कारागार भवन निर्माण सुरु


लामो समयपछि जिल्लामा कारागार भवन निर्माण कार्य सुरु भएको छ । सघन सहरी विकास कार्यालय जुम्लाले यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि कारागारको भवन निर्माण कार्य सुरु भएको हो ।

प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जिल्ला प्रहरी हाता भित्रै रहेको कारागारको आफ्नै जग्गामा भवन निर्माण कार्य सुरु गरेको बताए ।

उनले पटक पटकको आग्रहपछि कारागार भवन निर्माण अगाडि बढेको जानकारी दिए । पुरानो जीर्ण भवन भत्किएको १७ वर्षपछि कारागारको नयाँ भवन निर्माण कार्य भएको हो ।

कारागार भवनका लागि यसअघि घेरवार भइसकेको थियो । भवन निर्माणका लागि धेरै निकायसँग हारगुहार गरिएको भए पनि त्यो काम सम्भव भएको थिएन् ।

भवन निर्माणका लागि लगानी गर्ने सघन सहरी विकास कार्यालय जुम्लाका सब–इन्जिनियर विमल रावतले भवनको चालिस प्रतिशत कार्य पुरा भएको बताए ।

आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने उनले बताए । यसका लागि कार्यालयले दुई करोड १९ लाख लागतमा भवन निर्माण कार्य भइरहेको हो ।

कारागारको भवन नहुँदा १३ जना कैदीबन्दी थुनुवासँग प्रहरी हिरासतमा बस्दै आएका छन् । सबै कैदीबन्दीलाई प्रहरीले हाल दुई वटा कोठामा राख्दै आएको छ । कारागार नभएको कारण प्रहरीले निक्कै कठिनाइका साथ कैदीबन्दीको व्यवस्थापन गर्दै आएको छ ।

कारागार भवन निर्माण सुरु

विमानस्थलमा जमेको फोहोर उठाइयो