जेनजी आन्दोलनका सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्‌

नेपालगन्ज, १० मङसिर । 

गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौँमा मृत्युवरण गरेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोजी निवासी सहिद आयुष थापाका परिवारले दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ ।

सहिद आयुष थापाका बुबा ४५ वर्षीय सुशील थापाले भने, “जसले मेरा छोरा लगायतका छोराछोरी माथि गोली हाने त्यसका दोषीलाई छानबिन गरेर कारबाही हुनुपर्छ ।” उनले एक मात्र छोराको स्मरण हुँदा आफूलाई एक्लो भएको महसुस हुने गरेको बताउँदै दोषीमाथि कारबाही भए छोराको आत्माले शान्ति पाउने बताए । “मेरो छोरो त मैले पाउँदिन तर दोषीमाथि कारबाही भए हामीलाई पनि सन्तोष हुन्थ्यो”, थापाले भने ।

नेपालगन्जको आदर्श कलेजबाट दश जोड दुई पास गरेका आयुष पढ्नका लागि छिटै फ्रान्स जाने तयारीमा थिए तर जेनजी प्रदर्शनपछि त्यो सपना मात्रै भयो । थापाले मुलुकमा सुशासन भइदिए हुन्थ्यो भन्ने कुरामा छोराले पहिलेदेखि नै भन्ने गरेको उल्लेख गरे । पढाईमा समेत अब्बल रहेका आयुष खेलकुदमा पनि रुची राख्थे । सिधा र शान्त स्वभावका आयुष आफ्‌नो काममा मात्रै बढी केन्द्रित हुने गरेको बुबाको भनाई छ ।

आफ्‌नो छोराको मृत्यु भएको कुरा दोस्रो दिन मात्रै थाहा पाएका थापाले सुरुमा छोरा अस्पतालको आइसियुमा भएको भन्ने खबर पाएका थिए । भदौ २४ गते बिहान १० बजे मात्रै छोरोको मृत्यु भएको खबर पाएको बताए । “मृत्यु भएको खबर थाहा पाउँदा त म झसङ्गै भए” आयुषका बुबा सुशील थापाले भने । गाउँमा पहिल्यै आयुषको मृत्युको खबर पुगिसकेको रहेछ तर आफूले पछि मात्रै थाहा पाएको उनले बताए । “मृत्युको खबर थाहा पाउँदा संसार नै अन्धकार भएजस्तो भयो, दिमागले राम्रोसँग काम गरेन” भावुक हुँदै उनले भने । अब उनसँग सन्तानमा एक छोरी मात्र छन् ।

आयुषका हजुरबुबा ७२ बर्षीय टोपबहादुर थापाले “दोषीमाथि कारबाही भए यस्ता घटना नदोहोरिन सक्छन्‌” भने । उनले दोषीमाथि कारबाही नभए पुनः यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषी पत्ता लगाएर सजाय हुनुपर्ने माग गरे । “दोषी जोसुकै हुन् मेरा नाति, नातिनालाई गोली हान्नेमाथि छिटोभन्दा छिटो कारबाही हुनुपर्छ” हजुरबुबा थापाले भने ।

सहिद आयुष थापाका मामा अङ्कित थापा सबैभन्दा मिल्ने साथी थिए । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी स्थायी घर भएका उनी अहिले काठमाडौँको टोखामा बस्छन । मिल्ने साथी भएका आयुषका मामा अङ्कितले सहिदले गरेको बलिदान खेर जान नहुने धारणा राखे । उनले अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही आवश्यक भएकामा जोड दिँदै जेनजी आन्दोलनबाट सबैभन्दा पीडित सहिद परिवार भएको बताए ।

मिलनसार स्वभाव भएका सहिद आयुष देशप्रेमी भएको उल्लेख गर्दै उनले सुशासनको पक्षमा दृढ रहेको बताए । जेनजी आन्दोलनमा सहभागी भइरहँदा आयुषसँग अन्तिममा सुरक्षाका विषयमा कुरा भएको स्मरण गर्दै अङ्कितले भने “कति आमाका एउटा मात्रै छोरा वा छोरी छन्, उनले गरेको त्याग खेर जानु हुँदैन ।”

आयुषले विदेशमा गएर पढेर त्यहाँको सीप ल्याएर नेपालमा नै उद्यम गर्ने सपना देखेको उल्लेख गर्दै साथी समेत रहेका मामा अङ्कितले भान्जाले देखेको सपना वास्तविकतामा परिणत हुन नपाएको गुनासो गरे । “हामी मामा भान्जा मात्रै थिएनौँ, साथीसाथी पनि हौंँ, सँगै कोठामा बस्थ्यौं र सँगै काम गरिरहेका हुन्थ्यौँ तर अहिले त म एक्लो जस्तै भएको छु” मामा अङ्कितले भने ।

जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका परिवारलाई सरकारका तर्फबाट किरिया खर्चका लागि रु. पाँच लाख र अन्य रु. १० लाख गरेर रु. १५ लाख प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले आयुष थापा र शुलभराज श्रेष्ठको सम्झनामा सहिद गेट र आयुष सुलभ मार्गका रूपमा सडकको नामाकरण गर्न लागिएको बताए । सहिद थापा नेपालगन्ज–१ का रहेकाले वडा कार्यालयले गेट निर्माण र सडकको नामाकरण गर्न लागेको उनको भनाइ छ ।

बाँकेको खजुरारोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा सहिद गेट निर्माण गरिने तयारी सुरु भएको वडाध्यक्ष रिजालले बताए । “वडाबाट निर्णय गरिसकेको छौँ, माघमा रकम रकमान्तर गरेर सहिद गेट र राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि तयारी गर्दैछौँ” उनले भने । गेट निर्माण र प्रतियोगिताका लागि करिब रु १५ लाख बजेट आवश्यक हुने उल्लेख गर्दै वडाध्यक्ष रिजालले सो कामबाट जेनजी आन्दोलनका सबै सहिदप्रति सम्मान हुने धारणा व्यक्त गरे । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर नेपालगन्ज–१ का  आयुश थापा र सुलभ श्रेष्ठको मृत्यु भएका थिए । दुबै जना एउटै वडाका सहिद हुन ।

जेनजी आन्दोलनका सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्‌

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जेनजी आन्दोलनका सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्‌

निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *