प्रभावकारी बन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रम

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ को सूर्य प्रकाश माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययन गर्ने ११ बर्षिया सुवास पहारीको सानैदेखि आँखा कमजोर रहेको थियो । उनी आफ्नो आँखा कमजोर भएको सुवासले थाहा पाएका थिएनन् । उनले शिक्षक अगाडी बोर्डमा लेखेको बिषय राम्रोसँग देख्न सक्दैनथँे र पाठ्य पुस्तकमा लेखिएको अक्षर पनि राम्रोसँग चिन्न सक्दैनथेँ ।
सुवासले त्यो बिषयमा आफ्ना अभिभावकलाई पनि बताएका थिएनन् । उनका बुबा वैदेशिक रोजगारीको शिलशिलामा खाडीमूलक रहेका छन् भने आमा घरमा नै खेती किसानको काम गर्छिन् । तर, उनलाई पढ्नको लागि समस्या भइरहेको थियो । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सुर्खेत आँखा अस्पतालको सहयोगमा विद्यालयका शिक्षकलाई आँखाको ज्योती जाँच सम्बन्धि तालिम दिइयो र तालिम पश्चात शिक्षकहरुले विद्यालयमा विद्यार्थीको आँखा जाँच गरियो ।
सुवासको आँखा पनि जाँच गरियो । उनको आँखाको ज्योती कमजोर रहेको पाइएयो । रेडक्रस सोसाइटीले सञ्चालन गरेको सुर्खेत आँखा अस्पतालका दक्ष नेत्र चिकित्सकले सुवासको आँखा जाँच गर्दा पावर भएको चश्मा लगाउनु पर्ने भयो ।
सुवासलाई सुर्खेत आँखा अस्पतालले विद्यालयमा नै पुगेर आँखाको जाँच गर्दा अलि बढी पावर भएको चश्मा लगाउनु पर्ने भएकाले अस्पतालले निःशुल्क चश्मा दिएको अस्पतालका नेत्र चिकित्सक मनिश रामजालले बताए । ‘विद्यालयमा आँखा जाँच कार्यक्रममा सञ्चालन गरेर निःशुल्क चश्मा वितरण गर्ने गरेका छौं ।’ उनले भने,‘सुवासको आँखा जाँच गर्दा उनले चश्मा लगाउनु पर्ने अवस्था आएको हो ।’
अहिले सुवासले चश्माको प्रयोगले राम्रोसँग देख्ने भएको बताए । ‘मैले चश्मा लगाएको पहिलो पटक हो । चश्मा लगाएर विद्यालयमा आउनका लागि अलि अप्ठयारो लाग्छ ।’ उनले भने, ‘चश्मा लगाएपछि सरले पढाएको र पाठ्य पुस्तकमा भएका अक्षर राम्रोसँग पढ्न पाएको छु ।’
त्यस्तै, अर्का पात्र हुन् प्रभाकर रोकाया । उनी पनि त्यसै विद्यालयमा कक्षा–८ मा पढ्छन् । उनी अहिले १२ बर्षका मात्रै भए । उनलाई सानै उमेरमा नै आँखा समस्या रहेको थियो । उनले पनि अहिले विद्यालय आँखा जाँच कार्यक्रमबाट चश्मा पाएका छन् र उनलाई पढ्नका लागि सजिलो भएको छ ।
सुर्खेतका झण्डै नौ हजार विद्यार्थीको आँखा जाँच
सुर्खेतको पञ्चपुरी नगरपालिका र लेखबेँसी नगरपालिकामा झण्डै हजार विद्यार्थीको आँखाको दृष्टी परीक्षण गरिएको सुर्खेत आँखा अस्पतालले जनाएको छ । आइकेर फाउण्डेसनको सहयोगमा विद्यार्थीको आँखाको दृष्टी परीक्षण गरिएको अस्पतालको भनाई रहेको छ ।
पञ्चपुरी नगरपालिका र लेकबेसी नगरपालिकाका १६ हजार आठ सय ३६ जना विद्यार्थीको आँखाको दृष्टीको परीक्षण गरिएको सुर्खेत आँखा अस्पतालका व्यवस्थापक धनबहादुर थापाले जानकारी दिए । ‘हामीले पञ्चपुरी नगरपालिकाका आठ हजार छ सय ६८ जना विद्यार्थी र लेकबेँसी नगरपालिकाका आठ हजार एक सय ६८ जना विद्यार्थीको आँखाको दृष्टी परीक्षण गरेका थियौं ।’
