दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु

नयाँदिल्ली, २६ कात्तिक
(रासस/एएफपी) । 
भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् । सोमबार राति भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र १९ जना घाइते भएको पुष्टि गरिएको छ ।
विस्फोट पुरानो दिल्लीको भीडभाडयुक्त क्षेत्रमा, ऐतिहासिक लालकिल्ला नजिकै भएको थियो । विस्फोटपछिको आगलागीले वरिपरिका अन्य सवारी साधनहरू पनि जलेका थिए । प्रहरीले अहिलेसम्म विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण दिएको छैन ।
गृहमन्त्री अमित शाहले पत्रकारहरूसँग कुरा गर्दै भने, “सुरक्षा निकायहरूले सबै कोणबाट अनुसन्धान गरिरहेका छन् । फरेन्सिक नमूनाहरूको विश्लेषण नभएसम्म घटनाको वास्तविक कारण बताउन कठिन छ ।” मङ्गलबार बिहान एएफपीका पत्रकारहरूले विस्फोटस्थलमा प्रहरीद्वारा सेतो कपडाले घेरेर राखिएको क्षेत्रमा जलेका गाडीहरूको भग्नावशेष देखेका थिए । घटनास्थलमा फरेन्सिक विज्ञ र आतङ्कवाद विरोधी एकाइका अधिकारीहरू प्रमाण सङ्कलनमा व्यस्त थिए । नयाँदिल्लीभरि सुरक्षा कडा पारिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले गृहमन्त्री अमित शाहसँग ‘स्थितिको प्रत्यक्ष समीक्षा’ गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री मोदीले भने, “दिल्लीमा भएको यो विस्फोट अत्यन्त पीडादायक छ । आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु, घाइतेहरू चाँडै निको होऊन् ।” १७ औँ शताब्दीमा निर्माण गरिएको लालकिल्ला भारतको सबैभन्दा प्रतिष्ठित ऐतिहासिक स्मारक हो । यही किल्लाको प्राचीरबाट प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीहरूले राष्ट्रलाई सम्बोधन गर्ने परम्परा रहिआएको छ ।
कारभित्रका मानिसहरू जलिरहेका थिए
नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी ए.के. मलिकले भने, “अहिलेसम्म आठ जनाको मृत्यु भएको छ र १९ जना घाइते भएका छन् ।” यद्यपि, प्रेस ट्रस्ट अफ इन्डियाले पछिल्लो विवरण अनुसार मृतकको सङ्ख्या नौ पुगेको जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले घटनाको भयावह क्षणको वर्णन गर्दै ट्राफिकको बीचमा अचानक कार विस्फोट हुँदा आगोले वरिपरि रहेका मानिसहरू र सवारी साधनहरूलाई पनि घेरेको बताएका छन् । “मैले कार चलिरहेका बेलामा विस्फोट भएको देखेँ । मानिसहरूमा आगो लागेको थियो, हामीले सकेसम्म उद्धार गर्ने प्रयास गर्‍यौँ । तर केही मानिसहरू कारभित्रै जलिरहेका थिए”, २७ वर्षीय धर्मेन्द्र धागाले भन्नुभयो, “मैले वरिपरिका जनतालाई उद्धारमा सघाउन भनेको थिएँ, तर धेरैजना भिडियो र फोटो खिच्नमै व्यस्त थिए ।”
विस्फोटपछि सहरको एलएनजेपी अस्पतालको आपतकालीन कक्षमा अराजकता फैलिएको थियो । घाइतेहरू एकपछि अर्को गरी ल्याइएका थिए र चिकित्सकहरूले तत्काल उपचार सुरु गरेका थिए । एक महिला आफ्ना पतिलाई अस्पतालमा गम्भीर अवस्थामा देखेर रोइरहेकी थिइन् । उनका भाइले सान्त्वना दिने प्रयास गर्दै उनलाई अँगालो हाल्दै भन्दै थिए, “सब ठीक हुन्छ ।”
विपक्षी नेता राहुल गान्धीले विज्ञप्ति जारी गर्दै विस्फोटमा भएको मानवीय क्षतिको निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, “दिल्लीमा भएको यो विस्फोट हृदयविदारक छ । प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु ।” यसैबीच अमेरिकी विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, “हाम्रो हृदय यस भयानक विस्फोटबाट प्रभावितहरूसँगै छ । हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ ।”
यस घटनाले राजधानीको सुरक्षासम्बन्धी चिन्ता पुनः बढाएको छ । यद्यपि अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको र फरेन्सिक प्रतिवेदन नआएसम्म विस्फोट आतङ्कवादी आक्रमण हो वा आकस्मिक दुर्घटना भन्ने स्पष्ट हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु

अमेरिकी सरकारको लामो शटडाउन अन्त्यतर्फ, स्टपग्याप विधेयक

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु

कैलालीमा धान उत्पादन घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *