ऋषि स्मृति प्रतिष्ठानको अध्यक्षमा पूर्ण शर्मा
ऋषि स्मृति प्रतिष्ठान सुर्खेतको अध्यक्षमा पूर्ण शर्मा (पोखरेल) चयन भएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा लक्ष्मी चालिसे, सचिवमा प्रकाश सारु, सह–सचिव बिन्दुलाल रेग्मी र कोषाध्यक्षमा भुवन तिवारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उपेन्द्र मल्ल र आशिसकुमार रेग्मी चयन भएको नवनिर्वाचित अध्यक्ष शर्मा जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको प्रतिष्ठानको वार्षिक साधारणसभा एमाले केन्द्रीय सदस्य नवराज रावत, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह लगायत सहभागी थिए ।
सहभागीहरुले सहिद ऋषिप्रसाद शर्माका अधुरा सपनाहरुलाई पार्टी र नेता कार्यकर्ताहरु पूरा गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात पूर्व राज्यमन्त्री नन्दा शर्मा, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री लगायतलाई सम्मान समेत गरिएको थियो ।
ऋषि स्मृति प्रतिष्ठान नेकपा एमालेका तत्कालिन भेरी अञ्चल समन्वय कमिटीका तत्कालिन सदस्य एवम् पहिलो संविधान सभामा सुर्खेत क्षेत्र नं. १ का उम्मेद्वार ऋषिप्रसाद शर्माको सम्झनामा स्थापित संस्था हो ।
२०६४ सालको पहिलो संविधान सभाका उम्मेद्वार शर्माको चुनावी अभियानकै क्रममा सुर्खेतको लोदेमा हत्या भएको थियो । शर्माको हत्यापछि एमाले नेता तथा परिवारजनले उनको सम्झनामा प्रतिष्ठान स्थापना गरेका हुन् ।





