अनर्वा तालको सम्भावना: संरक्षण र लगानी भए चरा अवलोकन केन्द्र बन्छ
बर्दिया,६ साउन।
बर्दियाको राजापुर नगरपालिका–८ मा अवस्थित अनर्वा ताल पर्यटकीय सम्भावनाले भरिपूर्ण छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र बादलको मनमोहक प्रतिबिम्बले जो–कोहीलाई लोभ्याउने यो ताल जलपन्छीहरूको आकर्षक बासस्थानसमेत हो। स्थानीय बासिन्दा हिरालाल थारु भन्छन्, “राज्यले चासो दिँदै संरक्षण र लगानी गर्न सके अनर्वा ताल चरा अवलोकनको प्रमुख केन्द्र बन्न सक्छ।”
अनर्वा तालको वरिपरि पिकनिक स्थल, पार्क, भ्युटावरजस्ता पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अपेक्षा स्थानीयले राखेका छन्। उनीहरूका अनुसार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने ठूलो सम्भावना भए पनि तालको संरक्षण र पूर्वाधार निर्माणमा राज्यको उपेक्षा देखिएको छ।
राजापुर नगरपालिकाले तालको संरक्षणका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरेको भए पनि बजेट अभावले काम अगाडि बढ्न सकेको छैन। वडा नम्बर ८ का अध्यक्ष राजेश थारुका अनुसार, “डिपिआरको करिब ८० प्रतिशत कार्यान्वयन हुन बाँकी छ। स्थानीय सरकारको स्रोत मात्रले यो सम्भव छैन, प्रदेश र संघीय सरकारको बजेट सहयोग अनिवार्य छ।”
स्थानीयको धारणा अनुसार बर्दियाको बढैया ताल माछाका लागि चर्चित भएजस्तै अनर्वा ताललाई घोङ्गीका लागि चिनाउन सकिने सम्भावना छ। तर त्यसका लागि तालको सरसफाई र भौतिक पूर्वाधार निर्माण अपरिहार्य छ।
संरक्षण, प्रचार–प्रसार र लगानीको उचित संयोजन हुने हो भने अनर्वा ताल बर्दियाको अर्को पर्यटकीय गन्तव्य बन्नेमा कुनै शंका छैन। अब राज्यको ध्यान र दिगो योजनाको अपेक्षा गरिएको छ।





