प्रस्तावित ‘सुर्खेत भेरीगंगा रामघाट’ विमानस्थल १६ अर्ब लगानी, पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य

ओम शाही

सुर्खेत, २३ असोज ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९, १० र ११ मा प्रस्तावित ‘सुर्खेत भेरीगंगा–रामघाट’ विमानस्थललाई कार्यान्वयनको तहमा लैजाने भएको छ । प्राधिकरणले कर्णाली प्रदेशको वैकल्पिक विमानस्थलनका रुपमा निर्माण गर्ने भनिएको विमानस्थल कार्यान्वयन पूर्वको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)अध्ययन प्रतिवेदनलाई अन्तिमरुप दिन लागेको हो ।

प्राधिकरणले आयोजना कार्यान्वयन गर्दा प्रभावित क्षेत्रमा पर्नसक्ने सकारात्मक र नकरात्म प्रभावका सम्बन्धमा अध्ययन गरी २१ भदौ २०८२ मा ईआइए प्रतिवेनद सार्वजनिक गरेको थियो । प्राधिकरणले प्रभावित क्षेत्रका स्थानीयवासी, सरोकारवाला निकाय र जनप्रतिनिधिसँग विमानस्थलको ईआइए प्रतिवेदनका विषयमा छलफल गरेको थियो । सार्वजनिक भएको उक्त ईआइए प्रतिवेदन उपर प्राधिकरणले १९ असोज २०८२ मा सात दिने सूचना जारी गर्दै अन्तिम प्रतिवेदन तयारीका लागि प्रभावित क्षेत्रका नागरिकको राय सुझाव मागेको हो ।

प्राधिकरणले प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा पर्ने प्रभावका बारेमा लिखित राय, सुझाव उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

‘आयोजना कार्यान्वयन गर्दा प्रभावित क्षेत्रका नगरपालिका, प्रभावित वडा र त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले वातावरण संरक्षण नियमावली, २०७७ को अनुसूची–९ को वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धी सार्वजनिक सूचनाको ढाँचा बमोजिमको यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र लिखित राय सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ,’ १९ असोजमा प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।

प्राधिकरणको प्रतिवेदनअनुसार दुई सय १८ दशमलव २६ हेक्टर क्षेत्रफलमा फैलने विमानस्थका कारण भेरीगंगा नगरपालिका वडा नम्बर ९, १० र ११ प्रभावित हुनेछन् । यसमा एक सय ३१ दशमलव ४६ हेक्टर सामुदायिक वन र ८६ दशमलव ८० हेक्टर राष्ट्रिय वन क्षेत्र पर्नेछ । विमानस्थल समुद्री सतहबाट करिब ६ सय २८ मिटर उचाइमा रहनेछ । अन्तराष्ट्रिय मापदण्डअनुसार पूर्व–पश्चिम फैलनले धावनमार्गको लम्बाई दुई हजार सात सय ९० मिटर र चौडाई चार सय ४५ मिटर रहने प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

प्रस्तावित विमानस्थलमा एटिआर–७२, सिआरजे–७००, ड्यासक्यू–४००, ए–३२०, बी–७३७ मोडेलका एक सय ५० सिटर र सो सरहका जहाजहरु उडान र अवतर गर्न सकिने छ । यससँगै ट्याक्सीवे, ह्याङ्गर, कन्ट्रोल टावर, इन्धन भण्डारण, कार्गो भवन, प्रहरी चौकी, पार्किङ स्थल र सुरक्षा चौकीलगायतका संरचना पनि बन्नेछन् । एप्रोनमा एकैपटक १७ विमान अट्ने क्षमता रहने छ, भने २४ हजार तीन सय ७५ वर्गमिटरमा टर्मिनल भवन निर्माण हुने जनाइएको छ । विमानस्थल सञ्चालनमा आएको खण्डमा दैनिक ११ उडान हुने र करिब तीन सय ७४ यात्रु ओसारपसार गर्न सकिने गरी विमानस्थलको डिजाइन गरिएको छ । विमानस्थल निर्माणका क्रममा करिब ४४ हजार ६ सय पाँच रूख कटान गर्नुपर्ने छ ।

