व्यावसायिक कुखुरा पालनबाट मनग्य आम्दानी 

बाँके, ५ पुस । 

“पाँच लाखको लगानीबाट सुरु गरेको यो व्यावसायले यो उचाइमा पुर्याउला भनेर मैले सोचेको पनि थिइन ।” एचपिटी पोल्ट्री फार्मकी सञ्चालक सरिता थापाले बताइन । उनका अनुसार उक्त फार्ममा पालिएका स्थानीय कुखुरा बिक्री गर्दा महिनामा ढाइदेखि तीन लाखसम्मको आम्दानी हुने गर्दछ ।

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा विगत ६ वर्षदेखि स्थानीय प्रजातिका कुखुरा पाल्दै आउनु भएकी ३८ वर्षीया कृषि उद्यमी महिला सरिता थापाको दैनिकी बिहान साढे ४ बजेदेखि राति एघार बजेसम्म हुने गर्दछ । साढे १३ कठ्ठामा कुखुरा पालन गर्नुभएकी सरिताका अनुसार अन्य प्रजातिका कुखुराका तुलनामा स्थानीय प्रजातिका कुखुरा पाल्न सजिलो हुन्छ । झट्ट रोगले पनि नसमात्ने र औषधिका रूपमा लसुन, टिमुर, बेसारजस्ता घरेलु जडिबुटीको सेवन गराएर पनि निको पार्न सकिने उनले बताइन ।

वि.सं. २०७६ सालमा व्याबसायिक रूपमा नै एचपिटि पोल्ट्री फार्म दर्ता गरेर सरिताले स्थानीय प्रजातिका कुखुरा पाल्दै आउनुभएको छ । सुरूवातमा पाँच लाखको लगानी लगाएर फार्ममा कुखुरा पाल्न सुरू गरेपनि हाल एकभन्दा माथिको खर्चमा र्फामा लगानी भएको उनको भनाइ छ । “डरैडरमा भएपनि सुरुमा जे परेपर्ला भनेर आँट गरेर नै पाँच लाखको लगानीमा मैले कुखुरा पाल्ने निधो गरेर यो व्यावसायमा हात हालेकी थिएँ ।” उनले भनिन, “विस्तारै व्यावसाय फस्ट्याउँदै गएपछि भने यसैमा लगानी लगाउन मन लाग्यो र दर्ता गरेपछि भने झण्डै एक करोडभन्दा माथिको लगानी लगाइसकेकी छु ।”

आफ्‌नै जग्गामा कुखुरा व्यावसाय गरेको हुनाले जग्गाको भाडा तीर्न नपरेको हुँदा आम्दानीमा सहयोग पुगेको सरिताले बताए, “हामीले आफ्‌नै जग्गामा यो व्यावसाय सञ्चालन गरेको हुनाले पनि जग्गा भाडाको पैसा जोगिएको छ ।” उनले भनिन्“हामीले कुखुराको चल्ला यही आफैँले उत्पादन गर्ने गर्छौँ, अण्डा र चल्लाबाट पनि आम्दानी हुने गरेको छ ।” सरिताका अुनसार कडकनाथ, घाटी खुइले, उल्टे, साकिनी, सोनालीजस्ता स्थानीय प्रजातिका कुखुरा गरी हाल उनको फार्ममा चार हजार प्रजातिका स्थानीय कुखुरा छन् ।

म्यानेजमेन्टमा स्नातक तहसम्मको पढाई पढ्नु भएकी सरिताले डेढ वर्ष जति हिमालय बैङ्कमा काम गरेपनि यो व्यावसायमा लाग्नका लागि घर परिवार र विशेष गरी ससुरा र श्रीमान्‌ले प्रेरित गरेको उनले बताइन्  । पढाइ एकातिर र व्यावसाय अर्कातिर भएर कृषि उद्यमी महिलाका रूपमा चिनिनु भएकी सरिताले कुनै पनि काममा सफल हुनका लागी निरन्तरता, ईमानदारीता र कडा परिश्रमसहित मेहेनत गर्नुपर्ने बताइन्  । “कुनै समय थियो अब त सक्दिन होला भन्ने तर मैले मेहेनत गर्न छाडिन । निरन्तर यसैमा आफ्‌नो सबै समय र दिमाग लगाएँ आज कृषि उद्यमी महिलाका रूपमा चिनिएकी छु,” उनले भनिन्।

कुखुरा बिरामी हुँदा भनेको समयमा भेटनेरी डक्टन नआई दिने र आएपनि कुखुरा अलि धेरै नै बिरामी भइसक्ने भएको हुनाले सरिता आफैँले भेटनेरी शिक्षा पढेको पनि बताइन । हिजोआज सरिता आफँैले कुखुरा बिरामी हुँदा चेक जाँच गर्ने र आवश्यक औषधि प्रयोग गर्ने गरेको सुनाइन। सरिताको फार्ममा स्थानीय प्रजातिका कुखुरा मात्रै छैनन् । उनले आफ्‌नो फार्ममा बट्टाई, लौकाट, कालिजलगायतका पक्षि पनि व्यावसायिक रूपमा पालेका छन् ।

अठतिस वर्षको उमेरमा नै एउटा सफल कृषि उद्यमी महिलाको नाममा चिनिनु भएकी सरिताले फर्किएर ती दिन सम्झंदै भनिन, “विगत सम्झिए भने मलाइ पत्याएरै लाग्दैन । दोमन भएर सुरु गरेको व्यावसायले आज सफल व्यावसायी बनाउँदा खुशीको त सीमा नै छैन ।” उनले भनिन् , उक्त व्यावसायबाट नै सरिताको सबै घर खर्च, कुखुराका लागि दानापानी र दुई सन्तानको लालनपालन सबै चल्दै आएको छ ।

व्यावसाय सञ्चालन गरेपछि एक पटक मात्र काहोलपुर नगरपालिकाबाट बट्टाई पालनका लागी भनेर रु ५० हजारको अनुदान बाहेक हालसम्म अरू कुनै ठूलो रकम दाबी गरेर सरकारी अनुदान नलिएर नै आफ्‌नै लगानीमा कुखुरा पाल्दै आएको उनले बताइन्  । गर्न सके आफ्‌नै देशमा, आफ्‌नै माटोमा धेरै सम्भावना र भविष्य भएको बताउने सरिता विदेशीनै युवाका लागि एक प्रेरणाको श्रोत हुन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds