कर्णालीमा तीन सय ४० जनामा डेङ्गी संक्रमण

ओम शाही

सुर्खेत, २९ असोज ।

कर्णाली प्रदेशमा तीन सय ४० जनामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गी संक्रमण पुष्टि भएको छ । जसका कारण दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यो तथ्यांक गएको बैशाखदेखि असोज २५ गतेसम्मको हो । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

विशेष गरी तराईका जिल्लामा बढी देखिने डेङ्गी विस्तारै चिसो मौसम हुने पहाडी तथा हिमाली जिल्लामा समेत फैलदै गएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार जलवायु परिवर्तन, मानिसहरूको आवागमन, अव्यवस्थित शहरीकरण लगायतका कारण लामखुट्टेलाई सहजै बाँच्ने वातावरण बन्दै गएपछि चिसो मौसम हुने ठाउँमा पनि डेङ्गी संक्रमण बढ्दै गएको हो ।

स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा सबैभन्दा धेरै सुर्खेतमा दुई सय ४८ जनामा डेङ्गी संक्रमण देखिएको छ । प्रदेश राजधानी भएकाले मानिसको बसोवास धेरै हुनु, सुविधा सम्पन्न अस्पतालको पहुँचले पनि सुर्खेतमा यसको संक्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लागत तथ्यांक अनुसार मुगुमा एक, जुम्लामा चार, कालिकोटमा आठ, दैलेखमा ५८, जाजरकोटमा चार, रुकुम पश्चिममा सात, सल्यानमा १० जनामा डेङ्गी सक्रमण पुष्टि भएको छ ।

यो तथ्यांक डेङ्गी पुष्टि भई कर्णाली प्रदेश अस्पताल र जिल्लास्थित अस्पतालमा उपचार गराएकाहरुको मात्रै हो । निजी स्वास्थ्य संस्थामा संक्रमण पुष्टि भएकाहरुको तथ्यांक निर्देशनालयसँग छैन । सरकारी अस्पतालमा आएकाहरुको मात्रै तथ्यांक संकलन हुने हुँदा समुदायस्तरमा डेङ्गीको वास्तविक अवस्था पत्ता लगाउन निकै चुनौती देखिन्छ ।

निर्देशनालयका फोकल पर्सन श्याम आचार्यले वर्षातको समयमा डेङ्गी संक्रमणको जोखिम उच्च हुने बताउँछन् । डेङ्गी सार्ने जातको लामखुट्टे बस्ने स्थानको बृद्धि हुँदै जादा विशेष गरी वीरेन्द्रनगर यसको रेडजोनमा पर्ने गरेको उनले बताए । योसँगै डेङ्गी संक्रमण गराउने लामखुट्टेको जोखिम कर्णालीका १० वटै जिल्लामा रहेको उनको भनाई छ ।

उनका अनुसार लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

‘हरेक वर्ष साउन महिनाबाट डेंगी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचार–प्रसार र समुदाय परिचालनमार्फत डेङ्गी संक्रमण नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको भएपनि जोखिम भने कायमै छ,’ उनले भने, ‘डेङ्गी नियन्त्रणको मूल आधार लामखुट्टेको प्रजनन्‌स्थल खोजेर नष्ट गर्नु हो ।’ एडिज लामखुट्टे वयस्क नहुँदासम्मको करिव ८० प्रतिशत जिवनचक्र (अण्डा, लार्भा र प्यूपा अवस्था) पानी भित्र वा पानीको सतहमा हुने हुँदा मूल श्रोतलाई निर्मूल नगरी उडिरहेका वयस्क लामखुट्टेलाई मात्र लक्षित गरेर डेङ्गी संक्रमण नियन्त्रण गर्न नसकिने उनले बताए ।

साउनदेखि कार्तिक महिनासम्म एडिस लामखुट्टेको प्रजननको जोखिम बढी हुने भएकाले यी महिनाहरुमा थप सचेत भई कम्तीमा हप्ताको एकपटक समुुदायस्तरमा लामखुट्टेका प्रजनन् स्थल खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिदै आएको उनले बताए । डेङ्गी संक्रमणको उपचार पद्धती नरहेको उल्लेख गर्दै लामखुट्टेको बासस्थान नष्ट गर्नुको विकल्प नभएको उनले बताए ।

चिसो मौसममा डेङ्गी संक्रमण गराउने लामखुट्टे निश्किृय हुने हुँदा कार्तिक महिनादेखि यसको जोखिम कम हुनेपनि फोकल पर्सन आचार्यले बताए । ‘भदौ र असोजमा पानी जम्ने, गर्मी र आद्र्रता उच्च हुने कारण संक्रमणको दर सबैभन्दा बढी हुन्छ । कात्तिकतिर मौसम चिसिंदै जाँदा जोखिम क्रमशः घट्दै जान्छ । यसको उपचार पद्धती नरहेको उल्लेख गर्दै उनले लामखुट्टेबाट आफूलाई बचाउनु नै डेंगीबाट बच्ने उपाय हो,’ उनले भने ।

यस्ता हुन्छन् डेङ्गीका लक्षण ?

स्वास्थ्यकर्मीका अनुसार डेङ्गी सामान्य वा गम्भीर दुवै हुन सक्छ । यस्तो अवस्थामा यसको लक्षण पनि फरक–फरक देखिन्छ । हल्का डेङ्गी हुँदा खासगरी बालबालिका र किशोरकिशोरीहरूमा कुनै लक्षण देखिँदैन । डेङ्गीको संक्रमण भएको चारदेखि सात दिनभित्रमा हल्का लक्षणहरू देखिन थाल्छन् ।

यी लक्षणहरूमा उच्च ज्वरोका साथै टाउको दुख्ने, मांसपेशी, हड्डी र जोर्नीहरूमा दुखाइ, बान्ता हुनु, वाकवाकी लाग्नु, आँखा दुख्ने, छालामा दाग देखिने लगायतका समस्या देखा पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । गम्भीर अवस्थाहरूमा हेमोरेजिक ज्वरो वा डिएफएच (डेङ्ग हेमोरेजिक ज्वरो) को विकास हुने जोखिम बढ्छ । यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्छ र रगतमा प्लेटलेटको मात्रा कम हुन थाल्छ ।

यस्तो अवस्थामा कडा पेट दुखाइ, लगातार बान्ता हुनु, गिजा वा नाकबाट रगत बग्नु, पिसाब, दिसा वा बान्तामा रगत देखिनु, छालामुनि रगत बग्नु, जुन दाग जस्तो देखिन सक्छ । यस्तै, सास फेर्न गाह्रो हुनु, थकित महसुस हुनु, चिडचिडापन वा बेचैनी हुनु डेङ्गीका कडा लक्षण भएको निर्देशनालयका फोकल पर्सना आचार्यले बताए ।

डेङ्गीको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । डाक्टरले ज्वँरो र दुखाइ नियन्त्रण गर्न प्यारासिटामोल जस्ता दुखाइ कम गराउने औषधीहरू सिफारिस गर्ने उनले बताए । शरीरलाई हाइड्रेटेड राख्नु डेङ्गी नियन्त्रणमा राख्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । यस्तो अवस्थामा सफा पानी पर्याप्त मात्रामा पिउनुपर्छ । तर, गम्भीर लक्षण भएका बिरामीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कर्णालीमा तीन सय ४० जनामा डेङ्गी संक्रमण

सम्पादकीय : नश्लीय राष्ट्रवादबाट मुक्त बनौं !

कर्णालीमा तीन सय ४० जनामा डेङ्गी संक्रमण

बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds