सडक सञ्जालको विस्तारसँगै हराए राजमार्ग छेउका बजार


कुनै बेला निकै ठुलो बजार रुपमा विकास भएका कालीकोटका लालीघाट र जितेगडा बजार अहिले हराएका छन् । कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने संगमस्थलका रुपमा रहेका लालीघाट बजार, जितेगडा बजार अहिले सुनसान छन् । कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लाका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका नरहरिनाथ गाउँपालिकाको लालीघाट बजार र खाँडाचक्र नगरपालिकामा पर्ने जितेगडा बजार अहिले हराएका छन् ।

विगतमा दैनिक करोडौंको व्यापार हुने नरहरिनाथ गाउँपालिकाको लालीघाट बजार र जितेगडा बजार अहिले पूर्णरुपमा खालि बनेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लाको प्रमुख व्यापारिक केन्द्र थिए । तर, अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार हराएको जितेगडामा लामो समय व्यापार गरेका कालीकोट उद्योग बाणिज्य संघका पूर्वउपाध्यक्ष तिलबहादुर शाही बताउँछन् ।

‘हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा करौडौंको व्यापार हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले गाउँगाउँमा सडकको पहुँच पुगेको छ । कर्णाली राजमार्गले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भए ।’

सडक सञ्जाल विस्तार नहुँदासम्म मुख्य व्यापारिक केन्द्रका रुपमा रहेका बजारहरु सडक पुगेपछि व्यापार हुन छाडेपछि सुर्खेत झर्नु परेको पूर्वउपाध्यक्ष शाहीले बताए । ‘निकै चलहपहल भइरहने बजार अहिले सुनसान छ,’ उनले भने, ‘विगतका व्यापारिक केन्द्रहरुका व्यापारीहरु अहिले कोही गाउँ फर्के । कसैले व्यवसाय नै छाडिदिए ।’

कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग बनेपछि बनेका बजार र कर्णाली नदी बाढी पहिरोको उच्च जोखिममा रहेकोले पनि अहिले व्यापारीहरुले जोखिम मल्न नचाहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउँछन् ।

‘कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्’, उनले भने, ‘जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले पनि लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् ।’

कर्णाली र तिला नदीको किनारमा रहेका जिते, र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले अयन्त्र सर्न पुगेको अध्यक्ष विष्टले बताउँछन् । ‘विसं २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो’, उनले भन्छन्, ‘पहिला व्यापार राम्रो हुने भएका कारणले पनि बजार सर्न मानेका थिएनन् । अहिले व्यापार कम हुँदै गएपछि बजारहरु बन्द भएर अहिले सुनसान भएका हुन् ।’

कर्णाली राजमार्गको खुलालुमा पुल नबन्दासम्म लालीघाट र जितेगडा बजार जोड्ने फेरी सञ्चालन थियो । हुम्ला, मुगु, बाजुरा र कालीकोटका ग्रामिण सडक नबनेका कारण बनेका बजारहरु अहिले गाउँगाउँमा सडक पुगेपछि पुराना बजार हराएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

‘विगतमा बजारको अर्को विकल्प नभएका कारणले लालीघाट र जितेगडा बजारका रुपमा विकास भएका छन्,’ उनले भने, ‘अहिले गाउँगाउँमा सडक सञ्जाल पुगेका कारण बजारहरु खण्डहरमा परिणत भएका हुन् ।’ वि.सं. २०७८ सालसम्म निकै चहलपहल हुने लालीघाट र जितेगडा बजार अहिले सुनसान बन्नुको कारण कर्णाली नदी र तिला नदीको जोखिम हुनुका साथै व्यापरिक गतिविधि कम हुँदै जानु रहेको कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए ।

‘व्यापार कम हुन थालेपछि त्यहाँका व्यापारीहरु अन्यन्त्र क्षेत्रमा जान थाल्नुभयो,’ उनले भने, ‘अहिले त्यहाँका व्यापारीहरु अन्य क्षेत्रमा पुगेका छन् ।’ सुर्खेतदेखि जुम्ला कर्णाली राजमार्ग २ सय ३२ किलोमिटर सडक आफैमा साँगुरो अप्ठयारो त छँदैछ त्यसमा पनि राजमार्ग आसपासमा रहेका बजारहरुका घर सडक छेउमै जोडिने गरी बनाईदा दुर्घटनाको जोखिम उस्तै छ ।

हरायो टुनीबगर र खिड्कीज्यूँलाको रौनक
कुनै बेला कर्णाली राजमार्ग अन्र्तगत सुर्खेतदेखि कालीकोटसम्म दर्जनौ बजारहरु थिए । त्यस्तै, दैलेख जिल्लाको आठबिस नगरपालिकामा रहेको टुनिबगर बजार र खिड्कीज्यूँला बजारको रौनक पनि हराएको छ ।

अछाम, दैलेख, हुम्ला, मुगु, र कालीकोट जिल्लाका बजार रहेका टुनिबगर र खिड्कीज्यूँला बजार अहिले सडक बिस्तारसँगै कारण रौनक हराएको छ । विगतमा ठुला–ठूला बजारका रुपमा विकसित भएका यी दुई बजारहरु अहिले सामान्य अवस्थामा रहेका छन् ।

विगतमा सडक बिस्तार हुँदै जादाँ सडकसँगै जाने व्यापारीहरु अहिले ग्रामिण सडक खुलेसँगै गाउँ जान थालेका छन् । २०६४ सालदेखि २०७० सालसम्मको एक दशकमा टुनीबगर, खिड्कीज्यूँला बजारको रौनकता रहेको भएपनि सडक बिस्तारसँगै ती बजारहरु कालीकोटको लालीघाट बजार र जितेगडा सरेका थिए । तर, अहिले ति बजारहरु हराउँदै गएको दैलेख आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले बताए ।

‘आम्दानीको स्रोत मानिने यस नगरपालिकाको रामाघाट, टुनीबगर र राकम कर्णाली, खिड्कीज्यूँला बजारलाई मुख्य व्यापारिक केन्द्र मानिदै आएको छ,’ उनले भने, ‘विगतमा निकै राम्रो बजारका रुपमा विकास भएका टुनीबगर र खिड्कीज्यूँला बजारमा व्यापारमा कमी आएको छ ।’

गाउँ–गाउँ पुगे बजार
कुनै बेला हाट बजारमा लागि टाढा–टाढासम्म पुग्ने दुर्गम तथा पहाडी जिल्लाका नागरिकहरु अहिले गाउँमा नै सडक पुग्न थालेपछि राजमार्ग छेउछाउँका बजारहरु हराउन थालेका छन् । जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् ।

गाउँबस्ती सडक सञ्जालमा जोडिएपछि सर्वसाधारणलाई देशका अन्य सहरसँगको पहुँचमा सहज भएको छ, भने कतिपय ग्रामीण क्षेत्रमा नयाँ–नयाँ भौतिक संरचना निर्माण हुन थालेका छन् । गाउँका स्वरुप फेरिन थालेका छन् । कतिपय ठाउँमा ससाना बजार विकास हुन थालेका छन् ।