कार्यान्वयन नहुने मानसिक उपचार नीति, उपचार गर्ने जनशक्तिसँगै पूर्वाधारको अभाव

पश्चिम सुर्खेतकी एक युवती (नाम नबताउने सर्त) सुर्खेतस्थित एक निजि अस्पतालमा उपचारका लागि धाइ रहन्छिन् । उनले बिना कारण बेहोस हुने समस्या लिएर अस्पताल धाउन थालेको झण्डै दुई वर्ष पुग्यो । उनले सो निजि अस्पतालबाट नियमित औषधी सेवन गरिरहेकी छन् । उनलाई डाक्टरले मानसिक समस्या भन्दै औषधी दिइरहेका छन् । अस्पतालले दिएको औषधी खाएपछि उनलाई केही समय निको हुन्छ । तर पुनः सोही समस्या बल्झिन्छ । ‘बिना कारण थाहै नभई बेहोस हुन्छु,’ उनी भन्छिन्, ‘डाक्टरले मानसिक समस्याले यस्तो भएको हो भन्दै औषधी दिन्छन् । केही समय त निको हुन्छ । फेरी पुरानै समस्या बल्झिन्छ ।’

ती युवतीले यहीँ समस्याबाट उन्मुक्ति पाउन ठुलो धनराशीसमेत खर्च गरिसकेकी छन् । तर समस्या भने जस्ताको त्यस्तै छ । उनलाई मानसिक समस्या देखाएका डाक्टरले औषधी दिने बाहेक अन्य कुनै पनि उपायका बारेमा जानकारीसमेत गराएका छैनन् । यतिसम्म कि उनले मानसिक समस्या भनेको केहो ? यो कसरी हुन्छ ? र कहाँ उपचार हुन्छ ? भन्नेसम्म पनि थाहा पाएकी छैनन् । केवल उनले बुझेकी छन् मानसिक समस्या भन्ने बित्तिकै आफूलाई समाजले मानसिक सन्तुलन गुमेको संज्ञा दिने डर । त्यहीँ डरका कारण उनले औषधी पनि लुकिछिपि खाने गरेकी छन् । कहिले काँही त आफैलाई मरौ जस्तो सोच आउने गरेको उनले सुनाइन । उनीमा भएको समस्यालाई डाक्टरले न रोगको संज्ञा दिएका छन् नत यसबाट सिर्जित हुने दीर्घकालिन असरका बारेमा नै भनेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा युगआह्वान दैनिकले सोधेको प्रश्नमा ती युवतीले समस्याबाट बाहिर आउन चाहेको तर उपचार पद्धतीका बारेमा थाहा नपाएको गुनासो गरिन । उनी आफूमा भएको निराशाको औषधी चाहन्छिन् । बिना कारण दिक्क लाग्ने, रमाइलोमा पनि खुशी हुन नसक्ने, कसैसँग बोल्न मन नलाग्ने, खानामा पटक्कै रुचि नहुने, निद्रामा पनि समस्या रहेको बताउँदै थिइन उनी ।

उल्लेखित यी युवतीले कर्णालीमा मानसिक समस्याको उचित परामर्शसहितको उपचार सेवाका बारेमा आवश्यक ज्ञान नहुँदा समाजमा अपहेलित भइने डर बोकेर हिड्न बाध्य व्यक्तिहरुको प्रतिनिधित्व गर्छिन । जो मानसिक समस्यामा परेका छन् । उनीहरुले उचित परामर्श सेवासहितको उपचार खोजी रहेका छन् । धेरैले जीवनप्रतिको चरम निराशा र त्यसको परिणामस्वरुप आफूलाई आफैले मार्नेसम्मका गलत निर्णयहरु लिइरहेका छन् । माथी उल्लेखित ती युवतीले समग्र कर्णालीको प्रतिनिधित्व गर्छिन । जहाँ अप्रिय घटना बाहेक सामान्य हुने मृत्युको दर भन्दा बढी मानसिक समस्यामा परेका व्यक्तिले उचित परामर्श र उपचार सेवा समयमै नपाउँदा आत्महत्या रोज्नेको संख्या बर्षेनी बढ्दो छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकले यसको पुष्टि गर्दछ । विभिन्न माध्यमको प्रयोग गरी देह त्याग गर्ने महिला, पुरुषसँगै बालबालिकाको संख्यामा पनि उल्लेख्य बृद्धि हुँँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ । कर्णालीमा प्रति लाख जनसंख्यामा १९.२३ प्रतिशतले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछन् । आफ्नो जीवन अन्त्य गर्ने उद्देश्यले गरिएको कार्यस्वरुप मृत्युवरण गरेको अवस्थालाई आत्महत्या भनिन्छ । आफ्नो जीवन अन्त्य गर्ने उद्देश्यले गरेको प्रयासलाई आत्महत्याको प्रयास हो । मनमा पीडा असह्य भएर बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाई बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्न पुग्ने मनोविद्हरु बताउँछन् । सरकारले आत्महत्या न्यूनिकरणका लागि दीगो विकास लक्ष्यसहित विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ । तर ती कार्यक्रम प्रभावकारी नबन्दा समाजमा आत्महत्या भुसको आगोसरी फैलिरहेको तथ्यांकले पुष्टि गर्छन ।

