प्रदेश अस्पतालमा थपियो अत्याधुनिक एमआरआई


कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक प्रविधिको म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग (एमआरआई) मेसिन सञ्चालनमा आएको छ । ठुलो क्षमता र अत्याधुनिक प्रविधिसहितको एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि कर्णालीवासीलाई महँगो खर्च गरेर प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश अस्पतालमा यो प्रविधिबाट उपचार सेवा सुरु भएसँगै मानव शरीरमा रहेका पदार्थ एवं तत्वहरुको चुम्बकीय गुण प्रयोग गरी शरीरका विभिन्न अंग र भागहरुको चित्रण गरी विभिन्न रोग एवं अवस्थाहरुको यथेष्ट पहिचान गर्न सहज हुनेछ ।

शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले तीन टेस्ला ६४ च्यानलको अत्याधुनिक एमआरआई मेसिनको समुद्घाटन गरेका हुन् । हाल अस्पतालमा जडान गरिएका मेसिनभन्दा यो मेसिन तीन गुणा बढी क्षमताको छ । ठुलो क्षमता भएकाले यसबाट बिरामीको जाँच गर्न छिटो र स्तरिय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर अन्य मेसिनले ३० मिनेट लगाउँने बिरामीलाई यो मेसिनबाट झण्डै पाँच मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउनसमेत सजिलो हुने अस्पतालले जनाएको छ ।

झण्डै २९ करोड बढीको लागतमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसिन जडान गरिदिएको हो । अत्याधुनिक एमआरआई प्रयोगमा आएसँगै सस्तो दरमा सेवा उपलब्ध गराउन सकिने कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । खड्काका अनु्सार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधियूक्त हो । हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको जाँच भइरहेको छ । दैनिक २५ देखि ३५ जना बिरामी जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित उच्च गुणस्तरको मेसिन रहेको उल्लेख गर्दै निर्देशक खड्काले आवश्यक परेको खण्डमा २४ सै घण्टा सेवा दिन अस्पताल तयार रहेका बताए ।

देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । तर प्रदेश अस्पतालमा जडान गरिएको यो मेसिनबाट एकै दिनमा रिपोर्ट दिन सकिने उनले बताए । एमआरआई मुख्य रुपमा चिकित्सा विज्ञानमा विभिन्न रोग र अवस्थाहरुको निदान र चित्रणका लागि प्रयोग हुन्छ । मस्तिष्क, मेरुदण्ड, हाड जोर्नी तथा मांसपेशी, रक्तनलीहरु लगायत नरम तन्तुहरुको परिक्षण र चित्रणका लागि एमआरआई पहिलो रोजाईको प्रविधि हो । यस अलावा विभिन्न खोज अनुसन्धानहरुमा पनि एमआरआई प्रयोग गरिन्छ ।

शरीरको कुनै भागमा ,विशेष गरि मस्तिष्कमा, रहेका पानीका अणुहरुको चालमा आधारित रहने यो विधि मस्तिष्कघातका विरामीहरुमा इस्किमिया शरिरका कुनै भागका तन्तुहरुको रक्त प्रवाहमा अवरोधका कारण हुने मस्तिष्कका तन्तुहरुको मृत्यु पत्ता लगाउन प्रयोग हुन्छ । यो परिक्षण विधि प्रयोग गरी नयाँ र पुरानो इन्फार्कसन छुटाउन सकिन्छ ।

प्रविधिमार्फत मस्तिष्क घात भएको एक दुई घण्टा भित्रै इन्फार्कसन पत्ता लगाई उचित उपचार सुरु गर्न सम्भव हुन्छ । शरीरको कुनै विशेष भागमा रक्त प्रवाह नाप्न प्रयोग गरिने यो परिक्षण विधि प्रयोग गरी मस्तिष्क घातका बिरामीहरुमा रक्त प्रवाह घटेका मस्तिष्कको जोखिम क्षेत्रको पहिचान गर्न सकिन्छ । मस्तिष्क घातको तुरुन्त पश्चात् मस्तिष्कका तन्तुहरुको मृत्यु र रक्त प्रवाह घटेका क्षेत्रको पहिचान गर्न सकिने भएकाले समयमै उचित निदान र उपचार गरी जोखिममा रहेका मस्तिष्कका तन्तुहरुलाई सुरक्षित अवस्थामा फर्काउन यो परीक्षणले अत्यन्त महत्वपूर्ण भुमिका खेल्ने निर्देशक खड्काले बताए ।

‘उत्कृष्ट सेवा दिनुस्, प्रदेश सरकार साथमा छ’

एमआरआई सेवाको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवाको अनुभुति हुनेगरी काम गर्न निर्देशन दिए । प्रदेश अस्पताल कर्णालीको गौरवको विषय भएको उल्लेख गर्दै यसलाई थप विशिष्टिकृत बनाउन सरकारले योजना बनाई रहेको मुख्यमन्त्री कँडेलले बताए ।

अस्पतालको सामान्य गल्तिले विरामी र आम नागरिकमा ठुलो असर पर्न सक्ने भन्दै सेवा दिँदा ध्यान दिन मुख्यमन्त्री कँडेललको सुझाव थियो । प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने विषयमा आवश्यकताको आधारमा संरचना र सञ्चालनको मोडल एकिन नभई अगाडि बढ्नु हतारो हुने उनले बताए ।
‘प्रदेश अस्पतालका आगामी संरचना विकास र संचालनबारे यो क्षेत्रका विज्ञसँग छलफल गरी अध्ययनपछिको यथार्थ रिपोर्टका आधारमा प्रदेश सरकार अघि बढ्नेछ,’ कँडेलले भने, ‘तथ्यले जे बताउँछ सो आधारमा प्रदेश सरकार अगाडि बढ्छ । गर्नैपर्ने काममा सामुहिक निर्णय गर्न सबै तयार हुनुपर्छ । प्रदेश अस्पताल अझै यो भन्दा राम्रो बन्छ र बनाउनु पर्छ, तर कसरी बनाउने भन्ने बारेमा तर्क वितर्क गर्नुभन्दा पनि दिगो उपाय खोज्न जरुरी छ र त्यो मैले गरिरहेको छु ।’

अब प्रदेश अस्पतालमै हुनेछ क्यान्सर उपचार

कर्णाली प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ । संघीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो ।

१८ भदौमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काबीच सेवा विस्तार सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ । कर्णालीमा सेवा विस्तार हुने भएसँगै यहाँका नागरिकलाई प्राण घातक रोग क्यान्सरको उपचार गर्न अन्यत्र प्रदेश धाउन पर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रदेश अस्पतालमा थपियो अत्याधुनिक एमआरआई

YUGAAWHAN NATIONAL DAILY (2081-05-29)