न्याय निरुपण गर्ने निकायमाथि नागरिकको अविश्वास २७ दिनपछि इनिशाको दाहासंस्कार
ओम शाही
सुर्खेत, १९ चैत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया किशोरी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेका छन् । उनको बिहिबार भेरी नदीमा अन्तिम संस्कारसमेत भइसकेको छ । गएको २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन ।
घटना लगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । बिडम्बना अस्पतालले उनलाई मृत्यु घोषणा गरेको थियो । प्रहरीले घटनास्थलबाट इनिशाका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्क राखेपछि भएको अत्याधिक रत्तश्रापका कारण मृत्य भएको बयान दिएका थिए ।
उनको बयानका आधारमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले समेत अनुसन्धान गरेको थियो । १८ दिन लगाएर गरेको अनुसन्धानबाट प्रहरीले सामुहिक बलत्कार नभई मुख्य आरोपीसँगको शारीरिक सम्बन्धपछि भएको अत्याधिक रक्तश्राप नै मुत्युको कारण रहेको निस्कर्ष निकालेको थियो ।
उनको पोष्टमार्टम रिपोर्टलेसमेत मृत्युको कारण घटनास्थलबाट पक्राउ परेका किशोरसँग शारीरिक सम्पर्कपछि यौनाङ्गको भित्रि भागमा लागेको चोटबाट भएको रक्तश्राप देखाएको थियो । तर मृतकका आफन्तले सामुहिक बलत्कारपछि हत्या भएको भन्दै पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दर्ता गराएका थिए ।
परिवारले दिएको जाहेरीका आधारमा भेरी अस्पताल नेपालगन्जका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल पुगेर इनिशाको पोस्टमार्टम गरेको थियो । तर अस्पतालको उक्त रिपोर्टमा असन्तुष्टि जनाउँदै आफन्त, नागरिक समाज र अधिकारकर्मीले देशभर विरोध जनाएका थिए ।
उनीहरुले इनिशा मृत्यु प्रकरणको न्याय प्रभावित हुने आशंका व्यक्त गरिरहेका थिए । आइतबार जिल्ला अदालतले चारै जनालाई अनुसन्धान नसकिदासम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै परिवारले इनिशाको शव बुझेका हुन् ।
चारै जना अभियूक्त १६ देखि १७ वर्षका छन् भने ‘वीरेन्द्रनगर फ’ बाहेक अन्य सबै इनिशाका क्लासमेट हुन् । जिल्ला सरकारी वकील कार्यालयले चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक बलात्कार र हत्यामा सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रत्येकलाई आजीवन कारावासको सजाय माग गरिएको छ । कसुर ठहरेमा नाबालकलाई वयस्कलाई हुनेमध्ये दुईतिहाई सजाय हुने भएकाले अधिकतम १६ वर्ष आठ महिनासम्म सजाय हुन सक्छ ।
अभियूक्तहरुलाई मुद्दाको अनुसन्धान नसकिदासम्म पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिइसकेको छ । यद्यपी, उनीलाई नाबालक भएकाले कारागार नभई बालसुधार गृहमा राखिने छ । प्रहरीको अनुसन्धानपछि सरकारी वकील कार्यालयले ४१ पृष्ठ लामो अभियोग पत्र अदालतमा दर्ता गराएको थियो ।
उक्त अभियोग पत्रमा सरकारी वकील कार्यालयले इनिशाका प्रेमी भनिएका ‘वीरेन्द्रनगर प’ बाहेक अन्य व्यक्तिहरु घटनामा संलग्न भएको यथेष्ट प्रमाण पेश गर्न सकेको छैन । प्रहरीले अन्य तीन जनालाई इनिशालाई बचाउन भुमिका नखेलेको अभियोगमा मुद्दा चलाउन राय दिएको भएपनि वकील कार्यालयले घटनाको टाइमलाइनसँग कतै नजोडिएका व्यक्तिलाई पनि सामुहिक बलत्कारपछि हत्या गरोको अभियोग दर्ता गराएको आरोप छ ।
सरकारी वकील कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा चार जना अभियुक्तसहित ३३ जनाको बयान लिइएको छ । मुख्य प्रतिवादी ‘वीरेन्द्रनगर प’ ले आफू र इनिशा प्रेमी भएको तथा जंगलमा यौन सम्पर्कका बेला अत्यधिक रक्तश्राव भएर उनी बेहोस भएपछि उद्दारका लागि अन्य तीन जना साथिलाई बयान दिएका छन् ।
तीन जनाले छुट्टाछट्टै रूपमा दिएको बयानमा पनि ‘वीरेन्द्रनगर प’ को बयानसँग मिलेको देखिन्छ । जिल्ला सरकारी वकील कार्यालय अभियुक्तवाहेक घटनास्थलमा सबैभन्दा पहिले पुगेका साक्षी बन चौकीदार रामबहादुर दमाईले आफू घरमै बसिरहेका बेला करिव ९ बजेर ३० मिनेट जाँदा ओरोपी मध्यका ‘वीरेन्द्रनगर ध’ आएर जंगलमा एक जना साथी बेहोस छ, उद्धार गरिदिनुपर्यो भनेपछि गाउँलेहरूलाई बोलाएर आफू जंगलमा पुगेको र त्यहाँ पुग्दा इनिशाको शव नजिकै मुख्य प्रतिवादी ‘वीरेन्द्रनगर प’ रगत लागेको सर्ट लगाएर बसेको देखेको बयान दिएका छन् ।
उनले अन्य दुई जना बीरेन्द्रनगर न’ र वीरेन्द्रनगर फ’ अर्को छेउमा झोला बोकेर उभिएको आफूले देखेको बताएका छन् । अन्य साक्षीहरूले पनि यस्तै प्रकृतिको बयान दिएका छन् । यो घटनामा अर्को रहस्यको विषय प्रहरीको उच्च प्रविधि र दक्ष जनशक्ति प्रयोग भएको अनुसन्धानको यथेष्ट तथ्य बाहिर नल्याएर सामुहिक बलत्कारपछि हत्या जस्तो अभियोग लगाउनुमा कानुनका जानकारले देखेका छन् ।
प्रहरीको रिपोर्ट एकातिर र वकील कार्यालयको अभियोग अर्कोतर्फ हुँदा दोषि को थिए, भन्ने तथ्य उजागर नगरेरै अदालतमा दायर भएको मुद्दा आफैमा रहस्यमय रहेको पक्राउ परेका तीन जना किशोरका परिवारले दावी गरिरहेका छन् । मुद्दा न्यायिक परीक्षणमा प्रवेश गरिसकेकाले यस विषयमा भोलीका दिनमा अदालतले बोल्ने नै छ । तर इनिशा विक मृत्यु प्रकरणमा राज्यका न्याय निरुपण गर्ने निकायमाथि नागरिकले देखाएको अविश्वास भने प्रष्ट देखिन्छ ।
घटना घटेको दिनबाटै आन्दोलित बनेका परिवारले प्रहरीप्रति विश्वास नगर्नुले न्यायिक निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । अर्को महत्वपूर्ण विषय इनिशा मृत्यु प्रकरणमा देखिएको दृश्यले भीड देखेर न्याय प्रभावित हुने खतरा बढेको सरोकारवाहरु बताउँछन् ।





