जुम्लामा दुई महिलाको झुण्डिएको अवस्थामा मृत्यु

गाेल्डेन बुढा
जुम्ला,१ पुस।
जुम्लामा मंगलबार दुई अलग–अलग स्थानमा दुई महिलाको झुण्डिएको अवस्थामा मृत्यु फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।तातोपानी गाउँपालिका–२ जर्मीमा १४ वर्षीया किशोरी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जर्मीका वमबहादुर रावलकी छोरी पुष्पा रावल (१४) काठको कडिमा रातो दोपट्टाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
मंगलबार बिहान करिब साढे ९ बजे बाजे धनबिर रावलले देखेपछि वडा अध्यक्ष चन्द्रमान बुढाले प्रहरीलाई जानकारी गराएका थिए।सूचना पाउनासाथ प्रहरी चौकी लिताकोट र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।यस्तै, मंगलबार दिउँसो गुठिचौर गाउँपालिका–३ स्थित बैसेनी जंगलमा देवकी रावल रुखमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्। घरदेखि करिब १० किलोमिटर टाढा पर्ने जंगलमा शव फेला परेको जानकारी वडा अध्यक्ष इन्द्र बुढाले दिएका हुन्।
झारज्वाला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको प्रहरीले जनाएको छ।दुवै घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।






