जेन जी आन्दोलनले २४ घण्टामै राजनीतिमा उथलपुथल: निशानामा पार्टी कार्यालय नेताका घरदेखि सरकारी अड्डा

ओम शाही
सुर्खेत, २५ भदौं ।
आइबारदेखि जारी जेन जीहरुको आन्दोलन उत्कर्षमा पुगेको छ । सामाजिक सञ्जाल बन्द तथा भ्रष्ट्राचार र अनियमितताको बिरोधमा उत्रिएका जेन जीहरुमाथी आइतबार सरकारले बर्बरतापूर्ण नरसंहार मच्चाएपछि विकसित भएको राजनीतिक अवस्थाले अन्ततः आफूलाई हमेसा नेपाली राजनीतिको हिमायति ठान्ने दलहरुको भागाभाग मच्चिएको छ ।
शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका जेन जीमाथी नयाँ बानेश्वरमा प्रहरीले निर्मम बल प्रयोग गरेको थियो । राज्यको उक्त बर्बरतापूर्ण दमनका कारण १९ जना कलिला युवा मारिएका थिए । झण्डै पाँच सय बढी युवाहरु विभिन्न अस्पतालका बेडहरुमा छट्पटाई रहेका छन् । सोमबार पनि दशैभर जेन जीहरुले आन्दोलन चर्काएका छन् ।


कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको जेन जीको आन्दोलन राजनीतिक दलका पार्टी कार्यालयदेखि नेताहरुका घर हुँदै सरकारी कार्यालयहरु निसानामा परे । विहानैदेखि कर्णाली प्रदेशसभा तथा मुख्यमन्त्रीको सरकारी निवासमा विरोध प्र्रर्दशन गरेको जेन जी समूहले ११ बजेपछि भने आन्दोलनलाई राजनीतिक दलका पार्टी कार्यालयमा केन्द्रित गराएका थिए ।
उनीहरुले सुरुमा नेकपा एमालेको पार्टी कार्यालयलाई निसाना बनाए । आक्रोशित भिड एमालेको पार्टी कार्यालयतर्फ बढ्दा सुरक्षामा खटिएको प्रहरीको डेग चल्न सकेन । हटिया चोकस्थित एमालेको पार्टी कार्यालयलाई पूर्णरुपमा कब्जा गरेका जेन जीहरुले भवनभित्र रहेका सम्पूर्ण कागजात सडकमा फालेर आगजनी गरे । उक्त भिड त्यतिकैमा रोकिएन ।
उनीहरुले हिटया लाइमै रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा तोडफोड र आगजनीसमेत गरे । उनीहरुको आन्दोलनबाट करोडौको भौतिक संरचना ध्वस्त भएका छन् । पार्टी कार्यालय तोडफोड गरेपछि जेनी समूह वीरेन्द्रनगर नगरपालिकाको कार्यालयतर्फ मोडियो । प्रहरीले नगरपालिकाको कार्यालयमा पनि सुरक्षा दिन सकेन । नगरपालिकाको भवनमा पनि ठुलो क्षति पुगेको छ ।
नगरपालिकापछि जेन जीहरु नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुुर खड्काको निजि निवास तिर सोझिए । खड्काको घरमा पनि ठुलो क्षति पुगेको छ । यस्तै, आक्रोसित भिडले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय लगायतका सरकारी अड्डामा तोडफोड र आगजनी गरे ।
आक्रोसित भिडले मुख्यन्त्रीको सरकारी निवास तथा निजि निवास, प्रदेशसभामा समेत तोडफोड र आगजनी गरेको छ । प्रहरीले सरकारी कार्यालयहरुमा क्षति पुग्दा खासै दमनको नीति लिन सकेन । जसका कारण भौतिक संरचनासँगै सरकारी कागजातमा क्षति पुगेको छ ।
आन्दोलनका क्रममा दुई जना आन्दोलनकारी र दुई जना सुरक्षाकर्मी घाइते भएका छन् । उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आन्दोलनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यू आदेशसमेत जारी गर्न परेको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेन जी आन्दोलनले उग्ररुप लिन थालेपछि अर्को आदेश नआउन्जेल कफ्र्यू आदेश जारी गरेको छ ।
जेन जीको आन्दोलन थप हिंसात्मक बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार साँझ ४ः३० बजेदेखि लागु हुनेगरी कफ्र्यू आदेश जारी गरेको हो । ‘मिति २०८२/०५/२४ गते बेलुका ४ः३० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाभित्र देहायका चारकिल्ला तोकी सो सीमानाभित्र कसैले आवत जावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा जारी गरिएको सूचनामा भनिएको छ । प्रशासनले रत्नराजमार्ग अन्तर्गत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ ।

