वन्यजन्तु आतंक नियन्त्रणमा १७ किमि ‘हात्ती छेकबार’ ठाकुरबाबामा आरसिसी पर्खाल निर्माण

बर्दिया, १८ चैत । 

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीलाई वन्यजन्तुको जोखिमबाट सुरक्षित बनाउन ठाकुरबाबा नगरपालिका ले १७ किलोमिटर लामो हात्ती छेकबार आरसिसी पर्खाल निर्माण गरेको छ । हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको उच्च जोखिम रहेका क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ पर्खाल निर्माण गरेको हो । 

ठाकुरबाबा नगरपालिकाको करिब ३२ किलोमिटर सिमाना निकुञ्जसँग जोडिएकाले यहाँ मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै आएको छ । नगरपालिकाले गत वर्षसम्म ११ किलोमिटर पर्खाल निर्माण गरिसकेको थियो भने चालु आर्थिक वर्षमा थप चार किलोमिटर आरसिसी पर्खाल र बबई सिँचाइ आयोजना अन्तर्गत दुई किलोमिटर नहर निर्माण भएपछि कुल १७ किलोमिटर छेकबार तयार भएको हो । 

यसले हात्ती लगायतका वन्यजन्तु बस्ती तथा खेतबारीमा प्रवेश गर्न नपाउने अवस्था सिर्जना भएको नगरपालिकाले जनाएको छ । निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुले खेतबारीमा क्षति पुर्‍याउने र बस्तीमा प्रवेश गर्ने घटनाका कारण मानव–वन्यजन्तु द्वन्द्व दिनहुँ चर्कँदै आएको स्थानीयहरू बताउँछन् । यही समस्या समाधान गर्न आरसिसी पर्खाल निर्माण गरिएको नगर उपप्रमुख बिना भट्टराई ले बताए ।

उनका अनुसार नगरवासीको सुरक्षा पहिलो प्राथमिकता भएकाले अन्य विकास निर्माणका कामलाई समेत प्रभावित पार्दै पर्खाल निर्माणलाई प्राथमिकता दिनुपरेको हो । “हात्ती छेकबार निर्माण नगरेको भए थप २० किलोमिटर सडक बन्ने थियो,” उनले भने, “तर हाम्रो अधिकांश बजेट पर्खाल निर्माण र वन्यजन्तु पीडितलाई राहत वितरणमै खर्च भइरहेको छ ।”

नगरपालिकाका अनुसार अझै करिब १५ किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्न बाँकी रहेको छ । तत्कालका लागि विभिन्न वडामा करिब छ किलोमिटर क्षेत्रमा तारजाली समेत जडान गरिएको छ । बजेट अभावका कारण सबै स्थानमा आरसिसी पर्खाल निर्माण गर्न नसकिएको नगरप्रमुख तिलकराम लम्सालले बताए ।

उनका अनुसार संघीय सरकारसँगको लागत साझेदारीमा पर्खाल निर्माण कार्य अगाडि बढाइएको छ । एक किलोमिटर आरसिसी पर्खाल निर्माण गर्न करिब एक करोड ८२ लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए ।

पर्खाल निर्माणपछि बाघ, हात्ती, गैँडा, चित्तल र बँदेलजस्ता वन्यजन्तु बस्तीमा पस्ने घटना घटेको स्थानीय मुकुन्द क्षेत्रीले बताए । स्थानीयका अनुसार यसले जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

वन्यजन्तु आतंक नियन्त्रणमा १७ किमि ‘हात्ती छेकबार’  ठाकुरबाबामा आरसिसी पर्खाल निर्माण

आठ महिनामा कर्णाली सरकारको बजेट खर्च १९

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds