विद्यार्थी नेता विष्टले अनाथ बालबालिकालाई स्टेसनरी वितरण गर्दै मनाए जन्मदिन
दुर्गा बिष्ट
सल्यान ,९ असार।
सल्यान, बनगाड कुपिण्डे नगरपालिका–५ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय, शंखपिपलमा अध्ययनरत अनाथ तथा टुहुरा बालबालिकालाई विद्यार्थी नेता अजय विष्टले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन्।
अखिल (क्रान्तिकारी) का कर्णाली प्रदेश उपाध्यक्ष तथा बनगाड क्याम्पस, सल्यानका पूर्व सभापति अजय विष्टले आफ्नो जन्मदिन फजुल खर्च नगरी सामाजिक सेवामा खर्च गर्ने उद्देश्यले विद्यालयका बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेका हुन्।
उनले त्रिभुवन जनता माविको स्वावलम्बी अक्षकोष खातामा रु. ५५५५ समेत जम्मा गरिदिएका छन्।
विद्यालयका सहायक प्रधानाध्यापक प्रसान्त सुनारले यस्तो पुण्य कार्यका लागि विष्टलाई आभार प्रकट गर्दै जन्मदिनलाई सामाजिक सद्भावमा रूपान्तरण गर्नु प्रेरणादायी भएको बताए। “फजुल खर्च कटौती गर्दै शिक्षामा टेवा पुर्याउने यो कार्य अत्यन्त सराहनीय छ,” उनले भने।
विद्यालय परिवारले अजय विष्टद्वारा देखाइएको यो सामाजिक उत्तरदायित्वको भावनालाई प्रशंसा गर्दै अन्य युवाहरुलाई पनि यस्तै प्रेरणा लिन आग्रह गरेका छन्।





