जिवनज्योति स्कुलको अभिभावक दिवस सम्पन्नः बालबालिकाको सर्वाङ्गीण विकासमा जोड


सरला सुवेदी ।

कोहलपुरको जिवनज्योति स्कुलले कक्षा नर्सरी र एक कक्षाका विद्यार्थीहरूका लागि विशेष अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको शैक्षिक गुणस्तर र सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रममा बालबालिकाले कला, संस्कृति, र परम्परा झल्किने नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षक, र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भेरी अस्पतालका फिजिसियन डा. कृष्ण मोहन अधिकारीले विद्यालयले बालबालिकाको गुणस्तरीय शिक्षासँगै उनीहरूको सिर्जनशीलता र बहुआयामिक विकासका लागि गरेको प्रयास निकै प्रशंसनीय रहेको बताए । उनले पछिल्लो समय अभिभावकहरूको व्यस्तता र मोबाइल फोनको अत्यधिक प्रयोगले बालबालिकाको पढाइमा परेको प्रभावप्रति चिन्ता व्यक्त गरे । उनले भने, “बालबालिकाको पढाइ र व्यक्तित्व विकासका लागि अभिभावकको समय र सहयोग अपरिहार्य छ। जिवनज्योति स्कुलले शिक्षणसँगै अतिरिक्त क्रियाकलापमा दिएको ध्यान अन्य विद्यालयका लागि प्रेरणादायी छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चण्डी प्रसाद गैरेले जिवनज्योति स्कुलले छोटो समयमा शिक्षा क्षेत्रमा हासिल गरेको सफलताले बाँके जिल्लामै छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे । उनले विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि अपनाएको नीति, बालमैत्री वातावरण, र सिर्जनशील कार्यक्रमहरूको प्रशंसा गर्दै विद्यालयलाई “कोहलपुरको शैक्षिक हव” बन्ने दिशामा रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक फादर जोमन जेम्सले जिवनज्योति स्कुलले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकतामा राखेर बालबालिकाको सम्पूर्ण विकासमा ध्यान दिएको जानकारी गराए । उनले भने, “अभिभावक दिवस कार्यक्रमले अभिभावक र स्कुलबीचको सहकार्यलाई अझ सुदृढ बनाउँछ। बालबालिकाको शिक्षामा अभिभावकको समय र चासोको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। अभिभावकले समय नदिँदा र बालबालिकालाई मोबाइल जस्ता प्रविधिको अति प्रयोगमा छोडिदिँदा उनीहरूको पढाइमा नराम्रो असर पर्न सक्छ। त्यसैले हामी सबैले बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक छ।”

विद्यालयले कक्षा नर्सरीदेखि तीन कक्षासम्मका बालबालिकाका लागि विभिन्न चरणमा अभिभावक दिवस कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस प्रकारका कार्यक्रमहरूले बालबालिकाको प्रतिभा उजागर गर्न, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न, र अभिभावक र विद्यालयबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने विद्यालय प्रशासनले विश्वास लिएको छ।

अभिभावकहरूले पनि विद्यालयले बालबालिकाको शिक्षामा गरेको प्रयासप्रति खुसी व्यक्त गरेका थिए। विद्यालयको यस प्रकारको पहलले बालबालिकालाई सिर्जनशील र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको धारणा थियो।

समग्रमा, जिवनज्योति स्कुलको यो प्रयास न केवल शैक्षिक गुणस्तरको सुधारमा केन्द्रित छ, तर बालबालिकालाई सांस्कृतिक, नैतिक, र सामाजिक चेतनाले भरिपूर्ण बनाउने दिशामा पनि महत्वपूर्ण छ। यस्तो उदाहरणीय प्रयासले कोहलपुरलाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न ठूलो टेवा पु¥याउने देखिन्छ।