ढल्यो ओलीको अधिनायकवाद

२३ भदौ इतिहाँसको कालो दिन सावित भयो । कलिला १९ जना युवाहरू राज्यको बर्बरतापूर्ण दमनका कारण मारिए । करिब पाँच सय जना अस्पतालमा छटपटाइरहेका छन् । आन्दोलन दबाउन सरकार यसरी उत्रियो कि यस्तो अवस्था राणा शासन, पञ्चायत र राजाको प्रत्यक्ष शासनका बेलासमेत भएको थिएन ।
घुँडामुनि गोली हान्नुपर्ने सामान्य सुरक्षा नियमको पालन गरेको देखिएन । लखेटीलखेटी गल्लीगल्लीमा युवाहरूलाई गोली हानियो । अस्पतालमा समेत प्रहरी प्रवेश गरेर दमन गरे । घरको पार्किङमा समेत प्रहरी छिरेर गोली हाने । दिनभरको नयाँ बानेश्वरको चित्रण थियो, दक्षिण भारतीय चलचित्रको दृश्यजस्तो । लाइन लगाएर मान्छे मार्ने, टाउकोमा सिधै गोली हान्ने, एम्बुलेन्समा घाइते ओसारेको बेला ओसार्ने युवालाई समेत गोली हान्ने यो कस्तो शासन हो ?

ओलीभित्रको सर्वसत्तावाद नभए के हो यो ? यस्तो नरसंहार के लोकतन्त्रमा सम्भव छ ? कलेज पोशाकमा आएका युवाहरूलाई उत्तेजित पार्ने हो कि दमन गर्ने हो ? बाटोमा हिँडेकाहरूलाई समेत गोली हान्ने कस्तो शासन व्यवस्था हो ? आन्दोलनलाई सत्ताधारी नेता, पार्टीहरूले नै उत्तेजित बनाउन मिल्छ ? जेन–जी पुस्ताका मागहरूका बारेमा संवेदनशील भई सम्बोधन गर्नुपर्ने प्रधानमन्त्री केपी ओली उल्टै आन्दोलन भड्काउन लागे ।
एमालेले २० देखि २२ भदौसम्म ललितपुरको गोदावरीमा आयोजना गरेको विधान महाधिवेशनमा बोल्ने क्रममा जेन–जीलाई ‘ठगी खाने’ पुस्ताको रूपमा चित्रण गरे । उनी त्यतिमा रोकिएनन्, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई नाकाबन्दीको घटनासँग जोडेर भने, ‘नाकाबन्दी सामना गरेका हामीलाई एक कम्पनीले नहल्लाए हुन्छ ।’

