राप्ती नदीको बाढी जोखिम न्यूनीकरणका लागि बाँकेमा अस्थायी तटबन्ध निर्माण सुरु

बाँके ,१७ असार।

वर्षायाम सुरु भएसँगै राप्ती नदीको बाढीबाट उत्पन्न डुबान र कटानको जोखिम न्यूनीकरण गर्न बाँके जिल्लामा अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। जनताको तटबन्ध कार्यक्रम अन्तर्गत लमही, दाङमार्फत राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका अति जोखिमयुक्त क्षेत्रहरूमा अस्थायी तटबन्ध निर्माणको काम तीव्र गतिमा अघि बढाइएको हो।

राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरू बर्षेनी डुबानको समस्याबाट पीडित हुँदै आएका छन्। नदीको बाढीले बस्तीमा क्षति पुर्‍याउने खतरा बढेसँगै जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदी नेतृत्वको प्राविधिक टोलीले एक सातादेखि स्थलगत निरीक्षणसहित तटबन्ध निर्माण गरिरहेको छ।

तात्कालिक राहतस्वरूप बेम्बो पाइलिङ प्रविधिबाट नदीको ४ मिटर गहिराइसम्म अस्थायी तटबन्ध निर्माण गरिएको डा. सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार अस्थायी संरचना बाढीको तत्काल असरबाट बस्ती जोगाउन पर्याप्त हुने अपेक्षा गरिएको छ।

तटबन्ध निर्माण कार्य अहिले राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ स्थित ढलैया, वडा नं ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, नरैनापुर गाउँपालिकाको सोनवर्षा, गंगापुर (कुदरबेटवा), भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा तीव्र रूपमा भइरहेको छ।

स्थायी तटबन्ध निर्माणका लागि आवश्यक बजेट, ढुङ्गा अभाव र वर्षा सुरु भएकाले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको हो। डा. सुवेदीका अनुसार असोज/कात्तिकदेखि स्थायी तटबन्ध निर्माण कार्य सुरु गरिनेछ।

राप्ती नदी कटानका कारण करिब ३० हजार जनसंख्या उच्च जोखिममा परिरहेका बेला अस्थायी तटबन्ध निर्माणबाट राहत मिलेको नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीले बताउनुभयो।

स्थानीय जनसहभागितासहित सञ्चालित जनताको तटबन्ध कार्यक्रमले बाढीपीडित बस्तीलाई सुरक्षातर्फ सकारात्मक सन्देश दिएको छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds