नेपालगञ्ज–दिल्ली सिधा उडानबारे सर्वपक्षीय छलफल

काठमाडौँ, २७साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आइतबार काठमाडौँमा सर्वपक्षीय छलफल भएको थियो ।
सो छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उनीहरुले नेपालगञ्ज–दिल्ली सिधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे ।
सन् २०१८ मा नेपालगञ्जदेखि दिल्ली बुद्ध एयरले सिधा उडान सञ्चालन गरेको थियो । तर, उडान सुरु गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।
त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधिलगायतले स्थगित उडान पुनः सञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले पनि चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरुको भनाइ छ ।
उडान स्थगित हुनुमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशंका हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
छलफलमा पश्चिम नेपालका प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो । सांसद सञ्जय गौतम, डा. धवलशमशेर राणा, शक्तिबहादुर बस्नेत, सुर्य ढकाल, महेश्वरजङ्ग गहतराज, दिपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खानलगायतले नेपालगञ्ज–दिल्ली सिधा उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगञ्ज–दिल्ली सिधा उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै यसका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।
पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्यका साथै विभिन्न जडीबुटी, कृषि उत्पादन तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले सिधा उडानका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिऐ ।
सांसद सञ्जय गौतमले नेपालगञ्जको भौगोलिक, सांस्कृतिक र आर्थिक क्षमता उच्च रहेकाले सिधा उडान विकासको महत्वपूर्ण चरण हुने बताए । सांसद अब्दुल खानले नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रर्वद्धनमा अग्रणी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । सांसद धवल शमशेर राणाले भने, “जुन दिन नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु हुन्छ, त्यही दिन कर्णाली र सुदूरपश्चिमको कायापलट हुनेछ ।” सांसद शक्तिबहादुर बस्नेतले आवश्यक पूर्वाधार र नीतिगत सहयोगका लागि पूर्ण समर्थन जनाए ।

नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
मन्त्री डा राणाले भने, “सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज–दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र अन्तरआबद्धता जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागि पर्नेछु ।”
उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्कलगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताए । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटललगायतका आवश्यक पर्यटन पूर्वाधारहरू बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रूपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आइतबार मन्त्री डा राणालाई भेटेर सो आग्रह गरेको हो ।
त्यस अवसरमा उहाँहरूले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभएको थियो । उनीहरूले सो विमानस्थलबाट प्रतिघण्टा छ सय यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरू निर्माण भइसकेका जानकारी गराएका थिए ।

नेपालगञ्ज–दिल्ली सिधा उडानबारे सर्वपक्षीय छलफल

दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा

नेपालगञ्ज–दिल्ली सिधा उडानबारे सर्वपक्षीय छलफल

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds