दाङको वनघुस्रीमा श्रीबालगोपाल मन्दिर र रामानुजपीठ स्थापना, धार्मिक पर्यटकीय स्थलको विकासतर्फ सार्थक पहल
दाङ ,४ साउन।
दाङको लमही नगरपालिका–७ स्थित वनघुस्रीमा वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रीबालगोपाल मन्दिर एवम् रामानुजपीठ स्थापना गरिएको छ। पूर्व–पश्चिम राजमार्गदेखि करिब २०० मिटर दक्षिणमा अवस्थित यस पवित्र स्थललाई धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित मन्दिर निर्माण कार्य सम्पन्न भएको हो।
वि.सं. २०८० साल भदौ २० गते जन्माष्टमीका अवसरमा मन्दिरको औपचारिक समुद्घाटन गरिएको थियो। मन्दिरसँगै धर्मशाला समेत निर्माण भइसकेको छ भने निकट भविष्यमा गौशाला, पाठशाला, यज्ञशाला, श्रीसधाकृष्ण सिसमहल र वृन्दावन वाटिका निर्माणको योजना अघि सारिएको छ।

यस कार्यको नेतृत्व श्रीवैष्णव युवा परिषद नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयका सह–प्राध्यापक डा. रघुनाथ नेपालले लिएका छन्। वैदिक धर्म र संस्कृतिको संरक्षणमा क्रियाशील रहेका डा. नेपालको प्रेरणा र समर्पणमा स्थानीय भक्तजन, समाजसेवी, धार्मिक अगुवा तथा नगरवासीको सकृय सहयोगमा मन्दिर निर्माण कार्यले गति लिएको हो।
स्थानीय धार्मिक अगुवा बुद्धिराम चौधरी (विष्णुप्रसाद श्रीवैष्णवदास) र जंगबहादुर चौधरी (जनार्दनप्रसाद श्रीवैष्णवदास) को प्रारम्भिक योगदानबाट सन् २०३० सालदेखि नै यस क्षेत्रमा धर्मसंरक्षणार्थ सत्सङ्ग र धार्मिक गतिविधिहरू सञ्चालित हुँदै आएका थिए।

यस मन्दिर स्थापना र विकास कार्यमा लमही नगरपालिका, वडानम्बर ७ कार्यालय तथा प्रदेश सरकारबाट आंशिक आर्थिक सहयोग भए पनि पर्याप्त सहयोगको खाँचो रहेको वैदिक धर्म परिषद् नेपाल, बाँकेका जिल्ला सचिव एकराज शर्माले बताएका छन्।
मन्दिर परिसरको करिब एक बिगाह क्षेत्रफलमध्ये केही भाग स्थानीय कार्यालय तथा जनहितका संरचना निर्माणमा समर्पित गरिएको छ। बाँकी क्षेत्रलाई व्यवस्थित गर्दै भविष्यमा भारत जाने यात्रुहरूको लागि विश्रामस्थल, सत्सङ्ग केन्द्र र धार्मिक साधना गर्ने थलोको रूपमा विकास गर्ने योजना बनाइएको छ।
सह–प्राध्यापक डा. नेपालका अनुसार आगामी श्रावण ३१ गते, कृष्ण जन्माष्टमीका दिन एक भव्य धार्मिक कार्यक्रम आयोजना गरिनेछ। उनले वैदिक सनातन धर्म, संस्कृति, दर्शन र परम्पराको उज्यालो फैलाउने यस पिठलाई देश–विदेशका श्रद्धालु र धर्मप्रेमीहरूले दर्शन, सहयोग र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

दाङको वनघुस्रीमा स्थापित श्रीबालगोपाल मन्दिर तथा रामानुजपीठले नेपालका धार्मिक स्थलहरूको सूचीमा उल्लेखनीय स्थान पाउने सम्भावना राख्दछ। यसले दाङ र आसपासका क्षेत्रहरूलाई धार्मिक पर्यटनको केन्द्र बनाउने आशा गरिएको छ।