यसले वन्यजन्तुको वासस्थानमा असर गर्ने पक्का छ । स्थानीयस्तरमा खानेपानीका पाइपलाइन र सिँचाइ कुलो प्रभावित हुनुका साथै धुलो र ध्वनि प्रदूषण बढाउने, फोहोर व्यवस्थापनको पाटो चुनौती बन्ने प्रतिवेदनमा उल्लेख छ । विशेषगरी मदानेचौर क्षेत्रमा राति ध्वनि प्रदूषण सामान्यभन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै, एक हजार दुई सय मिटर खानेपानीको पाइपलाइन र एक हजार एक सय ६७ मिटर सिँचाइ कुलो प्रभावित हुने ईआइए प्रतिवेदनले देखाइएको छ । प्रभावित क्षेत्रमा १५ प्रजातिका स्तनधारी, ६२ प्रजातिका चराचुरुङ्गी, १२ प्रजातिका सरिसृप र चार प्रजातिका उभयचर प्रभावित हुनेछन् ।

प्राधिकरणले आयोजना कार्यान्वयनका क्रममा प्रभावित क्षेत्रमा देखापर्ने नकारात्मक असर न्यूनिकरण गर्न विभिन्न योजना अघि सारेको छ । जसमा एक रुखवापत १० रूख रोप्ने गरी चार लाख ४६ हजार भन्दा बढी बिरुवा रोपिने र कम्तीमा पाँच वर्षसम्म संरक्षण गर्ने योजना अघि सारिएको छ । धुलो नियन्त्रणका लागि सडकमा नियमित पानी छर्कने, निर्माण सामग्री छोपेर ढुवानी गर्ने, कामदारलाई हेलमेट, मास्क, पञ्जा र बुट जस्ता सुरक्षा सामग्रीको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै, खानेपानीका पाइपलाइन र सिँचाई कुलोमा पुग्ने क्षतिको क्षतिपूर्ति, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने र प्रभावित क्षेत्रमा विभिन्न सीपमुलक तालिममार्फत स्थानीयको आयाआर्जनमा टेवा पुर्‍याउने खालका कार्यक्रम अघि सार्ने योजना प्राधिकरणको छ ।

१६ अर्ब लागत लाग्ने, निर्माण अवधि पाँच वर्ष

प्रारम्भिक अध्ययनअनुसार विमानस्थल निर्माणको कुल लागत १६ अर्ब रुपैयाँ छ । विभिन्न चरणमा गरी यो रकम खर्च हुने परामर्श दाता कम्पनी प्याक्ट कन्सल्ट्यान्ट प्रालि त्रिपुरेश्वर काठमाडौंका प्रतिनिधि अभिषेक विसीले बताए । उनले प्रस्तावित विमानस्थललाई पाँच वर्षभित्र पूर्णता दिने गरी योजना बनाइएको बताए ।

विमानस्थल निर्माणका क्रममा करिब तीन सय ५० व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान छ । जसमा ५० दक्ष, एक सय अर्धदक्ष र दुई सय अदक्ष कामदार विमानस्थल निर्माणमा संलग्न हुनेछन्‌् । यस्तै, स्थानीयस्तरमा उत्पादन हुने फलफूल, तरकारी, दूग्ध र मासुजन्य पदार्थको उत्पादनसँगै खपत बढ्नेछ, भने होटल तथा पर्यटन व्यवसायमा बृद्धि भई स्थानीय अर्थतन्त्रमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । प्रतिवेदनअनुसार विमानस्थलले प्रदेश राजधानी सुर्खेतसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण दुर्गम जिल्लालाई संघीय राजधानीसँग हवाई सेवामा जोड्नेछ । यसले यहाँको व्यापार, पर्यटन र कृषि उत्पादनको बजार विस्तारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तावित ‘सुर्खेत भेरीगंगा रामघाट’ विमानस्थल  १६ अर्ब लगानी, पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य

स्याउको मुहारले फेरियो गाउँको पहिचान जोडु र

प्रस्तावित ‘सुर्खेत भेरीगंगा रामघाट’ विमानस्थल  १६ अर्ब लगानी, पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य

अझै ४५ जना बालबन्दी फरार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds