बालविवाह रोक्न पातारासीका धामीझाँक्री र धार्मिक गुरुले गरे : प्रतिबद्धता

जुम्लामा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउन लागि परेका देखिन्छन् । बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा धार्मिक गुरु बालविवाह नगराउने निष्कर्षमा पुगेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले बालविवाह रोक्न धामीझाँक्री तथा धार्मिक गुरु अभियानको सुरुवात गरेको छ । उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिस्कार गर्ने, बाल विवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता सहित बालविवाह विरुद्धका गतिविधिमा धामीझाँक्री र धार्मिकगुरु जुट्ने निर्णय भएको हो ।

अहिले गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र धार्मिकगुरुहरू एकजुट छन् । धामीझाँक्री तथा धार्मिक कहाँ विवाहको लगन, साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ । उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आआफ्नो घर फर्काउन सुझाव दिइन्छ । त्यसैगरी धामीझाँक्री र धार्मिक गुरुहरूले अभियान मार्फत बालविवाह गरेको भोजभतेरमा नजाने प्रतिबद्धता जनाएका थिए । बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइएको पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् ।

बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ । यसको अन्त्यका लागि धामीझाँक्री नै अग्रसर हुनुपर्ने भएकाले विभिन्न विकल्पको खोजी भइरहेको उनी बताउँछिन् । विवाह गर्दा अब वडाको सिफारिस, जन्मदर्ता अनिवार्य हेर्ने गरिएको छ । उक्त गाउँपालिका भित्रका दर्जनौं धामी,झाँक्री र धार्मिक गुरुले प्रतिबद्धता जनाएकका थिए । पातारासी –३ का धामी रणबहादुर महताराले २० वर्ष नपुगेका र वडाको सिफारिस नभएकालाई लगन नदिने बताए । त्यस्तै पातारासी – २ का धार्मिक गुरु सुकबहादुर कामीले समाजको कुसंस्कार सबैको सहकार्य र समन्वयमा निरुत्साहित हुने बताए । आजको मिति बाट बालविवाह न्युनिकरणमा सहयोग गर्ने उनीहरु बताउँछन् ।

बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,धामीझाँक्री अभियानमा पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले भने,’त्यसैले अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न गाउँपालिकामा कार्यक्रम गरेका हौं। ’गाउँमा अब उमेर पुगी गरेको विवाहमा मात्र आफूहरू जाने व्यवस्था गरेको अध्यक्ष बोहोराले बताए ।

महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार धामी रणबहादुर महताराको संयोजकत्वमा गाउँपालिका स्तरीय १५ सदस्यिय धार्मिक सञ्जाल गठन गरिएको छ । अब विस्तारै यो अभियान ७ वटै वडामा संचालन हुनेछ । बालबिवाह न्युनिकरणमा पछि हट्ने जोसुकै लाई राज्यको सेवा सुविधा रोक लगाउने गाउँपालिकाले जनाएको छ ।

गिरीले बाल विवाह, छाउपडी, घरेलु हिंसा जारी प्रथाजस्ता सामाजिक विकृतिमुक्त गाउँपालिका बनाउने अभियानमा धाँमीझाँक्री र धार्मिकगुरुहरूको साथ र सहयोगले उत्साह थपिएको बताइन् । ’हामी हिंसा र विभेदमुक्त समाज बनाउने अभियानमा छौं। यो अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौं,’ उनले भनिन् ।

धामीझाँक्रीहरु बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई साथ नदिने बताउँछन् । उनिहरु भन्छन्, ‘बालबालिको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यलगायतको जिम्मेवारी अभिभावको हो, त्यस कारण कर्तव्यभन्दा बाहिरको कुरालाई धार्मिकगुरु र धामीझाँक्रीले स्विकार्दैन ।’ नेपालको कानुनले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ ।

तर विवाहका लागि महिलालाई २० र पुरुषका हकमा २२ वर्षको उमेर हक तोकेको छ । कानून विपरितका कार्य गर्नेलाई जेल र जरिवानाको सजाय पनि तोकिएको छ । मुलुकी ऐन, २०७४ को दफा १७३ ले बालविवाह गर्न नहुने भनी उल्लेख गरिएको छ । नेपाली समाजमा बिग्रेका छोराछोरीहरुको विवाह गरिदिएमा सुध्रिन्छन् भन्ने गलत मान्यताका कारण पनि उमेर नै नपुगी विवाह गर्ने गलत परम्परा छ ।

यसले भविष्यमा बिकराल रुप लिने जैन बाविरोका धामीझाँक्री पातारासी –७ की तारादेवी थापा बताउँछिन् । पालिका स्तरमा रहेका हरेक धामीझाँक्रीहरुले एक हौं भन्ने सन्देश दिएको छ ।’ सुगम स्थानमा भन्दा दुर्गम, पछौटेपन र शिक्षा कम भएको स्थानमा बालविवाहको रुप डरलाग्दो देखिन्छ । जुम्लामा अहिलेसम्म बालबिवाह गर्नेको यथार्थ तथ्यांक छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालयको २ आर्थिक वर्ष अगाडिको तथ्यांक अनुसार जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए ।

बालविवाह रोक्न पातारासीका धामीझाँक्री र धार्मिक गुरुले गरे : प्रतिबद्धता

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी

बालविवाह रोक्न पातारासीका धामीझाँक्री र धार्मिक गुरुले गरे : प्रतिबद्धता

ओखरका बिरुवा बेचेर करोडौं रुपैयाँ