रातामाटा छहरा : पातारासीको हरियाली काखमा लुकेको स्वर्ग

गोल्डेन बुढा

जुम्ला,२६असोज।

जुम्लाको विकट भूगोलभित्र पनि सुन्दरता र सम्भावनाले भरिएको एउटा अनुपम स्थल छ — पातारासी गाउँपालिका। हिमाली छायाँमा अडिएको, जैविक विविधता र मौलिक संस्कृतिको सुगन्धले भरिएको यो गाउँपालिकाले अहिले प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा आफूलाई प्रस्तुत गर्न थालेको छ।यही सौन्दर्यको गर्भभित्र लुकेको छ — रातामाटा छहरा। स्थानीय बासिन्दाले शंकर झरना भनेर चिन्ने यो झरना पातारासी गाउँपालिका–२ को पेरेगाउँमा अवस्थित छ।

 

सरकारी सूचीकृत स्थलको सूचीमा नाम नपरे पनि यस झरनाले आन्तरिक पर्यटकको मन जित्दै आएको छ।झरना जुनसुकै मौसममा पनि अविरल बगिरहन्छ। यसको आवाज न बाँसुरी हो, न उरूस — तर पनि आत्मामा शान्ति दिने प्राकृतिक राग हो। वरिपरिको हरियाली, अग्ला रूखहरूले भरिएको जङ्गल, छेउछाउ बग्ने जवा खोला र पानीका फोहराहरू मिलेर यस स्थललाई चलचित्रको दृष्यझैं बनाइदिन्छ।

पातारासीको नामकै कारण बनिसकेको पातारासी हिमाल यस क्षेत्रको पर्यटकीय र पर्वतारोहण सम्भावनालाई अझ विस्तारित बनाउँछ। यहीँको छुमचौर क्षेत्रमा फल्ने जुम्ली मार्सी धान विश्वकै सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने अन्न मानिन्छ।रातामाटा छहरा पुग्न जुम्लाको सदरमुकाम खलंगाबाट करिब १ घण्टा ३० मिनेटको सवारी यात्रा पछि पेरेगाउँ पुगिन्छ। त्यसपछि झरनासम्मको बाटोमा करिब ४५ मिनेटको पैदल यात्रा गर्नुपर्छ। यात्राको बिचमा हरियाली खर्कहरू, भेडा र गाई गोठहरू देखिन्छन्।यो झरनालाई सजिलै पुग्न मिलोस् भनेर २०७८ पुस ३ देखि २०८१ असार १५ गते सम्म स्थानीय सरकार र समाजसेवीहरूको सहयोगमा बाटो निर्माण गरिएको हो। कुल ५ लाख ८३ हजार ७२१ रुपैयाँ लागतमा सम्पन्न भएको यो योजनामा पातारासी गाउँपालिकाले ४ लाख ७० हजार र स्थानीय श्रमदानबाट १ लाख १३ हजार ७२१ रुपैयाँ जुटाइएको थियो।स्थानीय तहको पहल भए पनि अहिलेसम्म रातामाटा झरना प्रदेश वा संघीय सरकारको पर्यटकीय सूचीमा समावेश हुन सकेको छैन।पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने,“स्थानीय सरकारबाट सकेसम्म सहयोग गर्दै आएका छौँ। अब प्रदेश र केन्द्र सरकारको ध्यान जान आवश्यक छ।”त्यस्तै, स्थानीय समाजसेवी बिर्खबहादुर बुढा भन्छन्,“पर्यटकीय पूर्वाधार — प्रतीक्षालय, पक्की बाटो, बास र खानपिनका सुविधा आवश्यक छन्। होटल व्यवसाय पनि सुरु गर्न आवश्यक भइसकेको छ।”रातामाटा झरनामा वर्षभर पानी झर्छ। माथिबाट एक भएर बगेको पानी तल झर्दै जाँदा तीन धारामा छुट्टिन्छ, जसले दृश्यलाई अझ मोहक बनाउँछ। साउन र भदौ महिनामा झरनाको बहाव तीव्र र वातावरण हरियालीले भरिएको हुन्छ, जसले थप आकर्षण दिन्छ।पातारासीको यस झरनाले पर्यटनसँगै स्थानीय संस्कृति, कृषि र प्राकृतिक स्रोतहरूको पहिचान दिलाउन सक्छ। पर्यटकहरू यति नै भन्छन् — यो केवल झरना होइन, सम्भावना हो, सौन्दर्य हो, र सिंगो कर्णालीको उज्यालो भविष्य हो।

यदि अब राज्यको ध्यान पुग्ने हो भने, पातारासीको यो लुकेको रत्न — रातामाटा छहरा, रातामाटी बन्न धेरै समय लाग्ने छैन।खलंगा (जुम्ला सदरमुकाम) पेरेगाउँ (सवारी)पेरेगाउँ → रातामाटा छहरा (४५ मिनेट पैदल)बाटो: लासी बजार → लाम्री → लुम → तल्फी पेरे → धोपाघाट हुँदै उपयुक्त समय: साउन–भदौ (तर वर्षभर जान सकिने) हरियाली, जंगली सौन्दर्य, जुम्ली कृषि संस्कृति, हिमालको दृश्य, झरनाको अद्भुत स्वर विशेषता हो।

 

 

रातामाटा छहरा : पातारासीको हरियाली काखमा लुकेको स्वर्ग

जुम्लामा हवाई टिकटको मनपरी : निगम र

रातामाटा छहरा : पातारासीको हरियाली काखमा लुकेको स्वर्ग

सडकले बदलिदिएको पातारासी : अब कल्पनाभन्दा अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds