काम गरेर पैसा नपाएका १११ मजदुरको पीडा : ‘ठेकेदार सम्पर्कविहीन, श्रमको मूल्य कहिले पाउने?’

गोल्डेन बुढा

जुम्ला ,३ साउन।

जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटका १११ जना मजदुर ठेकेदारले पारिश्रमिक नदिएपछि न्यायको खोजीमा छन्। निर्माण कार्य सम्पन्न भएर योजना सञ्चालनमा आइसक्दा पनि उनीहरू अझै मजदुरीको भुक्तानी नपाएको गुनासो गरिरहेका छन्।

डोल्पा र जुम्लामा निर्माण कार्य गरेका मजदुरहरू अनुसार छिमेकी जिल्ला जाजरकोटका ठेकेदार राजेन्द्र रसाइलीले दुई योजना सम्पन्न गराएर पनि कामदारलाई पारिश्रमिक दिएका छैनन्। दलबहादुर नेपालीका अनुसार, २०८० सालमा डोल्पाको जगदुल्ला गाउँपालिका–२ झ्यालकोटमा भवन निर्माण कार्य र २०८१ सालमा जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँमा खानेपानी आयोजना निर्माणमा उनीहरूले काम गरेका थिए।

‘दुवै आयोजना पूर्णरूपमा सम्पन्न भइसकेका छन्, योजना सञ्चालनमा छन्, तर हामीले अहिलेसम्म ज्वाला पाएका छैनौं,’ नेपालीले बताए। उनका अनुसार, डोल्पाको योजनाबाट ४० जना र जुम्लाको योजनाबाट ७१ जना मजदुरले काम गरेका थिए। निर्माण कार्य सकिएको महिनौं भइसक्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि मजदुरहरूले ठगिएको महसुस गरेका छन्।

‘जगदुल्लाको कामबाट ३ लाख ५० हजार र सिंजाको कामबाट ६ लाख ९५ हजार रुपैयाँ ठगिएको छ,’ दलबहादुरले भने, ‘पहिले फोन गर्दा घण्टी जान्थ्यो, उठ्दैनथ्यो। अहिले त फोनै लाग्दैन।’

कामदारहरूले ठेकेदार रसाइलीलाई खोजी गरी कारबाही गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्। ‘हामीलाई श्रमको मूल्य चाहिएको हो,’ उनले भने, ‘काम लिएर पैसा नदिने नियतले सम्पर्कविहीन हुनु सरासर ठगी हो।’

स्थानीयस्तरमा छलफल र दबाब बढ्दै गए पनि ठेकेदारको अवस्था र ठेगाना पत्ता नलागेपछि मजदुरहरू अन्योलमा छन्। ‘योजना सम्पन्न भएपछि यस्तो व्यवहार हुनु गम्भीर हो,’ दलबहादुरले भने, ‘सरकारले हाम्रो पीडा सुनेर न्याय दिनुपर्छ।’

काम गरेर पैसा नपाएका १११ मजदुरको पीडा : ‘ठेकेदार सम्पर्कविहीन, श्रमको मूल्य कहिले पाउने?’

बागेश्वरी एकेडमीद्धारा कक्षा ११ को स्वागत तथा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds