लथालिंग हुँदै भेरी करिडोर


भेरी करिडोरको ११८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अलपत्र परेका छन् । ५६ किलोमिटर खण्डमा पिचको काम जारी रहे पनि बाँकी ६२ किलोमिटरका लागि अझै बोलपत्र आह्वान भएको छैन ।

नेपाली सेनाले अस्थायी ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडक स्तरोन्नति नहुँदा दैनिक यो क्षेत्रमा यात्रा गर्ने यात्रुलाई समस्या हुँदै गएको छ । जाजरकोटको पासागाडदेखि नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा पिचको काम यती बिल्डर्सले गरिरहेको छ । यही सडकमा क्याराभान कन्स्ट्रक्सनले ५ वटा पुलको काम पूरा नगरी अलपत्र पारेको छ । बाँकी ६२ किलोमिटर अर्थात् तल्लुदेखि डोल्पाको दुनैसम्म पिचको लागि बोलपत्र आह्वान नै गरिएको छैन । भेरी करिडोर ३१० किलोमिटरमध्ये ५६ किलोमिटर सडक खण्डमा मात्र पिचको काम जारी छ ।

तल्लुदेखि दुनैसम्म अस्थायी ट्रयाकमात्र निर्माण भएर यातायातका साधन मुस्किलले चले पनि अत्यधिक दुर्घटनाका कारण यो ‘मृत्यु मार्ग’ जस्तै भएको छ । दुनै–ल्यासिक्या सडक खण्डमा समेत २०७८ चैत १७ गते ठेक्का गरेर सूर्य श्रेया शान्तिदेवी जेभीले कामको जिम्मा लिए पनि हालसम्म १० प्रतिशत पनि काम नहुँदा दुनैबाट उपल्लो डोल्पा जाने बाटोमा समस्या हुँदै आएको छ । काइके गाउँपालिका डोल्पाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोर आयोजनालाई पटक–पटक अनुरोध गरे पनि निर्माण व्यवसायी र आयोजनाले कुनै ध्यान नदिएको गाउँपालिकाका अध्यक्ष अंगद रानाले जानकारी दिए ।

गाउँपालिकाबाट आयोजना र निर्माण व्यवसायीलाई आधा दर्जन पत्र पठाए पनि सुनुवाइ नभएको उनले बताए । गाउँपालिकाले अहिलेसम्म करिडोरलाई पत्राचार गरेका पत्रहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भेरी करिडोरलाई तत्काल निर्माण व्यवसायीलाई काममा फर्काउन आग्रह गरेको छ । उता ५ वटा पुल अलपत्र पारेको क्याराभानलाई समेत कुनै प्रकारको दबाब नदिएको पाइएको छ । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग बनाएर कामको सुरुवात गरेपछि यो आयोजना झन् लथालिंग भएको छ । एक वर्षको अवधिमा दुईजना कार्यालय प्रमुख फेरिइसकेका छन् ।

आयोजना प्रमुखमात्र बदलिने तर काम भने जहाँको त्यहीँ रहने प्रक्रियाले गर्दा डोल्पा, जाजरकोट र रुकुम पश्चिमलाई समस्या हुँदै आएको छ । काइके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुलीले करिडोरलाई पत्राचार गरेको तर जवाफ नआएको बताइन् । काम छिटो भएको भए दुनैबाट माथिल्लो भेग जान र आउन सजिलो हुनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत सहजता आउने उनको भनाइ छ । तल्लुदेखि दुनैसम्म निर्माण हुने ७ पुलको पनि निर्माण कार्य सुरु गरिएको छैन । डोल्पाको ठूली भेरीस्थित रुपगाडको पुल समेत लथालिंग भएको छ । आयोजनाको निगरानी नहुँदा निर्माण व्यवसायीको मनपरी भइरहेको छ ।

यता भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक योजनाका प्रमुख सुनिल रन्जितकारले लथालिंग भएको आयोजनालाई ट्रयाकमा ल्याउने काम सुरु गरेको बताए । त्रिदेशीय सडकको रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर भारत, नेपाल र चीनका साथै कर्णाली करिडोरसँग समेत जाडिएको छ । त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गसँग समेत जोडिएको छ ।(कारोबार)

लथालिंग हुँदै भेरी करिडोर

आफैँले काट्दै गरेको रुखमा च्याएिर एक जना

लथालिंग हुँदै भेरी करिडोर

उद्धारको ३ दिनपछि जंंगलमा छाडियो घोरल