सुर्खेतमा एमाले महाधिवेशन प्रतिनिधि छनोट विवाद : १७ उम्मेदवारको केन्द्रमा उजुरी

सुर्खेत ,२१ मंसिर ।
नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा सुर्खेतमा ठूलो विवाद उत्पन्न भएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार मंसिर ११ गते उम्मेदवारी आह्वान गरिएको थियो। सोहीअनुसार सुर्खेत क्षेत्र नं. १ लेकबेसि गाउँपालिका–६ स्थित सहकारी संस्थाको प्राङ्गणमा बिहान ११ देखि अपराह्न ३ बजेसम्म मनोनयन प्रक्रिया सञ्चालन गरिएको थियो।
निर्वाचन अधिकृत अधिवक्ता रामबावु बिसीका अनुसार विभिन्न क्षेत्र र समूहबाट कुल ४० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये अन्य समूहबाट १९, महिला समूहबाट ९ र युवा समूहबाट १२ जनाले मनोनयन दर्ता गराएका थिए।
मंसिर १२ गते सहमति जुटाउने प्रयास भए पनि दिनभरको छलफल निष्कर्षमा पुग्न सकेन। त्यसपछि मंसिर १३ गते बिहान १० बजे उम्मेदवारहरूलाई मौखिक सूचना मार्फत उपस्थित हुन भनिएको थियो। तर सो दिन पनि सहमति नजुटेपछि केन्द्रीय सदस्य तथा सहजिकरण समितिका संयोजक ठम्मरबहादुर विष्टको नेतृत्वमा सर्वसम्मत निर्णय प्रक्रिया अघि बढाउन सबै उम्मेदवारले आग्रह गरेका थिए।
तर जिल्ला कमिटीका पदाधिकारीहरूले सहजिकरण समिति र उम्मेदवारलाई जानकारी नै नदिई मनोनयनको नाम टुंगो लगाएको आरोप १७ जना उम्मेदवारले लगाएका छन्। उनीहरूका अनुसार निर्वाचन समितिलाई समेत डराइ–धम्काई प्रतिनिधि चयन गरिएको छ।

कृष्णदेवी वली, धनसिङ खड्का, नरेश खड्का सहित १७ उम्मेदवारले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित उजुरी दिएका छन्। उजुरीमा पार्टी विधान, विधि र नीतिविपरीत गुटबन्दी गर्दै गरिएको प्रतिनिधि चयन खारेज गरी पुनः प्रक्रिया सुरु गर्न माग गरिएको छ।
उनीहरूले केन्द्रमा पठाएको उजुरीमा भनेका छन्,
“पार्टी विधान, विधि, नीति र एकता विरोधी कार्य गर्ने–गराउनेलाई विधानअनुसार कारबाही गरी, गुटबन्दीपूर्ण तरिकाले छानिएका गैरप्रतिनिधिको नामावली बदर गरी केन्द्रको निर्देशनअनुसार पुनः प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढाइदिन अनुरोध गर्दछौँ।”
सुर्खेतको विवाद केन्द्रसम्म पुगेपछि एमाले नेतृत्वको ध्यान अब यस प्रकरणको टुंगोमा केन्द्रित हुने अपेक्षा गरिएको छ।






