जुम्लामा फुल्न थाले गुराँस


चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालिगुराँस ढकमक्क फुलेका देखिन्छन्। गुराँस फुलेपछि बन क्षेत्र नै आकर्षक तथा सौन्दर्यता देखिएका छन् ।
यो सिजनमा गुराँस अवलोकन गर्न र फोटो खिचेर रमाइलो गर्न उच्च पहाडी क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरुको बाक्लो उपस्थिति देखिने गरेको छ । जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका लगायत ८ वटै स्थानीय तहका उच्च पहाडी क्षेत्रमा लालिगुराँस फुल्छ ।
स्थानीयहरूले भने यहाँ आउने हरेक आगन्तुक ( पाहुना) तथा अतिथिलाई यही फूल टिपेर माला लगाइदिने गर्छन् ।
स्थानीय अगुवाहरूका अनुसार लालिगुराँस नफुल्दै चुँडिदिनाले अवलोकनका लागि टाढासम्म जानुपर्ने भएको छ । जुम्लाको पातारासी गाउँपालिका–७ पट्मारा गाउँकी रिता बुढा ( खड्का) का अनुसार पहिले घर नजिकैबाट लालिगुराँस हेर्न पाइन्थ्यो ।
अचेल भने निकै टाढा जानुपर्छ । समुन्द्री सतहदेखि १ हजार ५ सय मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा पाइने गुराँस जुम्लाका अधिकांश उच्च क्षेत्रमा यसको जंगल नै हुन्थ्यो । पछिल्लो समय जंगल नै नभए पनि प्रायः गाउँ आसपासका जंगलमा यसै सिजनमा गुराँस फुल्ने गरेको पाइन्छ ।
विशेषगरी गुराँसको जंगल मासेर खोरिया खन्न थालेपछि गुराँस हेर्न निकै टाढा जानुपरेको बुढा बताउँछिन् । यस्तै दाउराको रुपमा पनि प्रयोग गरिन्छ् । यस क्षेत्रमा प्रायः रातो तथा सेतो चिमाल, सुनपाती, भाले सुनपाती प्रजातिका गुराँस पाइन्छ ।
नयाँ वर्ष मनाउने क्रममा यहाँ गुराँस हेर्न आउनेको भीड नै लाग्ने गर्दछ्। जुम्लाका उच्च लेकमा गुराँस फुल्न थालेपछि निकै रमाइलो देखिएको बताउँछिन् सिंजा–६ भाडागाँकी गिता रावत, सबैलाई त्यहाँ जाऊँ जाऊँ लागेको छ,’ उनले भनिन् । प्रायः फागुनपछि नै वनजंगलमा रङ्गीचङ्गी लालीगुराँस फुलेको देख्न पाइन्छ ।
विज्ञहरूका अनुसार लालिगुराँसलाई कतिपय अवस्थामा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर अझै पनि गुराँस राख्ने र औषधिको रुपमा प्रयोग गर्ने चलन छ । घाँटी दुखेको बेला वा घाँटीमा केही अड्किए पनि खुलाउन गुराँस खाने गरिन्छ । यस्तै कलेजो तथा मिर्गौलाको समस्या भए गुराँस सेवन गर्नु उपयोगी मानिन्छ ।
जुम्लाको चेरे, कर्णाली प्राविधिक शिक्षालयको जंगल, रडिखल्ला क्षेत्र, धिमी, डाँफे लेक, खाली, पटमारा छकलेपानीको लेख लगायतका क्षेत्रमा लालिगुराँस बढी मात्रामा फुल्ने गर्छ।लाली गुराँस नेपाली को राष्ट्रिय फूल हो । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । लाली गुराँस सामान्यतया फागुन र चैत तिर फूलेको देखिन्छ ।
फूलको रंग रातो हुन्छ । फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठुलो हुन्छ । यसको पात लामो हुन्छ । पातको लम्बाइ लगभग ५ देखि १० से.मी. सम्म हुन्छ । यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । यसको रुख धेरै ठुलो र झ्याम्म परेको हुन्छ ।