यस्तो छ कर्णालीको अवस्था
आर्थिक वर्ष २०७४/०७५ मा दुई सय ५५ जनाले आत्महत्या गरेका छन् । यस आथिक वर्षमा विभिन्न माध्यमको प्रयोग गरी एक सय १७ महिला एक सय २९ पुरुष, दुई बाल र सात बालिकाले आत्महत्याको बाटो रोजेका छन् । जसमा विष सेवनबाट ३४ महिला, २३ पुरुष र एक बालिका गरी ५८ जनाले आत्महत्या गरेका छन् । झुण्डिएर ८१ म्हिला, ९९ पुरुष दुई बाल र ६ बालिका गरी एक सय ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, हाम फालेर दुई महिला, ६ पुरुष गरी आठ जनाले ज्यान गुमाउँदा एक पुरुषले हात हतियार तथा औजार प्रयोग गरी आफैले आफैलाई मारेको प्रहरीको तथ्यांक छ । त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ९९ महिला, एक सय १६ पुरुष, १३ बालक र २२ बालबालिका गरी दुई सय ५० जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवनबाट ३२ महिला, २६ पुरुष र ६ बालिका गरी ६४ जनाको मृत्यु भएको छ ।
यस वर्ष सबैभन्दा झुण्डिएर ६७ महिला, ८८ पुरुष, १३ बालक र १६ बालिका गरी एक सय ८४ जनाले देह त्यागेका छन् भने दुई जना पुरुषको हाम फालेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ८७ महिला, एक सय ६६ पुरुष, १८ बालक र १७ बालिका गरी कुल दुई सय ८८ जनाले ज्यान फालेको तथ्यांक प्रहरीसँग छ । जसमा विष सेवनबाट २६ महिला, २० पुरुष, तीन बालक र चार बालिका गरी कुल ५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, यहीँ आर्थिक वर्षमा झुण्डिएर ६१ महिला, एक सय ४२ पुरुष, १५ बालक र १३ बालिका गरी दुई सय ३१ जनाको मृत्यु भएको छ । यस वर्ष एक जना पुरुषले हाम फालेर ज्यान गुमाएका छन् भने तीन जनाले हातहतियार प्रयोग गरी मृत्युवरण गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा एक सय २१ म्हिला, एकसय ८२ पुरुष, १५ बालक र २१ बालिका गरी कुल तीन सय ३९ जनाले विभिन्न माध्यमको प्रयोग गरी आत्महत्या गरेका छन् । जसमा झुण्डिएर सबैभन्दा बढीको ज्यान गएको छ ।

