अझै पनि धान बिक्री गर्न सहज छैन किसानलाई

विक्रम बुढा क्षेत्री ।
बाँके जिल्ला धेरै सुगम जिल्ला हो । तर अचम्म यहिँका किसानहरुलाई अझै पनि धान बिक्री गर्न सहज छैन । प्राय जिल्लाका धेरै किसानहरु आफूले उत्पादन गरेको धान बिक्री गर्न कम्तीमा दुई दिन संघर्ष गर्नु पर्छ या बिचौलीयालाई बिक्री गर्नु पर्ने वाध्यता छ । कारण बाँकेमा एउटामात्रै धान बिक्री र खरिद केन्द्र छ, खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्ज ।
नरैनापुर गाउँपालिका वडा नम्बर ६, गंगापुरका स्थानीय सनोज मौर्यले दुई दिन लगाएर आफ्नो धान खाद्य व्यवस्था तथा ब्यापार कम्पनीमा बिक्री गर्न सफल भए । यहि शनिबार मौर्य राती ८ बजे नरैनापुरबाट धान बिक्री गर्न नेपालगन्ज हिँडेका थिए । उनी शनिबार राती १२ बजे नेपालगन्जमा रहेको खाद्य व्यवस्थामा आइपुगे । अचम्म उनी ४५ किलोमिटर पार गरेर राती १२ बजे खाद्य अगाडि आइपुग्दा उनीभन्दा पहिला ५/६ वटा ट्रयाक्टर आइपुगेका थिए । भोलीपल्ट आइतबार २ बजे बल्ल मौर्यको पालो आयो र उनले आफ्नो धान बिक्री गरेर आइतबार बेलुका नरैनापुर पुगे ।
मौर्यलाई खाद्यमा धान बिक्री गर्ने अनुभव केही वर्ष अघिदेखिको रहेछ । ‘बिहान धान ल्याएर बिक्री गर्छु भनेर हुँदैन । पालै आउन्न । पहिला सुरु सुरुमा मैले दुई दिनसम्म पनि पालो कुरेको छु,’ मौर्य भन्छन्, ‘अहिलेत हरेक वर्ष बेलुका नै आएर लाइन बसिहाल्छु । अनी भोलीपल्ट बेलुकासम्म पालो आइहाल्छ ।’
आइतबार युग आह्वानको प्रतिनिधि खाद्य व्यवस्थामा पुग्दा मौर्यबाहेक अन्य धेरै किसानहरु आफूले उत्पादन गरेको धान बिक्री गर्न शनिबार नै खाद्य अगाडि आइपुगेका थिए । सबैको अनुभाव र भनाइ उही, ‘बेलुका आएर पालो लगाएन भने पालो आउन ढिला हुन्छ ।’
यसैगरी किसानहरुले भोग्नु परेको अर्को सास्ती ट्राफिक प्रहरी पनि हो । आइतबार बिहान जानकी गाउँपालिका वडा नम्बर ३, रमुवापुरका किसान कमलप्रसाद कुर्मी आफूले उत्पादन गरेको धान बिक्री गर्न ल्याउने क्रममा ट्राफिक प्रहरीले ओभर लोड भएको भन्दै चिट काट्ट पठाएको बताए । कुर्मी भन्छन्, ‘हामीलाई वडा कार्यालयले सय क्वीन्टलको चिठी दिएको छ । धान ल्याउने बेला ट्राफिकले रोकेर ओभर लोड छ भनेर फाइन तिराउन खोज्यो मैले नेतालाई फोन गर्न लगाएर आए । पैसा तिरेन मैल ।’
कुर्मीलाई जानकी गाउँपालिका वडा नम्बर ३ ले १ सय क्वीन्टल धानको चिठी उपलब्ध गराएको छ । तर उक्त चिठीमा १ सय क्वीन्टल धान कति पठकमा ढुवानी गर्ने भन्ने चाही उल्लेख छैन । ट्राफिक प्रहरीले रोक्ने विषयमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, गेदवाका अमेरिकाप्रसाद गु्प्ता पनि सहमत छन् । ‘हामीहरु ट्रयाक्टरमा धान ल्याउछौं । ट्रयाक्टरको ट्रयालीमा कति नै धान आउँछ र त्यसैले त्योभन्दा माथि बोरामा पनि भरेर हाल्छौं । त्यसैलाई प्रहरीले ओभर लोड भनेर चिट काट्न लगाउछ ।’ गुप्ता ट्राफिक प्रहरीले रोक्ने भएका कारण पनि धेरै जसोले राती नै धान ल्याउने गरेको जिकिर गर्छन् ।
