जेन–जी नामको अराजक आन्दोलन खरानी पन्छाएर सेवा सुरु गर्दै सरकारी कार्यालय अराजकता मच्चाउनेको खोजीमा प्रहरी

ओम शाही
सुर्खेत, ३१ भदौं ।
२३–२४ भदौको जेन–जी आन्दोलनका कारण क्षति पुगेका कर्णाली प्रदेशका सरकारी कार्यालयले सेवालाई निरन्तरता दिन थालेका छन् । तोडफोड र आगजनीका कारण क्षति पुगेका प्रदेश सरकार मातहतका निकायले वैकल्पिक उपाय अपनाएर सेवालाई निरन्तरता दिन थालेका हुन् । आगजनी र तोडफोडबाट खरानी भएका भौतिक संरचना पन्छाएर कर्मचारीहरुले सेवा विस्तार गर्ने प्रयास गरिरहेका छन् ।

कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई चुस्त र पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले सोमबारदेखि पुरानो भवनबाट सेवा प्रारम्भ गरेको छ । कार्यालयमा गरिएको तोडफोड र आगजनीले लेखासम्बन्धी सम्पूर्ण कागजी दस्तावेज र उपकरणमा व्यापक क्षति पुगेको छ । जसका कारण तत्काल प्रदेश सरकारको समग्र वित्तीय व्यवस्थापनको पाटो रोकिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीले आगजनीका कारण तत्काल कार्यालयको भवनबाट सेवा दिन सकिने अवस्था नभएपछि पुरानो भवनबाट सेवा प्रारम्भ गरिएको बताए ।
उनका अनुसार तत्कालका लागि कर्मचारीको तलव भुक्तानी हुनेछ । उनले कार्यालयको प्रहरी मुचुल्का तयार भएको बताउँदै क्षतिको आँकलन पश्चात पुर्ननिर्माणको काम सुरु हुने उनले बताए । कार्यालयलाई पूर्ववत अवस्थामा ल्याउने प्रयास भइरहेको सुवेदीले बताए । सुवेदीका अनुसार आन्दोलनकारीले कार्यालय भवनमा आगजनी गर्दा वित्तीय अभिलेख राखिएका कक्ष जलेर नष्ट भएका छन् । ‘पुराना आय–व्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सम्पूर्ण फाइल जलेका छन्,’ सुवेदीले भने ।


भवनबाहेक सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण सामग्री पुनः बनाउनुपर्ने र खरिद गर्नुपर्ने अवस्था रहेकाले कार्यालयबाट नियमित सेवा प्रवाह हुन अझै केही समय लाग्ने उनले बताए । कार्यालयका ९ वटा मोटरसाइकल र दुई वटा चारपाङ्ग्रे गाडी आगजनीबाट पूर्णरुपमा नष्ट भएको पनि सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले संकलन गर्ने कर, राजस्व र अन्य आम्दानीको लेखाजोखामा समेत असर परेको छ ।
त्यस्तै, कार्यालयबाट महालेखा परीक्षकको कार्यालयलाई पठाइने वार्षिक विवरण र लेखा परीक्षण गर्न लागि आवश्यक कागजात नष्ट भएका छन् । आगजनीका कारण विद्युत, इन्टरनेट, टेलिफोन र खानेपानी सेवा पूर्णरुपमा अवरुद्ध छन् । त्यस्तै, कर्णाली प्रदेशसभाले पनि आफ्‌ना सेवालाई निरन्तरता दिने प्रयास गरेको छ । आगलागी र तोडफोडबाट बचेका केही कोठामा बसेर कर्मचारीहरुले सेवा प्रारम्भ गरेका हुन् । प्रदेशसभाको सचिव जिवराज बुढाथोकीले आगलागीबाट बचेका कोठाबाट सेवा प्रारम्भ गर्ने प्रयास भएको बताए ।
उनका अनुसार प्रदेशसभा परिसरमा रहेका सम्पूर्ण भवनहरुमा आगलागी तथा तोडफोडले भौतिक संरचना र सम्पूर्ण कागजात पूर्णरुपमा नष्ट भएका छन् । ‘प्रदेशसभामा क्षति नपुगेका संरचना कुनैपनि छैनन् । कागजी दस्तावेज जलेर नष्ट भएका छन् । सदनभित्र, पार्टी संसदीय दलका कार्यालय, समितिका कार्यालय, प्रदेशसभाको सचिवलाय लगायतका संरचनामा व्यापक क्षति भएको छ,’ सचिव बुढाथोकीले भने ।