यस वर्ष झुण्डिएर ८२ महिला, एक सय ४६ पुरुष, १३ बालक र २० बालिका गरी दुई सय ६१ ज्यान गुमाएका छन् । त्यस्तै विष सेवनबाट ३४ महिला, ३३ पुरुष, दुई बालक, एक बालिका गरी ७० जनाले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ । यस्तै यहीँ वर्ष एक जना पुरुषले हातहतियार तथा पाँच महिला र दुई पुरुषले पानीमा हाम फालेर ज्यान गुमाएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ८९ जनाले आत्महत्याको बाटो रोजेका छन् । जसमा ९४ महिला एक सय ६० पुरुष, ११ बालक र २४ बालिका गरी दुई सय ८९ जनाले विभिन्न माध्यम प्रयोग गरी मृत्युवरण गरेका छन् । जसमा सबैभन्दा झुण्डिएर मृत्यु हुनेको संख्या धेरै छ । यस वर्ष झुण्डिएर ७१ महिला, एक सय २७ पुरुष, ११ बालक र २० बालिका गरी दुई सय २९ जनाले ज्यान गुमाएका छन् । यस्तै, विष सेवनबाट २२ महिला, ३० पुरुष र ३ बालिकाले ज्यान गुमाएका छन् । यहीँ अवधिमा एक महिला र दुई पुरुषको पानीमा हाम फालेर मृत्यु भएको छ भने एक जना पुरुषको हातहतियार प्रयोगबाट मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ८१ महिला, एक सय ५७ पुरुष, ११ बालक र २४ बालिका गरी दुई सय ७३ जनाले ज्यान गुमाएका छन् ।

यस वर्ष पनि झुण्डिएर ज्यान गुमाउनेहरुको संख्या धेरै छ । यस वर्ष झुण्डिएर ६४ महिला, एक सय ४१ पुरुष, ११ बालक, २३ बालिका गरी दुई सय ३९ जनाले ज्यान गुमाएका छन् । यस्तै विष सेवनबाट १५ महिला, १४ पुरुष र एक बालिका गरी ३० जनाले ज्यान गुमाउँदा हामफालेर एक महिला र हातहतियार प्रयोगबाट दुई पुरुषको ज्यान गएको छ । एक महिलाले एसिड सेवन गरेर ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशभर ९५ महिला, एक सय ३४ पुरुष, ३६ बालक र ६० बालिका गरी कुल तीन सय २५ जनाले ज्यान गुमाएका छन् । गत वर्ष पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । यस वर्ष भुण्डिएर ७७ महिला, एक सय २१ पुरुष, ३४ बालिक र ५४ बालक गरी दुई सय ८६ जनाले ज्यान गुमाएका छन् । यस्तै, विष सेवनबाट १७ महिला, १० पुरुष, दुई बालक र ६ बालिका गरी ३५ जनाले ज्यान गुमाएका छन् । यस वर्ष एक पुरुष र एक महिलाको हामफालेर र दुई पुरुषको हातहतियार प्रयोगबाट मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म १२ महिला, १७ पुरुष, दुई बालक र पाँच बालिका गरी ३६ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षमा पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । जसमा झुण्डिएर नौ महिला, १६ पुरुष, दुई बालक र तीन बालिका गरी ३० जनाले ज्यान गुमाएका छन् । यस्तै विष सेवनबाट तीन महिला, एक पुरुष, दुई बालिका गरी ६ उजनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकले देखाउँछ ।

विशषेज्ञसँगै पूूर्वाधारको अभाव
कर्णालीमा हालसम्म पनि मानसिक समस्याको उपचार हुने छुट्टै अस्पताल छैनन् । भएका ठाउँमा पनि मानसिक रोग विशेषज्ञको चरम अभाव छ । कर्णालीका १० जिल्ला मध्ये सुर्खेतमा मात्रै मानसिक रोगको उपचार हुने गर्दछ । विरामीको अत्याधिक चाप हुने कर्णाली प्रदेश अस्पतालमा पनि विशेषज्ञसँगै मानसिक समस्या भएकालाई छुट्टै राखेर उपचार गर्न मिल्ने खालका संरचनाको अभाव छ ।
मानसिक समस्या भएका व्यक्तिहरुको गोपनियताको हिसावले छुट्टै राखेर उपचार गरिन पर्नेमा त्यसो हुन सकेको छैन । प्रदेशभर मानसिक रोग सम्बन्धि विशेषज्ञता हाँसिल गरेका तीन जना मात्रै डाक्टर र मनोविद् छन् । सुर्खेत जिल्ला बाहेक कर्णालीका अन्य नौ जिल्लामा मनोपरामर्श सेवा उपलब्ध भएपनि विशेषज्ञ डाक्टरसहितको सेवा विस्तार भने हुन सकेको छैन । अर्कोतर्फ मानसिक समस्याका बारेमा आवश्यक जनचेतना नहँुदा भित्रभित्रै मानिसहरुले गलत निर्णय लिइरहेका छन् ।

