स्थानीय तहको लापरबाहीले दोस्रो किस्ता पाउन मुस्किल

भूकम्प गएको चार महिना बित्दासम्म जाजरकोटका भूकम्प पीडितले अझैसम्म दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भेरी, नलगाड, छेडागाड, जुनिचाँदे, कुशे, शिवालयका स्थानीयबासीले दोस्रो किस्ता पाउन सकेका हुन् । भूकम्पले घर भत्किएका उनले अस्थायी आवासवापतको २५ हजार पाएर टहरा पनि बनाइसके पनि उनीहरूले दोस्रो किस्ता पाउन नसकेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० मा दोस्रो किस्ता निकासा दिनुभन्दा पहिले स्थानीय तहलाई विपद् पोर्टलमा लाभग्राहीको भत्काएको घर र अस्थायी आवासको फोटो सहितको विवरण अपलोड गरी सबमिट गर्नुपर्ने प्रावधान छ । तर, जाजरकोटका भेरी नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहले उक्त काम सुरु नै नगरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

विपद् पोर्टलमा करिब तीन हजार बढी लाभग्राहीको विवरण अपलोड गर्ने काम गरिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । नेपाल रेडक्रसको सहयोगमा विपद् पोर्टलमा विवरण अपलोड गर्ने काम भइरहेको उनले बताए । तर, अन्य ६ वटा पालिकाले अहिलेसम्म काम नै सुरु गरेका छैनन् । कार्यविधिअनुसार विपद् पोर्टल नामक एपमा लाभग्राहीको आवश्यक विवरण अध्यावधिक गरेर दोस्रो किस्ताको रकम माग गर्न आग्रह गरे पनि हालसम्म कुनै पनि पालिकाले रकम माग गरेका छैनन् ।

सबै पालिकाका प्राधिविकलाई उक्त एप्ससम्बन्धी तालिमसमेत दिइएको छ । ‘भेरीले विपद् पोर्टलमा विवरण भर्ने काम गरिरहेको जानकारी पाएको छु तर अन्य पालिका कसैले पनि काम नथाल्दा दोस्रो किस्ता वितरणमा ढिलाइ भएको हो,’ प्रजिअ सुनारले भने । जिल्लाका सातवटै पालिकामा गरी ३६ हजार ८५५ परिवारले पहिलो किस्ताको रकम पाइसकेका छन् । २७ हजार अस्थायी आवाससमेत बनिसकेका छन् तर उनीहरूले स्थानीय सरकारको लापरबाहीले दोस्रो किस्ता पाउन सकेका छैनन् ।

दोस्रो किस्तामात्र होइन केही भूकम्पपीडितले अझै अस्थायी आवासको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । पुनर्निर्माणका काम अघि बढ्नुपर्ने बेलासम्मसमेत अस्थायी आवासका लागि पाँच हजार ६६९ लाभग्राहीले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् । स्थानीय तहको ढिलासुस्तीका कारण सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको दोस्रो किस्ताको रकम जिल्ला प्रशासन कार्यालयमा थन्किएको छ भने पहिलो किस्ता रकम वितरण नगर्दा पालिकाको खातामै थन्किएको छ ।

हिउँदको चिसो त्रिपाल र टेन्टमुनि बस्दै आएका भूकम्पपीडित चिसो थेग्न नसकेपछि चर्किएका घरमा सर्न थाले पनि स्थानीय तहको वितरण प्रक्रिया कछुवा गति हुँदा भूकम्पपीडितको विजोग भएको छ । ४२ हजार ५२४ लाभग्राहीका अस्थायी आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाएको एक अर्ब ५३ करोड ४१ लाखमध्ये सातवटा पालिकाको खातामा एक अर्ब तीन करोड ४१ लाख निकासा भएको छ ।

पालिकाले ३६ हजार ८५५ लाभग्राहीलाई ९२ करोड १३ लाख पहिलो किस्ता २५ हजारका दरले वितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार चैतको पहिलो हप्ता हुन लाग्दासमेत अझै पाँच हजार ६६९ जना लाभग्राहीले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । स्थायी पुनर्निर्माणको काम अहिलेसम्म थालनी हुन नसक्दा पीडितको विजोग भएको छ । भूकम्पपीडित अस्थायी टहरामा टिनले पोल्न थालेपछि चर्किएका घरमा बस्न बाध्य छन् ।(कारोबार)

स्थानीय तहको लापरबाहीले दोस्रो किस्ता पाउन मुस्किल

बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग बयान

स्थानीय तहको लापरबाहीले दोस्रो किस्ता पाउन मुस्किल

बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा