मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

कञ्चनपुर, १४ कात्तिक । 

विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन् ।

दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उहाँले आफ्नो जीवनमात्र होइन । गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उनको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् ।

कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरेका छन् । उनका प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ ।

सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उहाँकोे दिनको सुरुआत हुन्छ । राजमार्गसँगै जोडिएको उहाँको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने गर्दछ । उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उहाँकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन् ।

रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन् । त्यही नर्सरीका बिरुवाबाट उनले आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन् । अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन् ।

वि.सं. २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे । “पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थे, मल हाल्थे विषादी छर्किन्थे, बेर्ना हुर्काउँथे, बिरुवा स्याहार्ने कार्य गर्दथे”, रानाले भने, “त्यही क्रममा खेतीका तौरतरिका सिके र आफूले पनि गर्ने हिम्मत गरे, व्यावसायिकखेती गर्ने निधो गरी लागे ।”

थोरै पुँजी र ठूलो जोशका साथ राजमार्ग नजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उनले भने, “सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी नै आम्दानी भयो, त्यो आम्दानीले तरकारीखेती गर्ने आत्मविश्वास पलायो, त्यसपछि तरकारीका बेर्नाको नर्सरी तयार गरी बिरुवा बेच्न थालेँ, तरकारीखेती गरी तरकारी बेच्न सुरु गरेँ, आम्दानी बढ्दै गयो, त्यसपछि पैसाका लागि अरुसँग हात थाप्नै परेन ।”

एक बिघा र चार बिघा लिजमा लिएर तरकारीखेती हुने गरेको छ । नर्सरीबाट मात्र वार्षिक करिब रु पाँच लाख र तरकारीखेतीबाट करिब रु १० लाख आम्दानी हुने गर्दछ । “पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ”, उनी हाँस्दै भन्छन् ।

उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उहाँको तरकारीको उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुन्छ । बजारसम्म तरकारी ढुवानी गर्न उहाँले आफ्नै अटो खरिद गरेका छन् । “पहिले साइकलमा बजारसम्म तरकारी पुर्‍याएर बेच्थेँ, त्यसपछि मोटरसाइकलमा राखेर तरकारी बेच्न थालेँ, अहिले अटोमै तरकारी बेच्न जान्छु”, उहाँ गर्वका साथ भन्छन, “कृषि पेसालाई सही तरिकाले गरे जीवन नै बदलिने रहेछ ।” तरकारीखेतीले उनको जीवनस्तरमा ठूला परिवर्तन ल्याएको छ । पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्छन । उनले तरकारीखेतीकै कमाइबाट दुईवटा मोटरसाइकल पनि खरिद गर्नुभएको छ । रानाको नर्सरीका बिरुवा अहिले कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खेतमा रोप्नका लागि लैजाने गरेका छन् । “गुणस्तर बीउको प्रयोग गरी बिरुवा तयार हुने भएकाले बजार खोज्न पर्दैन”, उहाँ भन्नुहुन्छ, “किसान आफैँ बारीसम्मै नगदमा बिरुवा खरिद गरेर लैजान्छन् ।”

परिवारका सबै सदस्य खेतीमा सघाउँछन् । श्रीमती र छोरा दुवै जनाले तरकारीखेती र नर्सरीको काममा साथ दिन्छन् । “परिवारकै सदस्य मिलेर काम गर्दा खर्च घट्छ र आम्दानी बढ्छ”, उनी भन्छन । बजार विस्तारसँगै उनले खेती आधुनिक बनाउन तालिमहरू पनि लिएका छन् । कृषि ज्ञान केन्द्र र बेदकोट नगरपालिकाले आयोजना गरेको तालिमबाट उहाँले बीउ छनोट, माटो सन्तुलन, रोग–कीरा नियन्त्रण र आधुनिक खेती प्रविधि सिकेका छन् । “तालिमले मलाई नयाँ सोच दियो, अहिले म अरू किसानलाई पनि सिकाउन सक्छु”, उनी भन्छन । रानाको तरकारीखेतीप्रतिको लगाव देखेर कृषि ज्ञान केन्द्र र नगरपालिकाका तर्फबाट कृषि औजार र यन्त्रहरूमा अनुदान पनि पाएका छन् ।

भविष्यमा थप जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाएका रानाले युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गरेका छन् । “युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ”, उनी भन्छन, “मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेको छु ।”

मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस 

Leave a comment

Your email address will not be published. Required fields are marked *