मध्यपश्चिम विश्वविद्यालयमा ब्यूतिँदै स्ववियु एक स्वतन्त्रसहित आठ जना चुनावी मैदानमा

ओम शाही
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तातिदै गएको छ । सोमबार (१८ चैत) मा तय भएको निर्वाचनमा विभिन्न दल निकट सात संघ÷संगठन÷ समूह र एक स्वतन्त्र गरी आठ जनाले स्ववियु अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ६ वर्षपछि ब्यूतिन लागेको लागेको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मुख्य पतिस्पर्धामा छन् ।
यद्यपी पछिल्लो समय दलहरुप्रतिको वितृष्णाका कारण मतदातालेचुनावी परिणाम फेर्न सक्ने विश्लेषणसमेत भइरहेको छ ।निर्वाचन समितिका अनुसार नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी), स्वतन्त्र उम्मेदवार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छेठौं), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघनिर्वाचन प्रक्रियामा सहभागि हुँदैछन् । निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार हालसम्म कुनै पनि संगठनले गठवन्धन गरेका छैनन् ।
उनका अनुसार शुक्रबार राति १२ बजेदेखि मतदान नहुन्जेलसम्म मौन अवधि तोकिएको छ ।मौन अवधि सुरु भएदेखि मतदानको काम पुरा नभएसम्म कुनै उम्मेदवार वा संघ, संघठनको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्ने, जुलुस निकाल्न वा नारावाजी तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन नपाइने निर्वाचन अधिकृत अधिकारीले बताए ।
कर्णालीको ठुलो शैक्षिक संस्था भएकै कारण मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनलाई विशेष गरी प्रमुख दलका विद्यार्थी संगठनहरुले प्रतिष्ठाको लडाइँ बनाएका छन् । सत्ता साझेदार दल एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले स्ववियु नेतृत्व आफ्नो पक्षमा पार्न कसरत गरिरहदा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि आफुलाई बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएको छ ।
अन्य साना दल निकट विद्यार्थीका संगठनसँगै स्वतन्त्र उम्मेदवारले पनि मतदातालाई आफ्नो पक्षमा पार्न रणनीति अपनाएका छन् ।उम्मेदवारहरुले विद्यार्थीको हकहितमा काम गर्ने दावीसहित मतदाता फकाउने ध्याउन्नमा छन् ।एमाले निकट अनेरास्ववियुले जगतजंग शाहीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेस निकट नेवि संघले विवेक खड्कालाई अध्यक्षको रुपमा चुनावी मैदानमा उतारेको छ ।
माओवादी निकट अखिल (क्रान्तिकारी) बाट प्रकाश विकले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अखिलनेपाल विद्यार्थी युनियन(समाजवादी) बाट अध्यक्षमाचिनबहादुर सहकारीको उम्मेदवारी परेको छ । यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली स्ववियु अध्यक्षका उम्मेदवार छन् । दल निकटका संगठनलाई चुनौती दिदै मिलन विसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । मध्यपश्चिम विश्वविद्यालयमा चार हजार तीन सय ८३ मतदाता छन् ।८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ ।
२०७३ भदौंमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेस निकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । तर, तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै २०७५ मंसिरमास्ववियु विघटन गरिदिएका थिए ।तत्कालिन रजिष्टारलाई बर्खास्त गरिएको विषयमा स्ववियुले विरोध जनाएपछि कोइरालाले उक्त कदम चालेका थिए । स्ववियु कार्यसमितिको पदावधि साढे दुई वर्ष हुने व्यवस्था छ ।
त्यसपछि २०७६ मा विश्वविद्यालयको उपकुलपती बनेका नन्दबहादुर सिंहले पनि स्ववियु निर्वाचनलाई प्राथमिकतामा राखेनन् । सिंह उपकुलपती बनेको तीन वर्षपछि २०७९ मा निर्वाचनको मिति तय भएको थियो । ५ चैत २०७९ मा तय भएको निर्वाचन तालिकामा विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित उच्च अदालत सुर्खेतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
त्यसपछि पुनः २८ भदौ २०८१ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै २६ भदौमा बायोलोजी समूह पाँचौँ समेस्टरका विद्यार्थी अदालत पुगेपछि निर्वाचन स्थगित भएको थियो । एमयूको केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु नेतृत्वविहिन बनेपछि उच्च अदालत सुर्खेतले गत माघमा २० चैत २०८१ भित्र निर्वाचन सम्पन्न गराउँन विश्वद्यिालयलाई आदेश दिएको थियो । अदालतको उक्त आदेशपछि विश्वविद्यालयले ७ चैतबाट निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ ।