‘मानसिक समस्या बारे संवाद गर्न ढिला हुँदैछ’
कर्णालीमा आत्महत्या रोकथाम गर्न मानसिक समस्याका बारेमा संवाद गर्न ढिलाई भइरहेको बताउँछन् कर्णाली प्रदेश अस्पतालका मनोविद् पूर्ण रावत । आत्महत्या गर्नेहरुमा मानसिक समस्या धेरै हुने उनी बताउँछन् । आत्महत्यासँगै मानसिक समस्याका बारेमा पैरवी हुनुपर्नेमा यसको ठिक उल्टो भइरहेको रावतले बताए ।
‘एकै पटक आत्महत्या सम्बन्धि संवाद गरेर मात्रै हुँदैन । योसँगै मानसिक समस्याको बारेमा पनि संवाद गर्न जरुरी छ,’ मनोविद् रावतले भने, ‘ आत्महत्या गर्ने मान्छेलाई बोल्न दिने र उनीहरुलाई सुनिदिने ठाउँ चाहियो । यस्तो संरचनाको विकास गर्ने तर्फ राज्यको ध्यान पुगेको छैन ।’

आत्महत्याका बारेमा जनचेतनाले मात्रै नहुने उल्लेख गर्दै मनोविद् रावतले यसलाई विद्यालयका शिक्षक, विद्यार्थीदेखि परिवार र समाजलाई सचेत गराउन आवश्यक रहेको बताए । पछिल्लो समय विषादी प्रयोगबाट आत्महत्या गर्नेहरुको संख्या बढेको उल्लेख गर्दै विषादी प्रयोगलाई कानूनी कडाई गरिनुपर्ने उनले बताए । मानसिक समस्याले निम्त्याउने आत्महत्या जस्तो गलत सोचलाई पाठ्क्रममै समावेश गरिन ढिलाई गर्न नहुने रावत बताउँछन् ।

आत्महत्यासँग जोडिएका परम्परागत रुढिबादी सोचले पनि आत्महत्याले प्रसय पाइरहेको उल्लेख गर्दै विशेष गरी बालबालिका र युवाहरुलाई यसबारे सचेतना जगाउनु पर्ने उनले बताए । लागुपदार्थसँगै मादक पदार्थको सेवले पनि आत्महत्या बढाइरहेको उनले बताए । मादक पदार्थ सेवनले बढी पुरुषहरुले आत्महत्या गर्ने गरेको उनी बताउँछन् ।

सरकारले मानसिक समस्यालाई प्राथमिकतामा नराखेको उनले बताए । सरकारले शारिरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई महत्वपूर्ण नठान्दा आत्महत्या गर्नेहरुको संख्या डर लाग्दो गरी बढिरहेको रावतले बताए । गरिबी, शिक्षा, स्वास्थ्य, बेरोजगार र आर्थिक समस्या बढ्दै जाँदा मानिसहरुले विकल्पमा मृत्यु रोजिरहेका तर्फ बेलैमा सचेत हुनुपर्ने उनले बताए । युवा तथा किशोरकिशोरी, सम्बन्धविच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्ति, तनावयुक्त वैवाहिक जीवन, घरबार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिलाहरू, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरू, प्रेममा असफल व्यक्तिहरू, ठूलो आर्थिक हानि नोक्सानीमा परेका व्यक्तिहरू, जीवनदेखि हरेस खाएकाहरू, आत्मविश्वास गुमाएका व्यक्तिहरू र विगतमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा रहने मनोविद् रावतले बताए । यस्ता व्यक्तिहरुलाई अरुको सहयोगको खाँचो रहने उनले बताए ।

कार्यान्वयन नहुने मानसिक उपचार नीति, उपचार गर्ने जनशक्तिसँगै पूर्वाधारको अभाव

सम्पादकीय: राजमार्गले ल्याएको आर्थिक चलायमान !

कार्यान्वयन नहुने मानसिक उपचार नीति, उपचार गर्ने जनशक्तिसँगै पूर्वाधारको अभाव

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

This will close in 0 seconds