कांग्रेस फुट्छ भन्नुको कुनै अर्थ छैन : नेता थानी
सुर्खेत, १२ कार्तिक ।
नेपाली कांग्रेसका नेता तथा निर्वतमान प्रतिनिधिसभा सदस्य हृदयराम थानीले कांग्रेस विभाजन हुन लागेको विषयमा सत्यता नरहेको बताएका छन् । मंगलबार गृह जिल्ला सुर्खेतमा देशको वर्तमान राजनीतिक गतिरोतका विषयमा पत्रकारहरुसँग कुरा गर्दै थानीले परिस्थिती अनुसार उठेको विषयमा पार्टी नै फुट्छ भन्नुकोे कुनै अर्थ नभएको दावी गरे ।
कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधर थानीले मुलुक विषम परिस्थितीबाट गुज्रेको बेला काँग्रेस फुटेर होइन एकजुट भएर आगामी फागुन २१ को निर्वाचनलाई सफल बनाउतर्फ लाग्ने बताए । अहिले बिषेश परिस्थितिमा विघठन भएको संसद पुनर्स्थापनाको पक्षमा आफु नरहेको धारण राख्दै उनले आगामी निर्वाचनबाट नै देशलाई निकास दिनुको विकल्प नरहेको दावी गरे ।
जेन–जी आन्दोलनपछि सबै दलहरुमा पुनर्संरचनाको विषय उठेको उल्लेख गर्दै थानीले भने, ‘नियमित महाधिवेशनका विषयमा अहिलेको जटिल अवस्थाको विश्लेषण गरेर केन्द्रीय समितिले निर्णय लेला । त्यसको अलवा अहिले विशेष महाधिवेशनको कुरा उठेको छ । त्यसमा ५३ प्रतिशत साथिहरुले विशेष महाधिवेशनको कुरा उठाउनु भएको छ । यसको सोलुसन केन्द्रीय समितिले निर्णय दिनु पर्छ ।’
देशको परिस्थिति हेर्दा जेनजी आन्दोेलन अगाडी नै वर्तमान सरकारका गृहमन्त्री र प्रधानमन्त्रीलाई देशमा सुशासन कायम गराउन दिएको सुझावमा वेवास्था गर्दा अहिलेको अवस्था सिर्जना भएको उनले दावी गरे । ‘मैले देशको परिस्थिति ठिक छैन् । यसले असर गर्छ भनेर संसदभित्र र बाहिर बारम्बार भन्दै आएको थिए,’ थानीले भने, ‘तर, त्यो सुझाव ग्रहण नगर्दा देशमा जेनजी आन्दोलन भयो ।’





