपस्टीनसँग सम्बन्धित कागजातहरूको पछिल्लो विमोचन गरेपछि थप दबाबमा पर्नुभएको छ । ती कागजातमा आफ्नो नाम उल्लेख भएपछि उहाँमाथि त्यसबारे स्पष्ट जवाफ दिन दबाब बढेको बताइएको छ ।

बिबिसीका अनुसार ६५ वर्षीय एन्ड्र्यु सोमबार रोयल लजबाट बाहिरिनुभएको हो । बकिङ्घम प्यालेसले भने एएफपीलाई उक्त रिपोर्टको औपचारिक पुष्टि गर्न अस्वीकार गरेको जनाएको छ ।

प्रसारणकर्ताका अनुसार एन्ड्र्यु विगत दुई दशकदेखि आफ्नी पूर्वपत्नी सारा फर्गुसनसँग विन्डसर क्यासल नजिकै रहेको आवासमा बस्दै आउनुभएको थियो । उहाँहरूको दीर्घकालीन बसोबास त्यही क्षेत्रमा रहँदै आएको थियो ।

बिबिसीका अनुसार एन्ड्र्यु हाल नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा रहेको एक अस्थायी घरमा बसिरहनुभएको छ । सन ट्याब्लोइडले भने उहाँ अन्ततः सोही एस्टेटभित्र रहेको मार्श फार्ममा स्थायी रूपमा सर्नुहुने उल्लेख गरेको छ, जहाँ हाल नवीकरणको काम भइरहेको छ ।

अर्थात् राजा चार्ल्स तृतीयका कान्छो भाइ एन्ड्र्युमाथि पछिल्लो समय दबाब थप बढेको छ । न्याय मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका एपस्टीन फाइलहरूमा उहाँको नाम नयाँ सन्दर्भसहित देखा परेको छ ।

ती कागजातमा तत्कालीन राजकुमारले भुइँमा सुतिरहेकी एक महिलामाथि घुँडा टेक्नुभएको देखिने तस्बिरहरू समावेश रहेका छन् । साथै, एपस्टीनलाई बकिङ्घम प्यालेसमा निजी भेटका लागि आमन्त्रण गर्नुभएको इमेल आदानप्रदानसम्बन्धी विवरण पनि उल्लेख गरिएको छ ।

यी खुलासापछि प्रधानमन्त्री किर स्टार्मरले एन्ड्र्युले एपस्टीनका अपराधबारे के जानकारी राख्नुभएको थियो भन्ने विषयमा अमेरिकी कांग्रेससमक्ष गवाही दिन आग्रह गर्नुभएको छ ।

एपस्टीनकी अर्की पीडित महिलाले आफ्ना वकिलमार्फत अमेरिकी फाइनान्सियरले आफूलाई सन् २०१० मा रोयल लजमा एन्ड्र्युसँग यौन सम्बन्ध राख्न बेलायत पठाएको दाबी गर्नुभएको छ ।

एन्ड्र्युले भने कुनै पनि प्रकारको गलत काम गरेको आरोपलाई पटक–पटक अस्वीकार गर्दै आउनुभएको छ ।

उहाँले सन् २०२२ मा एपस्टीनसँग सम्बन्धित आरोप लगाएकी भर्जिनिया गिफ्रेलाई कुनै अपराध स्वीकार नगरी करोडौँ पाउन्डको सम्झौता रकम दिनुभएको थियो । गिफ्रेले गत वर्ष आत्महत्या गर्नुभएको थियो ।

एन्ड्र्यु सन् २०१९ मा एपस्टीनसँगको कथित सम्बन्धका कारण शाही कर्तव्यबाट पछि हट्नुभएको थियो । एपस्टीन नाबालिगहरू विरुद्धको यौन अपराधसम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षामा रहँदै गर्दा जेलमै आत्महत्या गरी मृत फेला परेका थिए ।

एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग 

बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र

एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग 

महत्त्वपूर्ण खनिज आपूर्तिमा ट्रम्प योजना

Leave a comment

Your email address will not be published. Required fields are marked *