जुम्लामा अस्थायी मतदाताका लागि दुई मतदान केन्द्र तोकियो

काली बहादुर परियार
जुम्ला,२१ माघ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्र कायम गरेको छ । कार्यालयले सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा कारागारमा रहेका थुनुवा कैदीबन्दी लाई मतदान बाट वञ्चित हुन नदिन दुई वटा अस्थायी मतदान केन्द्र कायम गरेकाे हाे ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार सदरमुकाम खलङ्गा बजार स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदानमा एक अस्थायी मतदान केन्द्र तोकिएको छ। उक्त केन्द्र निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अस्थायी मतदाताका लागि व्यवस्था गरिएको हो ।
त्यस्तै, जिल्ला कारागार जुम्ला भित्र रहेका थुनुवा तथा कैदिबन्दीका लागि कारागार परिसरमै अर्को अस्थायी मतदान केन्द्र स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ। मतदानको दिन सुरक्षाकर्मी वा कारागारमा रहेका व्यक्तिहरू आफ्नो मताधिकार प्रयोग गर्न बाट वञ्चित नहोस् भन्ने उद्देश्यले अस्थायी केन्द्र कायम गरिएको निर्वाचन अधिकारी कँडेलले बताए ।
निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाता नामावलीमा समावेश भएका मतदाताले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको मत मात्र दिन पाउने कानुनी व्यवस्था छ। प्रत्यक्ष तर्फ मतदान गर्न नपाइने भए पनि समानुपातिक मत मार्फत उनीहरूको राजनीतिक सहभागिता सुनिश्चित गरिएको कँडेलको भनाइ छ ।
निर्वाचन कार्यालयले अस्थायी मतदान केन्द्रमा आवश्यक सुरक्षा, मतपत्र, कर्मचारी व्यवस्थापन तथा मतदान प्रक्रिया पारदर्शी र मर्यादित बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । साथै, मतदान प्रक्रिया बारे सम्बन्धित मतदाता लाई समयमै जानकारी गराइने पनि कार्यालयले स्पष्ट पारेको छ ।