क्षतिग्रस्त संरचनामा सरसफाई भइरहेको उल्लेख गर्दै प्रहरी समक्ष क्षतिको आँकलनका लागि मुचुल्का गरिदिन अनुरोध गरिएको उनले बताए । प्रदेशसभाका सार्वजनिक सम्पत्ति चोरी तथा लुटपाटमा संलग्नहरुको खोजीकार्यसमेत सुरु गरिएको सचिव बुढाथोकीले बताए । जेनजी समूहको आन्दोलनका क्रममा सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै प्रदेशसभा र सचिवालयबाट सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरीमा संलग्न व्यक्तिहरुको पहिचान र चोरी भएका सामग्रीको खोजी कार्य सुरु भएको उनले बताए । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै सभा र सभासचिवालयबाट आन्दोलनको फाइदा उठाई सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, लुटपाट गर्ने तथा चोरीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको जनाएको छ ।
त्यस्तै, संघीय सरकार माहतहतमा रहेको नापी कार्यालय सुर्खेतले पनि सेवा प्रारम्भ गर्ने प्रयास गरिरहेको छ । नापी कार्यालय सुर्खेतका प्रमुख दिनेश भण्डारीले क्षतिग्रस्त संरचनाको सफाई कार्य भइरहेको बताए । जग्गा सम्बन्धिका सम्पूर्ण दस्तावेजहरु नष्ट भएकाले तत्काल कार्यालयबाट सेवा दिन सकिने अवस्था नरहेको भण्डारीले बताए ।
‘कार्यालयमा भएको आगजनीका कारण जग्गा सम्बन्धिका सम्पूर्ण दस्तावेजहरु जलेका छन् । कतिपय कामै नलाग्ने गरी च्यातिएका छन् । तथ्यांक पुनर्स्थापना गर्न नापी विभागसँग समन्वय भइरहेको छ । कतै डाटा बाँकी छन् कि भनेर खोज्ने कार्य पनि गरिरहेका छौं । सेवा नियमित हुन अझै केही समय लाग्ने देखिन्छ,’ कार्यालय प्रमुख भण्डारीले भने । जेन–जी आन्दोलनका कारण नागरिकलाई जग्गा–जमिनसम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक सेवा उपलब्ध गराउँदै आएको कार्यालय पूर्ण रूपमा सेवाविहीन बनेको छ । नागरिकको प्रत्यक्ष जनजीविकासँग सरोकार राख्ने जमिन व्यवस्थापन र स्वामित्व प्रमाणीकरणका कारण नापी कार्यालयलाई सेवाग्राहीद्वारा खोजिने कार्यालयमध्ये एक मानिन्छ ।

अराजकता मच्चाउनेको खोजीमा प्रहरी
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि एक्सन लिन सुरु गरेको छ । भदौ २३ र २४ गते सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरुसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरु उपलब्ध गराउन सुर्खेत प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरुको खोजि कार्य सुरु गरिएको बताए ।
उनले निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरुलाई कानुनी दायरामा ल्याएर कसुरअनुसार कारवाही गरिने बताए । सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र अनियमिताको विरुद्धमा जेन–जीहरूले २३ भदौदेखि थालेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गरेर सोही दिन १९ जनाको मृत्यु भएको थियो ।
त्यसको बदला लिन दोस्रो दिन (२३ भदौं) सडकमा उत्रिएको जेन–जी समूहले कर्णालीका महत्त्वपूर्ण सरकारी निकायका दस्तावेजहरू ध्वस्त बनाएको थियो । यसका साथै विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको निजी सम्पत्तिमा पनि अराजक युवाहरुको हुलले व्यापक क्षतिसँगै लुटपाट गरेको थियो ।

जेन–जी नामको अराजक आन्दोलन खरानी पन्छाएर सेवा सुरु गर्दै सरकारी कार्यालय अराजकता मच्चाउनेको खोजीमा प्रहरी

सम्पादकीय : क्षतिग्रस्त कार्यालयका सेवा तत्काल सुचारु

जेन–जी नामको अराजक आन्दोलन खरानी पन्छाएर सेवा सुरु गर्दै सरकारी कार्यालय अराजकता मच्चाउनेको खोजीमा प्रहरी

भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds