सम्पादकीय: राउटेको नाम बेचेर डलरको खेती नगर
सुर्खेत, दैलेखका विभिन्न ठाउँमा मौसम अनुसार फिरन्ते जिवन विताईरहेको समुदाय हो राउटे समुदाय । यो समुदायमा आफ्नै नियम, कानुन, जीवनशैली, मूल्य, मान्यता, परम्परा, संस्कार, संस्कृति लगायतका कुराहरु उनीहरुको समुदायको मुखियाका अनुसार र आफ्नै समुदायका कानुन अनुसार चल्छन । पहिलाको तुलनामा उनीहरु पनि सामान्य आम समुदायका कतिपय कुरा प्रयोग गर्न थालेको भएपनि कतिपय कुरामा उनीहरुको जिवन सहजताका लागि कतिपय कार्यक्रम लागु भएता पनि उनीहरु आजका भोली परिवर्तन हुने अवस्था भने देखिएको छैन । यसरी उनीहरु जंगली फिरन्तेको ट्याग भिरीरहेका छन् भने बजारमा पाईले जाँड, रक्सी, मासु मादक पदार्थ कुलतबाट उनीहरु आफ्नै नियम भन्दा पनि उत्तरआधुनिक भैसकेका छन । यसरी सामाजिक र व्यक्तिगत जिवनमा असोचनिय उताडचडाव आईरहेको छ ।
फिरन्ते राउटे समुदायका विभिन्न विषयलाई विभिन्न तरिकाले प्रचार गरेर सहयोगको नाममा धेरै व्यक्ति र संस्थाहरुले डलरको खेती गरेका छन् । भनौं राउटे भजाएर आफ्नो दुनो सोझ्याएका छन् । तर राउटेको जिवन भने सारै अव्यवस्थित र लथालिङ्ग भएको छ । २२ वर्षकी सुन्दरी शाही र १७ वर्षकी सुमनी शाही एकल महिला हुन । ६९ वर्षिया राउटे महिला दुनी शाहीका १४ सन्तान जन्माएकी छीन । नेपालको कानुन अनुसार १८ वर्ष नपुगी बिबाह गर्नु कानुन विपरित मानिन्छ । तर राउटे समुदायमा भने बच्चा जन्मिने बित्तिकै को संग बिबाह गर्ने भनेर तय भैसकेको हुन्छ । राउटे समुदायका पुरुषहरु जंगलमा गएर काठ काटेर त्योबाट विभिन्न सामानहरु बनाउने र त्यसलाई अन्नसंग साटेर त्यहि अन्न खाएर गुजारा चलाउँथे । एक आरी कोसी जे बेच्ने हो त्यसको दुने धान दिनुपर्छ हामी अरु खाँदैन पैसा पनि लाग्दैन हाम्रो देउता रिसाउँछ पैसा लग्यो भने । गुना मारेर गुनाको मासुसंग भात खाने हो भन्थे । स्वस्थ थिए अर्गानिक खान्थे लवाई नसिलाएको कपडा बेरेर लगाउँथे बलिया थिए । महिलाहरु फलामका ठुलाठुला गहना लगाउँथे । सिजन अनुसार बसाई सर्थे ।
अगाडी टहरोमा बस्थे, खान्थे, सुत्थे, टहरोको पछाडी गएर शौच गर्थे । केही समय अगाडीसम्म राउटे समुदायका महिलाहरु गाउँमा गएर मागेर तरकारी त्यसमा पनि पींडालुको कुहिएको पात आफै टिपेर समेत लिन्थे । गुनाको मासुमा यो मिठो हुन्छ भन्थे । सञ्चारमाध्यम थिएनन । गाउँगाउँमा प्याकिङ रक्सी बेच्ने भट्टी पसल थिएनन । उनीहरुले पनि लोकल अन्नबाट उत्पादित जाँड खान सिक्दै थिए । रक्सी खाएर पैसा लिए देउता रिसाउँछन भन्थे । तर अहिले उनीहरुको जिवनशैली र खानपिन बिल्कुन अस्वस्थकर भएको छ । मान्छे देख्यो कि पैसा माग्ने तनाव दिने र मागेको पैसाले रक्सी खाँदा स्वास्थ्य बिग्रिएका कारण धेरै पुरुष जवानीमै मरेर भर्खर बिहे गरेका राउटे महिलाहरु एकल जिवन बहुत कष्टपूूर्ण तरिकाले बाँचिरहेका छन् । यस्तो अवस्थामा लोपोन्मुख अवस्थामा रहेका राउटेको उनीहरुकै अनुसार संरक्षण गर्नु राज्यको दायित्व हैन र ?
सहयोगको नाममा नगद पैसा दिएको छ, सदुपयोग भएको छ कि छैन मतलव छैन कहाँ प्रयोग हुन्छ त्यो पनि वास्ता छैन । अनि त्यही पैसाले रक्सी खाएर धेरै राउटे पुरुषको अकालमै ज्यान गएर यो समुदाय नै लोप हुने अवस्थामा पुगेको छ । कतिपय उनीहरुका नियमलाई पनि ख्याल गर्दै स्वास्थ्यमा ध्यान दिने खालका कार्यक्रममा राज्यले लगानी गर्नुपर्छ । र राउटेको नारा लगाएर डलरको खेती गर्नेहरुले पनि आफ्नो खेतीको उपती मुल्याङ्कन गर्नु जरुरी छ । न कि राउटे भजाएर आफ्नो दुनो सोझ्याउन पाईयोस ।