उनले भने, ‘त्यस मध्ये पञ्चपुरी नगरपालिकाका एक सय ८० जना विद्यार्थीको दृष्टी कमजोर देखिएकोमा एक सय २६ जना विद्यार्थीलाई चश्मा दिइएको छ । लेकबेँसी नगरपालिकाका दुई सय ८९ जनामा दृष्टी कमजोर देखिएकोमा दुई सय १९ जनालाई निःशुल्क चश्मा दिएका छौं ।’
विद्यालयमा विद्यार्थीको आँखा दृष्टी परीक्षणका लागि शिक्षकलाई तालिम समेत दिइएको व्यवस्थापक थापाले जानकारी दिए । ‘हामीले पञ्चपुरी नगरपालिकाका सबै विद्यालयका ५६ जना शिक्षकलाई र लेकबेँसी नगरपालिका ५१ जना शिक्षकलाई आँखाको दृष्टी परीक्षणको तालिम दिएका छौं ।’ उनले भने,‘शिक्षकहरुलाई आँखा परीक्षणको उपकरण पनि उपलब्ध गराएका छौं ।’
शिक्षकहरुले नै पहिलो चरणको दृष्टीको जाँच विद्यालयमा नै गर्ने र विद्यालयमा सिफारिसमा सुर्खेत आँखा अस्पतालका कर्मचारी विद्यालयमा नै गएर थप जाँच गर्ने गरेको सुर्खेत आँखा अस्पतालका व्यवस्थापक थापाले बताए ।
त्यस्तै, सुर्खेत आँखा अस्पतालले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा पनि विद्यालयमा आँखा जाँच कार्यक्रममा लागि ६५ जना शिक्षकहरुलाई तालिम दिएको त्यहाँका विद्यार्थीहरुको आँखाको दृष्टी परीक्षण हुन बाँकी रहेको सुर्खेत आँखा अस्पतालका व्यवस्थापक थापाले बताए । ‘अहिले विद्यालयमा वर्षे विदा भएका कारणले आँखाको जाँच गर्न सकिएको छैन् ।’ उनले भने, ‘चाडै त्यहाँ पनि विद्यार्थीको आँखाको दृष्टीको जाँच गर्ने लक्ष्य राखेका छौं ।’
सामान्य अस्पतालबाट अहिले बन्यो सुबिधा सम्पन्न
नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको अगुवाईमा वि.सं. २०४६ सालमा वीरेन्द्रनगरमा आँखा जाँच केन्द्रका रुपमा स्थापना भएको थियो । सोही केन्द्रलाई विस्तार गरी हाल सुर्खेत आँखा अस्पताल बनाइएको हो । सानो कटेरोबाट आँखा सम्बन्धी परामर्श सेवा सुरु गरेको यो अस्पताल अहिले गुमेको ज्योति समेत फिर्ता गराउने तहमा पुगेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका अध्यक्ष रामलाल आचार्यले बताए ।
‘२०७४ साल १० जेठ बाट यो असपताल सञ्चालनमा ल्याएका हौ ।’ उनले भने,‘अहिले यो अस्पतालबाट कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनीका नागरिकलाई सेवा दिइरहेका छौ ।’ सरकारले भोगाधिकार दिएको करिब दुई विगाहा जग्गामा सुविधायुक्त भवन बनाइएको अस्पतालमा अस्पतालमा आँखा सम्बन्धी सबै जाँच र शल्यक्रियाको सुविधा उपलब्ध रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
‘यो अस्पतालले आँखा जाँच र शल्यक्रिया मात्र होइन गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निःशुल्क शिविरहरू समेत सञ्चालन गर्दै आएको छ ।’ उनले भने,‘अस्पतालले अहिले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई निःशुल्क सेवासमेत प्रदान गर्दै आएको छ । आउँदा दिनमा पनि यसलाई जारी राखिने रेडक्रसले जनाएको छ ।’
प्याकेमेट्री, ए स्क्यान, चश्मा बनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्यून दृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर तथा उपकरण, अस्पताल हाताभित्रै बालबालिका लागि बाल खेल मैदानसँगै अपाङमैत्री भौतिक संरचना निर्माण गरिएको अस्पतालले जनाएको छ ।





