घरमै बस्ने ड्राइभर, सडकमा गुड्ने अध्यक्ष : गुठिचौरमा सरकारी पैसामाथि खुलेआम खेलवाड
काली बहादुर परियार
जुम्ला,१८ चैत ।
कर्णालीको दुर्गम भूगोलमा विकासको नाममा बजेट अभाव र स्रोतको कमीको रोदन भइरहँदा जुम्लाको गुठिचौर गाउँपालिका बाट भने एउटा यस्तो तथ्य बाहिर आएको छ, जसले सरकारी प्रणाली माथिको जनविश्वास नै ध्वस्त बनाउने संकेत दिएको छ।
गाउँपालिका अध्यक्षकै संरक्षणमा सरकारी स्रोतको चरम दुरुपयोग भइरहेको आरोप सार्वजनिक भएको छ। गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रयोग गर्ने सरकारी गाडीका चालक हरिचन्द्र बुढा विगत एक वर्षदेखि घरमै बसेर तलब बुझ्दै आएको खुलासा भएको छ ।
अझ अचम्म त के छ भने, गाडी भने नियमित चलिरहेको छ, तर चालक होइन, आफै अध्यक्षले गाडी हुइँकाउँदै आएका छन् । यो घटनाले प्रशासनिक जिम्मेवारी, कानुनी व्यवस्था र नैतिकताको प्रश्नलाई एकैसाथ कटघराबाट उभ्याएको छ ।
प्राप्त जानकारी अनुसार २०८१ साल वैशाख महिनादेखि चालक हरिचन्द्र बुढाले गाडी नचलाइ घरमै बसेर मासिक २७ हजार रुपैयाँका दरले तलब बुझ्दै आएका छन् । यस हिसाबले एक वर्षको अवधिमा उनले करिब ४ लाख २४ हजार रुपैयाँ सरकारी ढुकुटीबाट बुझेका छन् ।
तर यो तलब सेवा बिना नै लिएको आरोपले गाउँपालिका भित्रको बेथिति र मिलेमतोको गम्भीर संकेत दिएको छ । यस विषयमा चालक हरिचन्द्र बुढासँग गरिएको कुराकानीमा उनले आफैले चकित पार्ने स्वीकारोक्ति दिएका छन् ।
उनका अनुसार, गाउँपालिका अध्यक्षले नै तँ घरमै बस, गाडी म आफै चलाउँछु भनेर निर्देशन दिएका कारण आफूले गाडी नचलाएको बताएका छन् । गाडी नचलाएरै तलब आउँछ भने किन चलाउनु पर्यो ? भन्ने अभिव्यक्तिले उनी प्रणालीको कमजोरीको फाइदा उठाउँदै खुलेआम सरकारी रकम दोहन भइरहेको स्पष्ट संकेत गर्छ ।
तर प्रश्न उठ्छ यो सबै भइरहेको बेला गाउँपालिका प्रशासन के गरिरहेको छ ? प्रमुख प्रशासकीय अधिकृत कहाँ छन् ? किन उनीहरूले यो विषयमा कुनै चासो देखाएनन् ? चालककै भनाइ अनुसार, प्रमुख प्रशासकीय अधिकृतले समेत यस विषयमा आँखा चिम्लिएको आरोप छ ।
यसले गाउँपालिकाभित्रको मिलेमतो, गैरजिम्मेवारी र भ्रष्ट प्रवृत्तिको जरो गहिरो भएको देखाउँछ ।
यता गाउँपालिका अध्यक्ष दान बहादुर बुढासँग जब यस विषयमा प्रतिक्रिया लिन खोजियो, उनले मलाई यो विषयमा थाहा छैन भन्दै पन्छिने प्रयास गरेका छन् ।
तर प्रश्न अझ गम्भीर बन्छ यदि अध्यक्षलाई नै थाहा छैन भने, एक वर्ष सम्म चालक बिना गाडी कसरी चलिरहेको थियो ? र यदि उनी आफै गाडी चलाउँदै थिए भने, त्यो कानुनी रूपमा कत्तिको जायज हो ?
सरकारी सवारीसाधन चलाउन तोकिएको चालक आवश्यक हुन्छ ।
अध्यक्ष स्वयंले गाडी चलाउनु कानुनी, सुरक्षा र बीमा सम्बन्धी हिसाबले समेत गम्भीर उल्लंघन हुन सक्छ। त्यसैमाथि चालकलाई घरमै राखेर तलब खुवाउनु त सीधै राज्यकोषमा डकैती सरह हो ।
स्थानीय बासिन्दाहरूले पनि यस घटनाप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । उनीहरूको भनाइमा, गाउँपालिकामा विकासका कामहरू सुस्त गतिमा भइरहेका छन्, बजेट अभावको बहाना बनाइन्छ, तर भित्रभित्रै यस्तो तरिकाले रकम हिनामिना भइरहेको छ ।
हामीले त कर तिर्छौ, राज्यले सेवा दिनुपर्छ भनेर। तर यहाँ त नेताहरूले आफ्नै मनपरी चलाएका छन्, एक स्थानीयले आक्रोश पोखे । यो घटना सामान्य प्रशासनिक त्रुटि होइन, यो त प्रणालीगत भ्रष्टाचारको ज्वलन्त उदाहरण हो ।
एकातिर जनताले आधारभूत सेवा पाउन संघर्ष गरिरहेका छन्, अर्कोतर्फ जनप्रतिनिधि र कर्मचारी मिलेर राज्यकोषमा खुल्लमखुल्ला खेलवाड गरिरहेका छन् ।
गुठिचौर गाउँपालिकाको यो प्रकरणले सम्पूर्ण स्थानीय तहमा सुशासनको अवस्था कस्तो छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।