किसानले उत्पादन गरेका धान बिक्री र ढुवानीमा सहजताका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सकेसम्म कोसिस गरिरहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछाने बताउँछन् । लामिछाने ट्राफिक प्रहरीलाई धान ढुवानीमा सहजता गर्दिन आफूहरुले पटक पटक भन्ने गरेको बताउँछन् ।
‘हामीहरुले सहज ढुवानीका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने गरेका छौं । तर कहिले काही कस्तो हुन्छ भने कुनै ट्रयाक्टरको नविकरण हुँदैन । अन्य समस्या पनि हुने भएकाले किसानहरुलाई समस्या पर्ने गरेको हुन सक्छ,’ प्रमुख लामिछाने भन्छन् ।
स्थानीय सरकार किसानमूखी नभएको गुनासो
खाद्य व्यवस्थामा धान बिक्री गर्न ल्याएका सबै किसानहरुको आवश्यकता भनेकै उनीहरुको घर÷खेत नजिकै धान बिक्री हो भन्ने हो । हामीले आइतबार खाद्यमा धान बिक्री गर्न आएका फरक फरक ठाउँका करिब आधा दर्जन किसानसँग कुरा गर्दा उनीहरुको एउटै भनाइ थियो, धान ढुवानीमा खर्च लाग्ने र घर नजिकै धान बिक्री गर्ने वातावरण हुने पर्ने ।
उसोत खाद्य व्यवस्था तथा ब्यापारले किसानका यी समस्या समाधान गर्न पहल नचालेको भने होइन । संघीय संरचनामा रहेको खाद्य व्यवस्था तथा ब्यापारमा अहिले जम्मा ५ जना कर्मचारी रहेका छन् । ती ५ जना कर्मचारीले कतिसम्म काम गर्न भ्याउछन् आफंैमा प्रश्न रहेको प्रमुख लामिछाने बताउँछन् ।
‘हेर्दा ठूलो संस्था जस्तो लाग्छ । तर हामी जम्मा ५ जना कर्मचारी छौं । तर पनि पहिलाको तुलनामा अहिले धेरै कुराहरु सिस्टममा छ,’ प्रमुख लामिछानेले बताए,‘हामीले किसानले उत्पादन गरेका धानहरु घर÷आगनमै पुगेर खरिद गर्ने योजनामा पनि छौं । त्यो हामीले मात्रै गरेर सम्भव छैन ।’
देश संघीय संरचनामा गइसकेपछि धेरै कुराहरुको अधिकार र कर्तव्य स्थानीय सरकारलाई छ । त्यसैले स्थानीय सरकारको सहयोगमा किसानका घर÷आगनमा पुगेर धान खरिद गर्न सकिने लामिछानेको तर्क छ । किसानलाई योभन्दा पहिला धान बिक्री गर्न पालिकाको सिफारिस आवश्यक पथ्र्यो ।
यसले किसानलाई केही समस्या देखिएपछि खाद्यले यो वर्षदेखि वडाको सिफारिसलाई पनि मान्यता दिएको छ । अर्को खाद्यले ‘घरदैलोबाट धान खरिद गर्ने अभियान’ पनि सुरु गरेको छ । तर यो अभियान सफल हुन नसकेको प्रमुख लामिछाने बताउँछन् ।
‘हाम्रो अभियान भनेको सबै पालिकामा उपस्थिति हुनु हो र यसबारे छलफल पनि भइरहेको छ । हामीले योपटक बाँकेका सबै पालिकालाई धान खरिदमा सहयोग गर्न चिठी पठायौं र ताकेता पनि गर्यो तर उहाँहरुले चासो नदिए जस्तो लाग्यो,’ लामिछानेले भने । लामिछाने राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाले बजेट अभावका कारण सहयोग गर्न नसकेको र अर्को वर्षदेखि सहयोग गर्ने जनाएको बताए । बाँकी अन्य ६ वटा पालिकाले भने कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ ।
यता कृषि ज्ञान केन्द्र बाँके पनि किसानको घर/आगनमै पुगेर धान खरिद गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिन्छ । कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि अधिकृत अनिश श्रेष्ठ टाढा–टाढाका थोरै धान उत्पादन गर्ने किसानलाई धान बिक्री गर्ने सहज वातावरण नभएका कारण बिचौलीयालाई बिक्री गर्नु पर्ने बाध्यता रहेको बताउँछन् ।