२०७२ सालको नाकाबन्दी सामना गर्न त्यही फेसबुकमा युवाले चलाएको ह्यासट्याग अभियानले सजिलो भएको उनले बिर्सिए । ओलीमा लागेको सर्वसत्तावादको उन्माद यति बढ्यो कि उनले आफूभन्दा अरु कोही जान्ने नभएको अर्को अभिव्यक्ति दिए । विश्लेषकहरूलाई खिसी टिउरी गरे । युवाहरूले नाकाबन्दीको सामना गर्न आफ्नो सवारीमा अर्को व्यक्तिलाई लिफ्ट दिने अभियान नै चलाएका थिए । हामी नेपाली नामक समूह नाकाबन्दीका बेला निकै सक्रिय थियो ।
सोमबार त्यही हामी नेपाली समूहमा जेन–जी पुस्ता छ । र, उसले देशको बेथितिका बारेमा प्रश्न गरेको छ । तर, ओली यिनै समूहको मुख थुन्न सामाजिक सञ्जालमाथि गैरकानुनी प्रतिबन्ध लगाउन मात्र तम्सिएनन्, उल्टो ठगी खाने भाँडो भन्दै आरोप लगाउन अग्रसर भए ।

कार्टेलिङबाट आएका एमाले प्रतिनिधिले गोदावरीमा ओलीको सर्वसत्तावादलाई ताली बजाएर अनुमोदन गरे । ओली हौसिए । उनमा चढेको अधिनायकवादले सीमा नाघ्यो र गोली चलाएर भए पनि आन्दोलन दबाउन गृहमन्त्रीलाई निरन्तर ताकेता गरे । गृहमन्त्रीसँग मात्र होइन, ओली निरन्तर सुरक्षा प्रमुखहरूसँग पनि संवादमा थिए । जसरी पनि आन्दोलन दबाउनु ओलीको एक मात्र उद्देश्य थियो ।
कथित् बा ब्रान्डलाई आफ्नो उचाइ ठानेका ओली नाति पुस्ताको आन्दोलन दबाउन यसरी केन्द्रित भए कि उनले क्षतिको सामान्य आंकलनसमेत गर्न सकेनन् । उनीभित्र रहेको दम्भी, सामन्ती र सर्वसत्तावादी चरित्रका अगाडि आन्दोनमा आउने युवाको भविष्य केही होइन । ओलीभित्र रहेको अधिनायकवाद कुनै दिन विस्फोट हुनेवाला थियो नै । तर, त्यो विस्फोट यति महँगो पर्ने सायदै कसैले सोचेका थिए होलान् ।
एमालेको आन्तरिक जीवनमा लोकतन्त्रको वकालत गरेर उदाएका ओलीले त्यही लोकतन्त्रको घाँटी निमोठेको देखेर पनि नदेखेको जस्तो गर्ने शंकर पोखरेल र प्रदिप ज्ञवाली प्रवृत्ति अरु नेताहरूले पनि अनुसरण गरेका कारण आज देशमा यो हदसम्मको नरसंहार भएको हो । ओलीमा देखिएको सर्वसत्तावादलाई बेलैमा रोकेको भए देशले यो दुर्गति भोग्नुपर्ने थिएन ।

२०६४ सालमा लज्जास्पद हारपछि बिस्तारै उठेर २०७० को निर्वाचनमा दोस्रो दल भएको उदाहरण पार्टीको दस्तावेजबाट ओलीले यही तानाशाह स्वरुपका लागि हटाएका थिए । अन्ततः उनै तानशाह ओलीलाई जेन जी पुस्ताको २४ घण्टे आन्दोलनले सत्ता छोडेर भाग्नु पर्ने अवस्था ल्याइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन–जी आन्दोलन उग्र बनेपछि ओली राजीनामा दिन बाध्य बनेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद भवनसमेत कब्जा गरि सकेका छन् ।

जेन जी आन्दोलनले २४ घण्टामै राजनीतिमा उथलपुथल: निशानामा पार्टी कार्यालय नेताका घरदेखि सरकारी अड्डा

झलारीका होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने चिल्लो

जेन जी आन्दोलनले २४ घण्टामै राजनीतिमा उथलपुथल: निशानामा पार्टी कार्यालय नेताका घरदेखि सरकारी अड्डा

सम्पादकीय :अब ओली, देउवा र प्रचण्डहरु नजन्मिउन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds