भारत भ्रमणमा उठाउनुपर्ने मुद्दा सदनमार्फत प्रस्तुत गर्दै सांसद ढकालको आग्रह
बाँके,९ साउन।
बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सूर्य ढकालले आसन्न भारत भ्रमणलाई अवसरको रूपमा उपयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले प्रधानमन्त्रीको छिमेकी मुलुक भारत भ्रमण निकट भविष्यमा तय हुँदै गरेको सन्दर्भमा भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै त्यस भ्रमणलाई राष्ट्रिय तथा स्थानीय हितका मुद्दाहरू समावेश गरेर परिणाममुखी बनाउनुपर्ने धारणा राखे।
सांसद ढकालले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौगोलिक तथा आर्थिक पक्षबाट निकै गहिरो, जटिल र महत्वपूर्ण रहेको स्मरण गराए। तर, यस्तो सम्बन्धको बावजूद पनि नेपाली जनता अझै पीडित रहेको उल्लेख गर्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले भारत भ्रमणका क्रममा विशेष गरी बाँके क्षेत्रका महत्वपूर्ण सरोकारका विषयहरू उठाउनुपर्ने माग गरे। ती विषयहरूमा नेपालगञ्ज–दिल्ली हवाई उडानको अनुमति प्राप्ति, नेपालगञ्ज भन्सार नाकालाई सुक्खा बन्दरगाहको रूपमा विस्तार तथा सञ्चालन र राप्ती सोनारी गाउँपालिकाको कुसुमदेखि गङ्गापुरसम्म राप्ती नदीको तटबन्धनको विषयलाई प्राथमिकताका साथ भारतसँगको छलफलको एजेन्डामा राख्नुपर्ने उल्लेख गरे।
ढकालले दुई देशबीचको सम्बन्धलाई “रोटी–बेटीको सम्बन्ध”का रूपमा वर्णन गर्दै जनस्तरमा आत्मीयता कायम रहेको जनाए। उनले सन् १९४७ पछि औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको र १९५० को शान्ति तथा मैत्री सन्धिले खुला सिमाना, नागरिक आवागमन, रक्षा र व्यापारको ढोका खोलिदिएको स्मरण गरे। यद्यपि पछिल्लो समय भारतले नेपालमा स्थायित्व र समृद्धिको चाहना नगरेको जनगुनासो बढिरहेको उल्लेख गर्दै उनले भारतको बारम्बारको हस्तक्षेपप्रति पनि चिन्ता व्यक्त गरे।
सांसद ढकालले नेपाल–भारत सम्बन्धमा सीमाविवाद, शक्ति असन्तुलन र राजनीतिक मतभेदजस्ता चुनौतीहरू भए तापनि दुवै देशले वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिए। भारत नेपालको प्रमुख व्यापार साझेदार हो भने नेपालले विद्युत निर्यात तथा अन्य परियोजनामा भारतसँग सहकार्य गर्दै आएको तथ्य पनि उनले प्रस्तुत गरे। कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता भूभागका विवादले द्विपक्षीय सम्बन्धमा तनाव सिर्जना भएको भन्दै उनले स्थायी समाधानका लागि गम्भीर संवाद आवश्यक रहेको बताए।
अन्त्यमा, सांसद ढकालले नेपाल सरकारले भारत भ्रमणलाई अवसरका रूपमा लिएर राष्ट्रिय हित, समावेशी विकास र सीमावर्ती क्षेत्रका जनताको अपेक्षा सम्बोधन गर्ने गरी रणनीति तय गर्नुपर्नेमा जोड दिँदै सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।




