गुनासो सुन्न जनप्रतिनिधि गाउँमा


अधिकांश मतदाताको जनप्रतिनिधि निर्वाचित भइसकेपछि गाउँ नफर्किने गरेको गुनासो छ । चुनावका बेलामा घर घरमा पुगेर भोट माग्दै निर्वाचित भएदेखि गाउँमा नआउने गरेको भन्दै नागरिकले जनप्रतिनिधिलाई गुनासो गर्दै आएका छन् । स्थानीय सरकार सञ्चालनपछि गाउँमा सडक पूर्वाधार, खानेपानी, सिँचाइ, कृषि र पर्यटनका क्षेत्रमा उल्लेखीय विकास भएपनि नागरिक आफूले चुनेका प्रतिनिधिसँग प्रत्यक्ष साक्षात्कार गर्न चाहन्छन् ।
तर जनप्रतिनिधिको प्राथमिकतामा भने आफ्ना मतदाताका गुनासा सुन्ने र अन्तरक्रिया गर्ने विषय पर्दैन । जसका कारण गाउँमा हुने अधिकांश विकास निर्माण जनताको चाहना र आवश्यकता भन्दा पनि स्थानीय तहले विनियोजन गरेका भरमा कार्यान्वयन गर्नुपर्ने अवस्था छ । जनप्रतिनिधि र नागरिकबीचको दूरी बढ्दै जाँदा स्थानीय सरकारको कार्यशैली र कार्यसम्पादनप्रति समेत असन्तुष्टी बढ्दै गएको छ ।
तर जुम्लाको तातोपानी गाउँपालिकाका जनप्रतिनिधि भने नागरिकको गुनासो सुन्न गाउँ गाउँ पुग्न थालेका छन् । प्रत्यक्ष नागरिकमाझ पुगेर गुनासो, सल्लाह र सुझाव संकलन गरेर नीति निर्माणदेखि सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित तातोपानीका जनप्रतिनिधि गाउँ गाउँ पुग्न थालेका छन् । तातोपानीका ८ मध्ये ३ वटा वडामा सम्पन्न सार्वजनिक सुनुवाईमार्फत जनप्रतिनिधिलाई झण्डै ४० जना भन्दा बढी नागरिकले विकास र सेवा प्रवाहबारे गुनासो पोखेका छन् ।
उनीहरुले आफ्ना जनप्रतिनिधि गाउँमै भेट हुँदा खुसी पनि व्यक्त गरेका छन् । प्रायः पालिकाको केन्द्रमा मात्रै सीमित हुने सार्वजनिक सुनुवाई कार्यक्रमलाई वडा वडामा आयोजना गरी गाउँका नागरिकका गुनासा सुन्न र नीति तथा कार्यक्रममा सुधार ल्याउने अभ्यास थालिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
‘एउटै वडामा करोडौंका योजना निर्माण भएका छन् । तर प्रतिनिधि नागरिकको दूरी बढ्दा असन्तुष्टी बढ्दो छ’ उनले भने, ‘आफ्ना सुख दुःखमा समेत स्थानीय सरकार साथमा छ भन्ने अनुभूति दिलाउन गाउँ गाउँ पुगिरहेका छौं ।’ तातोपानीका ३ वटा वडामा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षलगायतका सरोकारवाला पुगेका छन् । अन्य ५ वटा वडामा समेत दसैं अघि नै पुग्ने र गुनासा सुन्ने कार्यतालिका रहेको छ ।
३ वटा वडामा सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रम नागरिकले प्राय योजनामा बजेट कटौती हुने, योजना अनुगमनमा प्राविधिक नियमित नआउने, जनप्रतिनिधि गाउँमै नफर्किने, योजना सम्झौतादेखि भुक्तानीको प्रक्रियाबारे थाहा नहुँदा दुःख पाउने गरेको भन्दै गुनासो गरेका थिए । निर्वाचित भएको साढे दुई वर्षपछि गाउँमै पुगेका प्रतिनिधिसँग आफ्नो कुरा सुनाउन पाउँदा खुसी लागेको तातोपानी–५ की एकमाया चौलागाईले बताइन् । उनले आगामी दिनमा पनि यसरी गाउँमै आएर भेट्घाट हुने आशा व्यक्त गरिन् ।
गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले निर्वाचित भएको लामो समयपछि गाउँमा पुगेर वार्षिक गतिविधिको अवलोकन र नागरिकका गुनासा सुन्दा अझै जिम्मेवारी बोध भएको बताइन् । महिला सशक्तिकरण, क्षमता विकास, उद्यमशीलता विकासमा जोड दिँदै आएपनि नागरिकले प्रत्यक्ष भेटेर कुरा गर्ने अवसर नपाएको महशुस भएको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले पालिकाको सेवा प्रवाह र प्रशासनिक कामबारे धेरैलाई थाहा नभएकाले गाउँमै पुगेर बुझाउन जरुरी रहेको उल्लेख गरे । उनले पालिकाको टोली नै गाउँ गाउँ पुग्ने अभियानले समृद्ध, गुनासोरहित पालिका निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।






