बस चालक र स्थानीय युवाको विवादले यात्रुको मृत्यु
गाेल्डेन बुढा
जुम्ला,१५ असार।
जुम्लाको हिमा गाउँपालिका-१ बड्कीमा शनिबार बेलुका भएको बस चालक र स्थानीय युवाबीचको विवादले एक यात्रुको मृत्यु भएको छ।मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ३५३३ नम्बरको बसलाई दुई युवाले जबरजस्ती रोकेर चालकमाथि कुटपिट गरेपछि भएको घटनामा मुगुको छायानाथ रारा नगरपालिका–५ का ५८ वर्षीय हरिचन्द्र कार्कीको मृत्यु भएको हो। बड्की गाउँ नाग्म मुगु सडक- खण्डमा पर्छ। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, शनिबार बेलुका करिब साढे ७ बजे जुम्लाको हिमा गाउँपालिका- ५ का २१ वर्षीय पारस शाही र २२ वर्षीय आकाश शाहीले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा बस रोकेर चालक वीरबहादुर सुनारमाथि दुर्व्यवहार र हातपात गरेका थिए। त्यहीँ क्रममा ३८ चालक वीर बहादुर सुनार बसबाट ओर्लने प्रयास गर्दा गाडी पछाडि सरेको र ढोकानजिक उभिएका कार्की लडेर गम्भीर घाइते भएका थिए।
उनलाई तत्कालै हिमा गाउँपालिकाकाे एम्बुलेन्सबाट उद्वार गरि जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।कार्कीको बिच बाटोमै मृत्यु भइसकेको मृतकका श्रीमती हसादेवि कार्कीले बताइन्।
घटनामा संलग्न दुवै युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झगडा छुट्याउने क्रममा म्याग्दी सोरु गाउँपालिका-२ की ३० वर्षीया मुगानाथ र चालक वीरबहादुर सुनार सामान्य घाइते भएका छन्। बस चालक दैलेख महाबु गाउँपालिका -६ स्थानीय बासिन्दा हुन्।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।





