बर्दिया निकुञ्जमा पर्यटकको चाप बढ्यो, बाघ हेर्न नेपाली पर्यटकको आकर्षण उल्लेख्य

५, साउन २०८२
बर्दिया ।सहजै बाघ देख्न सकिने स्थलको रूपमा प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ। कोरोना महामारीपछिको प्रभाव कम हुँदै गएसँगै निकुञ्ज भ्रमणमा रुचि राख्ने पर्यटकहरूको संख्या हरेक वर्ष बढिरहेको तथ्याङ्कले देखाएको छ।

विगत आर्थिक वर्ष २०८१/८२ मा कुल २८ हजार ६७ जना पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो वर्ष २०८०/८१ मा यो संख्या २६ हजार १३१ थियो। यसरी हेर्दा एकै वर्षमा करिब दुई हजार जना बढीले निकुञ्ज भ्रमण गरेका छन्। तीमध्ये १९ हजार १० जना नेपाली, १ हजार ५४० जना सार्क देशका र ७ हजार ५१७ जना विदेशी पर्यटक रहेका छन्।

पर्यटक सङ्ख्या वृद्धिसँगै राजस्व संकलनमा पनि उछाल आएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्र पर्यटक प्रवेश शुल्कबाट तीन करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ। अघिल्लो वर्ष यो रकम दुई करोड ८४ लाख थियो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामका अनुसार पछिल्लो समय नेपालीहरूमा पनि निकुञ्ज घुम्ने र वन्यजन्तु अवलोकन गर्ने रूचि बढ्दो छ। “पहिले विदेशी पर्यटक मात्रै निकुञ्ज घुम्थे भन्ने धारणा हट्दै गएको छ,” उनले बताए, “अहिले नेपालीहरू पनि बाघ, गैंडा, चितुवा, हात्ती जस्ता जनावर हेर्न आउने क्रम तीव्र छ।”

निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकले प्रवेशका लागि १ सय रुपैयाँ तिर्नुपर्छ भने सार्क मुलुकका पर्यटकले ७५० र अन्य विदेशीले १,५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

निकुञ्जले जनाएअनुसार पर्यटनको अफ सिजन भए पनि फाटफुट रूपमा पर्यटकको आगमन जारी छ। विशेषतः सार्वजनिक बिदाका दिनहरूमा हात्ती सवारी, गोही प्रजनन केन्द्र अवलोकन, जङ्गल सफारी र जङ्गल वाल्कमा सहभागी हुन आउने पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिन्छ।

वन्यजन्तु, प्रकृति र रोमाञ्चक साहसिक यात्राको मिलनस्थल बनेको बर्दिया राष्ट्रिय निकुञ्ज अब आन्तरिक पर्यटकका लागि पनि प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

 

बर्दिया निकुञ्जमा पर्यटकको चाप बढ्यो, बाघ हेर्न नेपाली पर्यटकको आकर्षण उल्लेख्य

बृहत विद्यालय सुरक्षा मापदण्ड सम्वन्धी तालिम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds